भर्खरै :

के सिद्धान्तको बहस सत्ता नपाउञ्जेलसम्मको लागि थियो ?

प्रजातन्त्र दिवसको अवसर पारेर एमाले र माओवादी केन्द्रबीच सोमबार ‘वाम एकता’ सम्बन्धि सात बुँदे सहमति भयो । सहमतिको लागि एमालेले ‘नेपाली क्रान्तिको मौलिक विचारधारा’ मान्दै आएको जनताको बहुदलीय जनवाद(जबज) र माओवादी केन्द्रले आफ्नो ‘प्राण’ मानेको माओवाद त्यागेका छन् ।
पाँचौं महाधिवेशनबाट जुन दिन जबजको कार्यदिशा एमालेले पारित ग¥यो, त्यो दिनदेखि एमालेजनले जबजलाई निर्विवाद सत्यको रुपमा पुजा गर्दै आएको थियो । नेपाली क्रान्तिको संशोधनवादी विचारलाई नै आफ्नो अमूल्य आविस्कार मान्दै एमालेले जबजलाई पूँजीवादी सत्तामा जाने भ¥याङ बनाउँदै आएको थियो । माक्र्सवाद र लेनिनवादको नेपाली परिवेशमा मौलिक प्रयोग गरेको दाबी गर्दै उनीहरुले अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत जबजलाई आफ्नो अनुपम आविस्कारको रुपमा प्रस्तुत गर्दै आएका थिए ।
अर्कोतिर चिनियाँ क्रान्तिलाई अन्धानुकरण गर्दै माओवाद नै नयाँ जनवाद जाने बाटो मान्दै आएको माओवादी केन्द्रले सशस्त्र विद्रोह गरी हजारौं नेपाली युवालाई बलिदान गरेपश्चात आज जुन सिद्धान्तको लागि त्यत्रो बलिदान गरिएको थियो, त्यही सिद्धान्त त्याग गर्दैछ । नेपालको कम्युनिष्ट आन्दोलनमा भएका धेरै बहसमध्ये माओका विचारधारालाई माओवाद वा माओ विचारधारामध्ये के भन्नुपर्छ भन्ने पनि प्रमुख थियो । चिनियाँ क्रान्तिको अनुभव र माओका विचारलाई वाद नभई विचारधारा भनिनुपर्ने तर्कको खण्डन गर्दै अहिलेका माओवादी केन्द्रका नेताहरु माओका विचार सर्वसत्य भएकाले माओवाद नै भन्नुपर्दछ भनी लामो सैद्धान्तिक लेखहरु लेख्थे ।
माओवादी नेताहरुले लामो समयसम्म वादको पक्षमा वकालत गरिरहे । तर आज दुवै पार्टीले इतिहासमा भएका ती सबै तर्कबाजी र सङ्घर्षको कुनै मूल्य नभएको प्रमाणित गर्दैछन् । हिजो भएका सबै सङ्घर्ष मात्र मौका नपाएसम्मको इमान्दारी भएको उनीहरुको सिद्धान्तको तिलाञ्जलीले देखाइरहेको छ । माओका विचारधारालाई माओ विचारधारा भनेकै नाममा माओवादी सशस्त्र द्वन्द्वका क्रममा धेरैले भौतिक आक्रमण र अपहरणसमेत भोग्नुपरेको थियो । तर सत्ताको खिर खान पाउने भएपछि आज दुवै पार्टीले सिद्धान्तका कुरालाई धोती लगाइदिएका छन् ।
अब एमालेका नेताहरुले भन्नुप¥यो, यदि जबज नेपाली क्रान्तिको मौलिक आविष्कार भए किन त्याग्ने त्यो मौलिक विचारलाई ? होइन भने भन्नुप¥यो, हामीले हिजोसम्म जबजका लागि जे भनेका थियौं, त्यो सत्ता हातमा नआउञ्जेलसम्मको पुजाआजामात्र थियो ।
माओवादी केन्द्रका नेताहरुले माओवाद र विचारधाराका विषयमा लेखिएका सबै लेखहरु कागजको सत्यानाश र प्रशिक्षणहरु समयको बर्बादी थियो भनेर स्वीकार्नुप¥यो । जनता र आफ्नै कार्यकर्तालाई हामीले गलत कुरा भनेका थियौं भनी भन्नुप¥यो । भन्नुप¥यो–जति पनि बहस भए तिनीहरु सबैको कुनै अर्थ र मूल्य थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *