भर्खरै :

राष्ट्रियसभा सदस्यमा २४ जना निर्विरोध निर्वाचित

काठमाडौँ, १५ माघ (रासस) ः राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार नेकपा (एमाले)का नौ, नेपाली काँग्रेसका आठ, नेकपा (माओवादी केन्द्र) का तीन तथा सघीय समाजवादी फोरम नेपाल राष्ट्रिय जनता पार्टी नेपालका दुई दुई उम्मेदवार निर्विरोध भएका हुन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ८२ मध्ये २४ जना निर्विरोध भएपछि बाँकी ५६ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
निर्विरोध हुने एमाले उम्मेदवारमा परशुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी, नैनकला ओझा, सुमनराज प्याकुरेल, कोमल ओली, मीना बुढा, शेरबहादुर कुँवर, इन्दु कडरिया र कमलाकुमारी ओली हुनुहुन्छ । त्यस्तै काँग्रेसका तर्फबाट उम्मेदवार भएकामध्ये रमेशजंग रायमाझी, सरिता प्रसाईं, जीतेन्द्रनारायण देव, मुक्ताकुमारी यादव, प्रकाश पन्थी, अनिता देवकोटा, बद्री पाण्डे र तारादेवी भट्ट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
आयोगका अनुसार माओवादी केन्द्रका तर्फबाट वीना पोखरेल, शशीकला दाहाल र हरिराम चौधरी निर्विरोध हुनुभएको छ । फोरमका रामपुत पासवान र प्रमिला कुमारी तथा राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *