भर्खरै :

संकीर्ण र अन्धराष्ट्रवादको गन्तव्य ?

निर्जला
७ फागुन २०७४ को कान्तिपुरको ‘कोेसेली’ मा भारतको गणतन्त्र दिवसको अवसरमा ‘आउटलुक’ ले ‘भारतका चर्चित इतिहासकार’ रामचन्द्र गुहाको ‘भारतीय उद्हरणमै केन्द्रित रहेर’ राष्ट्रभक्ति र अन्धराष्ट्रवाद शीर्षकमा एक लेखक प्रकाशित गर्यो, त्यसमा ‘राष्ट्रभक्ति’ र ‘अन्धराष्ट्रवाद’ का विशेषताहरूलाई मिहित रुपमा केलाइएको बताइएका छन् । कोसेलीको लेखको शीर्षक थियो –‘राष्ट्रभक्ति’ भर्सेस ‘अन्धराष्ट्रवाद’ । लेखमा रामचन्द्र गुहाले १८ र १९ औं शताब्दीको फ्रान्सेली र बेलायती क्याथोलिक र प्रोटेस्टेन्ट धर्मलाई आधार मानेर ती देशका ‘भाषा र धर्म’ बाट साझा शत्रु निक्र्योल गर्दै आ–आफ्नो राष्ट्र र राष्ट्रवादलाई विकास भएको सावित गर्ने कोसिस गरे । पूर्वी युरोप र युरेसियामा १९ औं शताब्दीको अन्त र २० औं शताब्दीको सुरुमा जारकालीन रुसलाई ‘राष्ट्रहरूको जेलखाना’ भनियो । यसको कारण थियो जार शासकहरूले आ–आफ्नो तरवारको भरमा विभिन्न जात–जाति र भाषा–भाषीहरूको राज्यलाई एक बनाएका थिए । शासनबाट फालिएका वा दबाइएका ती विभिन्न जात जाति र भाषा–भाषीहरूले आ–आफ्नो राज्य हारे, तर तिनीहरूको भाषा, रीति–रिवाज, धर्म–संस्कृति कायम रह्यो, जसलाई ‘राष्ट्रहरू’ भनियो ।
तर सन् २०१७ को रुसी समाजवादी क्रान्तिले ती सबै राष्ट्रहरूलाई मुक्त ग¥यो र समाजवादी सोभियत गणतन्त्र संघमा स्वेचछाले सामेल भए । संविधानमा स्वेच्छाले संघ राज्यबाट पनि अलग हुनसक्ने र कुनै कुनै प्रदेश वा राज्य संयुक्त राष्ट्र संघको सदस्य पनि थिए । त्यसबेला ‘राष्ट्रहरू’ र ‘राष्ट्रियताहरू’ गौण देखिए र समाजवादी क्रान्ति नै सारा रुसी कामदार वर्गको एकात्मक इच्छा देखियो । सोभियत संघको यो स्थिति स्तालिनको मृत्युपछि खु्रश्चेभदेखि गोर्भाचोभसम्मको संशोधनवादी अर्थात् कम्युनिष्ट र मजदुर आन्दोलनभित्र घुसेका पूँजीवादी नेतृत्वले पूँजीवादको पुनःस्थापना नगरेसम्म कायम रह्यो । पूँजीवादको ‘पुनःसंगठन’ र ‘खुलापन’ पछि समाजवादको अस्थायी हार भयो र सोभियत संघ १५ टुक्रामा विश्रृंखलित भयो । सोभियत संघको पूर्व गणतन्त्रहरू आज पुनः जातीयता, भाषिक पहिचान वा आ–आफ्नै राष्ट्रियतासँगै राज्यको अनुभव गर्दैछन् । भारतमा विभिन्न जात–जाति, भाषा, धर्म र संस्कृतिका जनताको बसोबास छ । यस अर्थमा भारत एक राज्य हो तर धेरै राष्ट्रहरूको देश हो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका कब्जा नगरेसम्म उपत्यकामा अनेक नेवार राज्यहरू थिए । काठमाडौं उपत्यका विजयपछि नेवारहरू वा अन्य विजीत राज्यहरू आ–आफ्ना भाषा, धर्म, कला र संस्कृतिसहित विभिन्न राष्ट्रहरूमा परिणत भए । यस अर्थमा भारत धेरै राष्ट्रहरूको एक राज्य हो, त्यस्तै नेपाल पनि । आ–आफ्नो राष्ट्रिय भावनाबाहेक नेपाल एक सिंगो देश र राज्यको रुपमा संगठित भएर रहने एकात्मक भावना नै देशभक्तिको भावना हो ।
एउटै देश र राज्यको अलग अलग जात–जाति, भाषा–भाषी, धर्म–सम्प्रदाय, रीति–रिवाज र संस्कृतिलाई वा राष्ट्र र राष्ट्रियतालाई सबभन्दा ठूलो भनी दावा गर्नेहरू संकीर्ण राष्ट्रवाद र अन्ध–राष्ट्रवाद हो भने ‘मेरो जात, धर्म, भाषा, संस्कृति र शुद्ध रगतले’ छिमेकी देशहरू र संसारलाई शासन गर्ने नैतिक अधिकार भएको दावा गर्ने भावना ‘ठूलो राष्ट्र अहंकारवाद’ हो । यो साम्राज्यवादी र विस्तारवादी दृष्टिकोण हो । संकीर्ण र अन्धराष्ट्रवादले एक एक पाइला गरेर ‘ठूलो राष्ट्र अहंकारवाद’ को स्थानमा पु¥याउँछ ।
फ्रान्समा नेपोलियनको पतन र मुसोलिनीको फासीवाद (राष्ट्रवाद) र हिटलरको नाजीवाद (राष्ट्रिय समाजवाद) युद्धकामी विचारले दोस्रो विश्व युद्धसम्म पु¥यायो र तिनीहरूले आफ्नै चिहान खने । यसकारण ठूलो राष्ट्र अहंकारवाद, फासीवाद र नाजीवादलाई खण्डन गर्नु आवश्यक छ । इतिहासको यही प्रकाशमा भारतको ‘राष्ट्रभक्ति’ भर्सेज ‘अन्धराष्ट्रवाद’ लाई हेर्दा भगतसिंह देशभक्त हुन् र ‘राष्ट्रभक्त’ होइनन् । भारतीय कम्युनिष्ट पार्टीको तत्कालीन नेता डाँगेले बेलायती साम्राज्यवादको समर्थन देशद्रोही र बेलायती साम्राज्यवादको ‘समर्थक’ बताइयो भने १९६२ मा भारतीय एकाधिकार पूँजीले बेलायती सर्भेयर मैकमोहनको एकातर्फी नक्सलाई नै भारत–चीनको औपचारिक सीमालाई स्वीकार्दा एसियाका दुई छिमेकीको बीचमा सीमा डिभन्त गरायो ।
त्यस भिडन्तका दुई कारण थिए – एक, भारतमा बढ्दै गएको मजदुर, किसान तथा कम्युनिष्ट आन्दोलनलाई दबाउने निहुँ, दोस्रो एसियाका दुई विशाल छिमेकीलाई भिडाएर विश्व कम्युनिष्ट आन्दोलनलाई विश्रृंखलित पार्ने संरा अमेरिकी साम्राज्यवादले नेतृतव गरेको विश्व प्रतिक्रियावादको एक ठूलो षड्यन्त्र थियो । (म्याक्सवेलले १९७२ मार्चमा लेख्यो – भारतीय गुप्तचर विभागको प्रमुख अमेरिकी गुप्तचर विभागको मानिस) । यस अर्थमा भारतीय माक्र्सवादी कम्युनिष्ट पार्टीको चीनसँगको युद्धविरोधी अडान तुलनात्मक रुपले सही थियो । नक्सलवाडी आन्दोलनका केही नाराहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीले आलोचना गरेको थियो र नक्सलवाडी आन्दोलनले पनि आत्म–आलोचना गरेको थियो ।
त्यसबेला चिनियाँ कम्युनिष्ट पार्टीको मत थियो – ‘एउटा देशको कम्युनिष्ट पार्टीको नेतालाई अर्को देशको कम्युनिष्ट पार्टीले आदर गर्नु एउटा कुरा हो । एउटा देशको कम्युनिष्ट पार्टीको अध्यक्षलाई आफ्नो देशको पनि अध्यक्ष भन्नु फरक विषय हो । त्यसोभन्दा तत् देशका कामदार वर्गको राष्ट्रिय भावनामा चोट पुग्नेछ ।’ तर भारतीय राष्ट्रिय कांग्रेस राष्ट्रिय पूँजीपति वर्ग र भारतका राजा–रजौटा र जमिनदार वर्गको पनि नेतृत्व गर्ने पार्टी हो ।
यसकारण कांग्रेस सरकार कहिले अमेरिकी साम्राज्यवादसँग मिलेर चीनमाथि सीमा संघर्ष छेड्छ भने कहिले सोभियत सामाजिक–साम्राज्यवादसँग मिलेर बंगलादेशमा सैनिक हस्तक्षेप गर्छ र सिक्किम कब्जा गर्छ, नेपाल र अन्य छिमेकी देशहरूमाथि बेलायती साम्राज्यवादको व्यवहार गर्छ । पछिल्लो भारतीय राष्ट्रिय कांग्रेस सरकारले संरा अमेरिकासँग आणविक सम्झौता गरेपछि कांग्रेस–वामपन्थी एकता टुटेको थियो । यसरी भारतीय राष्ट्रिय कंग्रेसले एक प्रगतिशील देशभक्तको भूमिका खेल्न असफल भयो । त्यसबाट भारतका दक्षिणपन्थी शक्तिलाई माथि आउने अवसर दियो ।
भाजपा, सशस्त्र युवा दल शिवसेना, हिन्दु धर्मप्रतिको कट्टरता, अन्य धर्म, दलित जाति, जनजातिप्रतिको हेलाहोचो आदिले मोदी सरकार झन् झन् मुसोलिनी र हिटलरको बाटोमा लाग्दैछ । संरा अमेरिका सुरुमा मुसोलिनी र हिटलरलाई पूँजी निर्यातले सहयोग गर्दै रुसमाथि आक्रमण गर्न उत्साहित गर्दै थियो । फासीवादीहरू पश्चिमी साम्राज्यवादीहरूको इच्छा विपरीत हुनासाथै संरा अमेरिका र बेलायत रुससँगै सम्झौतामा पुगे । आज पनि हिन्द महासागर र प्रशान्त महासागरको जलमार्गको किचलो झिकेर अमेरिकी साम्राज्यवाद सम्भावित तेस्रो विश्वयुद्धलाई एसियामा पन्छाउने उद्देश्यले भारतको मोदी सरकारलाई उचाल्दैछ । भारतीय देशभक्तहरू र प्रगतिशील जनताले समयमै मोदी सरकारको अमेरिकी मोहडा बन्ने कुचक्रबाट पछि हटाउन सफल भएन भने मध्यपूर्वको विध्वंशको अर्को संस्करण  दक्षिण एसियाबाट सुरु गर्ने सम्भावना देखिंदैछ । यसकारण सरकार, देश, राष्ट्र,राष्ट्रियता र बडा राष्ट्र अहंकारवादको माझमा फरक राख्नु अत्यन्त आवश्यक छ । सरकारको विरोध देश र जनताको विरोध होइन, बरु सरकारी नीतिको विरोध हो । सरकार अस्थायी र देश तुलनात्मक रुपले स्थायी विषय हो ।
बोल्शेविक क्रान्तिकारी सांसदहरूले जारको अत्याचारी शासनको विरोधमा लडाइँकै मोर्चामा आफ्नो दुश्मन आफ्नै देशमा छ भनी बन्दुकको काँधमा फेर्न आह्वान गर्दै अन्यायी जार शासन ढाले । त्यो कदम देशविरोधी थिएन बरु सरकारको विरोधमा थियो । ‘संसारलाई हल्लाउने दश दिन’ का अमेरिकी लेखक जान रिडले सोभियत समाजवादी गणतन्त्रमाथि आक्रमणको विरोध गर्दा उनले अदालतमा तर्क प्रस्तुत गरे –‘म हाम्रो देशको झण्डा तल सोभियत संघमाथि गरेको हमलाको पक्षमा लड्दिन, किनभने सोभियत संघले अमेरिकामाथि आक्रमण गरेको छैन ।’ उनलाई अमेरिकी राष्ट्रिय धुनले प्रभावित पारेन, उनले काराबास स्वीकारे ।
भियतनाम युद्धमा अमेरिकी सैनिकले अदालतमा बहादुरीका साथ भने –‘संरा अमेरिकामाथि भियतनामले हमला गरेको छैन बरु संरा अमेरिकाले भियतनाममाथि हमला गरेको हो, त्यो अन्यायी युद्ध हो । घोषणा नगरिएको युद्ध र शत्रु नभएको देशको विरोधमा लड्नुपर्ने बाध्यतासँग म असहमत छु, यसकारण म भियतनामी जनताको विरोधमा लड्दिन ।’ ती अमेरिकी सिपाहींलाई पनि अमेरिकी राष्ट्रिय झण्डा र राष्ट्रिय धुनको असर परेन । ती अमेरिकी सिपाहींहरू असल नागरिक र अन्तर्राष्ट्रियवादी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *