भर्खरै :

ओली दोस्रो पटक प्रधानमन्त्री, बन्ने भयो संशोधनवादी सरकार

काठमाण्डौ, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओली दोस्रो पटक देशको प्रधानमन्त्री बनेका छन् । संघीय व्यवस्थापिकामा एमाले र माओवादी केन्द्रको गठबन्धनले संविधानअनुसार बहुमत पाएपश्चात एमाले र माओवादी केन्द्रका नेताहरु आज बिहानै राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्रीको लागि आफ्नो दाबी पेश गर्न गएका थिए । हिजो निर्वाचन आयोगले बुझाएको अन्तिम चुनावी परिणामले एमाले र माओवादी केन्द्रसँग सरकार बनाउन पुग्ने बहुमत भएको देखाएको छ । राष्ट्रपति कार्यालयले आजै केपी ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको छ ।
ओलीले आजै सपथ ग्रहण गर्ने कार्यक्रम छ ।
ओलीले आफ्नो सरकारमा जाने बाटो सुगम बनाउन यसअघि नै भारतको मोदी सरकारसँग ‘राम्रो’ बनाइसकेका छन् । सोही शिलशिलामा भारतीय विदेशमन्त्री सुस्मा स्वराजले नेपालको भ्रमण गरिसकेका छन् । सो क्रममा स्वराजले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई भन्दा पहिले ओलीसँग भेटेका थिए । ओली स्वराज बसेको सोल्टी होटेलमा गएर एक्लाएक्लै भेटघाट गरेका थिए ।
एमाले र माओवादी नेताहरुले अब बन्ने सरकार वामपन्थी सरकार हुने दाबी गरे पनि उनीहरुका नीति र विगतका सरकारको आधारमा धेरै बुद्धिजीवीहरुले अब बन्ने सरकार हिजोको भन्दा मौलिक रुपमा भिन्न नहुने विश्लेषण गरेका छन् ।
नाममा एमाले र माओवादी केन्द्र कम्युनिष्ट भए तापनि उनीहरुसम्मिलित सरकार कम्युनिष्ट आन्दोलनको रोग–संशोधनवादी विचारमा आधारित सरकार हुने विश्लेषण व्यापक छ । संशोधनवादी नीति मुलतः पूँजीवादी विचारको हाँगा भएकाले ओली–प्रचण्डको मोर्चाले दिएको आर्थिक समृद्धि र विकास पूँजीवादी शोषणमा आधारित हुनेछ ।
ओलीलाई प्रधानमन्त्री पदमा मनोनय गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजन सम्बोधनसँगै पदबाट राजीनामा दिएका थिए । सम्बोधनमा उनले आफ्नो सरकारले गरेका कामको चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *