भर्खरै :

वामगठबन्धन र लोकतान्त्रिक गठबन्धन एकै सिक्काका दुईपाटा

काठमाडौं, २२ कार्तिक । आसन्न निर्वाचनमा नयाँ पुस्तालाई अगाडी सारी चर्चामा रहनुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले वामगठबन्धन र लोकतान्त्रिक गठबन्धन एकै सिक्काका दुईपाटा भएको बताउनुभएको छ । बुधबार सगरमाथा टेलिभिजनको विशेष अन्तर्वातामा जीवराम भण्डारीसंग कुराकानी गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।
अध्यक्ष रोहितले सरकार नछोडेको माओवादी पार्टी र संसदमा प्रतिपक्षको भूमिका नखेल्ने एमाले पार्टी कुनैपनि हालतमा वाम पार्टी नभएको बताउँदै कोरम नपु¥याइ सभामुखले संसद चलाउन नसक्दा पनि नेमकिपाबाहेक अरु पार्टीले विरोध नगरेकोमा चर्को आलोचना गर्नुभयो । वामगठबन्धनबारे विचार व्यक्त गर्नुहुँदै उहाँले एमाले र माओवादीले कम्युनिष्टको खोल ओढेर सरकारमा गएर गैरकम्युनिष्ट काम गरेको हुँदा ठग पार्टी सावित भएको बताउनुभयो ।
जनता र कार्यकर्ताहरुलाई कम्युनिष्ट शासन व्यवस्थाको आश्वासन दिएर अहिले सत्ता स्वार्थमा लिप्त भई माओवादीले आफ्ना कार्यकर्ताहरुलाई धोखा दिएको बताउनुभयो । उहाँले माओवादी पार्टी भारतको रेखदेखमा हुर्केको र त्यहीबाट सञ्चालित भएको समयले पुष्टि गरिसकेको बताउनुभयो । एमाले पार्टी नाटो देशहरुका NGO/INGO बाट सञ्चालित भएको बताउँदै उहाँले नेपालका शासक पार्टीहरु भारतीय दुतावासबाट सञ्चालित रहेको बताउनुभयो ।
राप्रपाका अध्यक्ष पशुपति शमशेरले दिल्ली भ्रमणबाट फर्के लगत्तै लोकतान्त्रिक गठबन्धनको घोषणा गरेको उल्लेख गर्दै लोकतान्त्रिक र वामगठबन्धन दुवै भारतबाट निर्देशित रहेको जिकिर गर्नुभयो ।
नेपाल, भुटान, श्रीलङ्का, बंगलादेशलगायतका दक्षिण एसियाली देशहरुमा एकाधिपत्य कायम गर्न खोजेको हुँदा भारतीय विस्तारवाद र एकाधिकार पूँजी प्रमुख शत्रु भएको उहाँले बताउनुभयो । नेपाललाई अरु देशबाट इन्धन, सामान आयातनिर्यात गर्न नदिई भारतले आफ्नै मात्र सामान बेच्ने थलो बनाउन खोजेको बताउँदै बिजुक्छेले भारत नेपालमाथि नयाँ उपनिवेश लाद्न खोज्दै गरेकोप्रति सङ्केत गर्नुभयो ।
निर्वाचनमा आफूले उम्मेदवारी नदिएकोबारे प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेले नेपालको भद्रगोल कम्युनिष्ट आन्दोलनलाई व्यवस्थित गर्न आफूले सक्रिय भूमिका खेल्ने बताउनुभयो । उहाँले आगामी दिनहरुमा पार्टी संगठन र नयाँ पुस्ताहरुको तयारीमै आफ्नो विशेष ध्यान केन्द्रित रहने विचार पनि व्यक्त गर्नुभयो ।
अन्तर्वाताको पुनः प्रसारण बुधबार दिउँसो १ः१५ बजे र विहिबार दिउँसो ३ बजे हुने जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *