भर्खरै :

नेदरल्याण्डका एक जना फिजियोथेरापिष्ट

(आजकल सहरी क्षेत्रमा फिजियोथेरापी शब्द सामान्य हुनथालेको छ । कुनै चोटपटक लाग्दा वा विरामीको कारण हातगोडा चलाउन गा¥हो हुने  समस्यामा फिजियोथेरापी उपयुक्त मानिएको छ । नसा च्यापिएको कारण ढाड, कम्मर वा कुनै भागमा भएको दुखाइ कम गर्न पनि यही चिकित्सा विधि श्रेयष्कर मानिएको छ । एक फिजियोथेरापीको विज्ञले शारीरिक अभ्यास गराई वा शरीरका अंगहरू सञ्चालन गराई उपचार गराउने गर्छन् । नेपालका विभिन्न अस्पतालहरूमा फिजियोथेरापीको सेवा उपलब्ध छ । एक विरामीको उपचारको सिलसिलामा भक्तपुर आउनुभएका नेदरल्याण्डमा जन्मिएका र  स्वीट्जरल्याण्डमा फिजियोेरापिस्टको रुपमा काम गर्ने मार्को केर्कोफसँग मजदुर दैनिकका संवाददाताले आइतबार कुराकानी गरेका थिए । सिद्धिस्मृति बाल अस्पतालमा उपचारमा सहभागी हुँदै गर्दा भएको कुराकानीको सार यहाँ प्रस्तुत छ – सम्पादक)
नेदराल्याण्डको एक फिजियोथेरापिष्ट भक्तपुर पुग्नुभएको छ, अलिकति भूमिका बताइदिनुहुन्छ कि ?
मार्को ः नेपालको एक १३ वर्षीय बालक ‘स्ट्रोक’ भएर पक्षघात (प्यारालाइसिस) भएकोले एकजना फिजियोथेरापिष्ट आवश्यक भएको खबर पाएँ । स्वीट्जरल्याण्डमा आधारित एक सामाजिक संस्था ब्लु स्प्रिङ्गमार्फत खबर आएको थियो । अस्पतालमा सल्लाह भयो । मैले नेपाल जाने इच्छा व्यक्त गरें । म नयाँ अनुभव पाउन उत्साहित पनि थिएँ । नेपालजस्तो देशमा कसरी काम हुँदो रहेछ भन्ने बुझ्ने पनि चाहना थियो । मैले अफ्रिकाको जाम्वियामा सेवा गरेको छु । नोभेम्बरको २५ तारिखमा मैले खबर पाएको थिएँ । एक महिनापछि डिसेम्बरको ३० तारिखको दिन नेपाल पुगें । अहिले एक हप्ता बितेको छ । म दुई हप्ताको लागि नेपाल आएको हुँ ।
नेपाल आएपछि कस्तो अनुभव गर्नुभयो ? कसरी सेवा थाल्नुभयो ?
मार्को ः म मेरो पेशाको माध्यमबाट मानिसको सेवा गर्न चाहन्छु । भक्तपुर आएर बस्दा खुशी लागेको छ । म एक बालकको उपचारको निम्ति आएको हुँ तर दुई हप्ता बसाईंमा अरू रोगीको सेवा पनि गर्ने मनसाय थियो । सिद्धिस्मृत्ति अस्पतालका बिरामीको उपचारमा सहयोग गरिरहेको छु । यहाँको फिजियोथेरापीको स्तर पनि राम्रो पाएको छु । यहाँका मानिसहरू सरल छन् ।
नेपालमा कस्ता खालका विरामी बढी देख्नुभयो ? कस्तो समस्या बढी पाउनुभयो ?
मार्को ः म आएको जम्मा एक हप्ता भयो । धेरै कुरा म भन्न सक्दिनँ । जहाँसुकै पनि उस्तै खालको समस्या देख्छु । दुखाइका समस्या जहाँ पनि पाइन्छ । यसलाई साधारण रूपमा लिनुपर्छ । मानिसहरू शरीरमा दुखाइ हुनेबित्तिकै आतिन्छन् तर पीर गर्नु आवश्यक छैन । शरीरमा कतै दुख्ने बित्तिकै डाक्टरकोमा जाने, एक्स रे वा एमआरआइ आदि गर्छन् । कति अवस्थामा त्यस्तो गर्नु आवश्यक नै हुँदैन ।  उमेर पुगेपछि शरीरमा दुखाइका समस्या देखिनु स्वाभाविकै हो । तर हाम्रो शरीर अति नै बलियो छ । दुखाइ भयो भनी चुपचाप बस्नु हुँदैन । दुख्यो भनी शरीर चलाई बस्ने होइन । फिजियोथेरापी भन्नु नै शरीरका अंगहरूलाई चलाउने हो । शरीरलाई निस्कृय राख्ने हो भने दुखाइ कम हुँदैन । शरीरका मांसपेशीलाई सक्रिय बनाइरहनुपर्ने हुन्छ । साधारण शारीरिक अभ्यास नियमित गर्नुपर्ने हुन्छ ।
कस्तो खालको शारीरिक अभ्यास गर्नु राम्रो हुन्छ ?
मार्को ः हिंड्नु सबभन्दा राम्रो अभ्यास हो । दिनमा १० हजार पाइला हिंड्नु स्वास्थ्यको निम्ति राम्रो हो । यसको मतलब दिनमा कम्तिमा एक घण्टा हिंड्नु उपयुक्त छ ।  हिंडाइबाट शरीरका मांसपेशीहरू चलायमान हुन्छन् ।
आजकल टेबुल वर्क गर्नेको संख्या बढेको छ । त्यस्ता मानिसका कम्मर दुख्ने समस्या देखिन्छ । के गर्ने होला ?
मार्को ः तपाई एकै बस्ने स्थिति (पोजिसन) मा धेरै समय बस्नुहुँदैन । त्यसो हुँदा निश्चित मांसपेशीलाई मात्र दबाब पर्छ । त्यसैले हरेक २० मिनेटको अवधिमा आफ्नो पोजिसन बदल्नुपर्ने हुन्छ । उठेर हातगोडा चलाउने, घुँडा खुम्च्याउने तन्काउने आदि जे गरे पनि हुन्छ । त्यसो गरेको खण्डमा समस्या आउने सम्भावना कम हुन्छ ।  जहाँसम्म बस्ने पोजिसनको कुरा छ, जुनसुकै पोजिसनमा बसे पनि एउटै पोजिसनमा लामो समय बस्ने नै होइन ।
कुन अवस्थामा चिकित्सकलाई भेट्नु जरूरी हुन्छ ? 
मार्को ः दुई तीन हप्ता कम्मर वा अन्य कुनै भागमा दुखाइ भयो भने फिजियोथेरापिष्टसँग भेट्नु आवश्यक हुन्छ । ढाड दुखाइको हकमा १ प्रतिशतमात्र खतरनाक हुन्छ । करिब ५ प्रतिशतलाई मात्र चिकित्सा उपचार आवश्यक हुन्छ ।  फिजियोथेरापिष्टबाट धेरै आशा गर्नुहुन्न । आफ्नो शरीर आफै बनाउने हो । सक्रिय जीवन नै स्वस्थ्य रहने उपाय हो । जति सक्रिय रह्यो उतिनै स्वस्थ रहने हो ।
अन्तमा के भन्न चाहनुहुन्छ ?
मार्को ः भक्तपुर राम्ररी घुम्न पाएको छैन । तर भूकम्पले यहाँको भौतिक संरचना नराम्ररी बिगारेको रहेछ । यसमा मलाई दुःख लागेको छ । भक्तपुर आउन पाएकोमा खुशी छु । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *