भर्खरै :

महिलावादी र वर्गसङ्घर्ष

सिमोन दि बुभर
विश्व विख्यात पुस्तक ‘द सेकेण्ड सेक्स’ का लेखक सिमोन बुभर संसारको ज्ञानको इतिहासमा महत्वपूर्ण भूमिका निभाएकी विद्ववान लेखिका हुन् । उनको त्यो कृतिले संसारको संसारलाई बुझ्ने आँखामा ठूलो परिवर्तन ल्याउन सफल भयो । आज पनि महिला, महिलावाद र महिला आन्दोलनलाई बुझ्न त्यो कृति सन्दर्भग्रन्थ मानिन्छ । सो कृति प्रकाशित भएको पच्चीस वर्षको अवसरमा सन् १९७६ मा जोन गेरास्सीले बुभरसँग लिएको अन्तर्वार्ता त्यो कृतिको पुरक दस्तावेज हो । सन् १९७६ मा प्रकाशित ‘सोसाइटी’ जनवरी–फेब्रुअरी अङ्कमा प्रकाशित बुभरको अन्तर्वार्ताको छोटो अंश नेपाली भाषामा अनुवाद गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा यहाँ प्रकाशित गरेका छौं ।
गेरास्सीः ‘द सेकेण्ड सेक्स’ प्रकाशित भएको झण्डै पच्चीस वर्ष भइसकेको छ । धेरै मानिसहरू, विशेषगरी अमेरिकामा त्यो कृतिलाई समकालीन महिलावादी आन्दोलनको प्रस्थानबिन्दुको रुपमा मान्ने गरेका छन् । तपाई पनि …
बुभरः म त्यसरी सोच्दिनँ । झण्डै पाँच–छ वर्ष अघि सुरु हुँदा वर्तमान महिलावादी आन्दोलनलाई वास्तवमा त्यो किताबबारे थाहा पनि थिएन । आन्दोलनको विकाससँगै त्यो आन्दोलनका केही नेताहरूले आफ्नो सैद्धान्तिक आधारको रुपमा केही कुरा त्यो पुस्तकबाट लिएका मात्र हुन् । तर ‘सेकेण्ड सेक्स’ ले कुनै पनि कोणबाट महिलावादी आन्दोलन सुरु भने गरेको थिएन । यो पुस्तकबाट प्रभावित हुन अहिले आन्दोलनमा सक्रिय भएका अधिकांश महिलाहरू यो पुस्तक प्रकाशन भएको बेला सन् १९४९–१९५० तिर धेरै साना–साना थिए । उनीहरूले पछि गएर त्यो किताबको पनि अध्ययन गरेको कुराले मलाई खुसी अनुभव हुन्छ । निः सन्देह केही उम्मेरदार महिलाहरू जस्तै आफ्नो कृति ‘द फेमिनाइन मिस्टिक’ मप्रति समर्पित गरेकी बेट्टी फ्रेडानले भने त्यो पुस्तक पढेका थिए र त्यसबाट केही मात्रामा प्रभावित पनि भएको हुनसक्छ । तर अरु त होइनन् । जस्तै केट मिलेटले मेरो किताबबाट कहीं कतै पनि उद्र्वरण गरेकी छैनन् । मैले ‘सेकेण्ड सेक्स’ मा व्याख्या गरेका कारणहरूले उनीहरूलाई महिलावादी बनाएको हुनसक्छ तर उनीहरूले ती कारण आफ्नो जीवन अनुभव भेटाएका हुन् । मेरो किताबबाट होइन ।
गेरास्सीः तपाईंले ‘द सेकेण्ड सेक्स’ लेखनको अनुभवले तपाईको आफ्नै महिलावादी बुझाइमा परिपक्व आएको बताउनुभयो । तपाईंको आफ्नै बुझाइको आधारमा त्यो पुस्तक प्रकाशन भइसकेपछि महिला आन्दोलनको विकास कसरी भइरहेको देख्नुहुन्छ ?
बुभरः ‘द सेकेण्ड सेक्स’ लेख्दा प्रथमतः म आफै गलत जीवन बिताइरहेकोमा सचेत भएँ अथवा यो पुरुषप्रधान समाजबाट नजानीकनै म आफूले फाइदा उठाइरहेको कुरा बुझें । भयो के भने मेरो जीवनका शुरुवातबाटै मैले पुरुषको मूल्यमान्यता स्वीकार गरें र त्यही मूल्यमान्यतामा टेकेर जीवन बिताइरहेकी थिएँ । पक्का पनि म त्यसमा ज्यादै सफल भएँ र त्यही कारणले महिलाले त्यस्तै समानता चाहे पुरुष र महिला समान हुनसक्छन् भन्ने कुरामा मेरो विश्वास बलियो बन्यो । अर्को शब्दमा म एक जना बुद्धिजीवी थिएँ । मलाई समाजको बुर्जुवा समुदायबाट आउने भाग्य प्राप्त थियो । म हुर्केको सामाजिक समुदायले मलाई उत्कृष्ट विद्यालय पठाउनमात्र सकेको थिएन बरु विचारसँग आरामदायी रुपमा खेल्न पनि छुट दिएको थियो । त्यही भएर म बिना धेरै कठिनाइ पुरुषको विश्वमा प्रवेश गर्न सक्षम भएँ । मैले देखाइदिएँ– म पनि ‘पुरुषकै तहमा’ दर्शन, कला, साहित्य आदि विषयमा छलफल गर्न सक्छु । विशेषतः महिलात्व जति सबै मसँग नै राखें । अनि मेरा सफलताहरूले मलाई निरन्तर रुपमा त्यही विचारमा अघि बढाइरह्यो । एक जना पुरुष बुद्धिजीवीजस्तै म पनि राम्रो जीवनयापन गर्न सकिने मैले देखें र मैले त्यस्तै गरें । मेरा पुरुष सहपाठीहरूलाई जति नै मलाई पनि गम्भीरतापूर्वक लिइन्थ्यो । म जस्तो थिएँ, त्यस आधारमा मलाई लाग्थ्यो–मैले चाहेको जीवनयात्रा म आफै गर्नसक्छु । म कुनै क्याफेमा बस्न सक्थें, लेख्नसक्थें र एक जना पुरुष लेखक जतिको म पनि सम्मानित हुन्थें आदि । हरेक चरणले मेरो स्वाधीनता र समानताको भावनालाई बलियो बनायो । यी सबै कुराले गर्दा मलाई मेरो सहायकले पनि मैले जतिकै सुविधा भोग्न सक्दैन भन्ने कुरा बिर्सन पनि सजिलो बनायो । बिना अवरोध उनी कुनै क्याफेमा बस्न सक्दिनन् र कुनै पुस्तक पढ्न सक्दिनन् । उनको ‘विवेक’ का कारण उनलाई मुस्किलले कुनै उत्सवमा आमन्त्रण गरिन्छ । उनले कुनै ऋण लिन सक्दिनन् वा आफ्नै सम्पत्ति कमाउन सक्दिनन् । म सक्थें । अझ महत्वपूर्ण कुरा के हो भने, यी सबैबीच पनि म पुरुषबाट आफूलाई स्वाधीन देखाउन आर्थिक वा भावनात्मक रुपमा अक्षम महसुस गर्ने प्रकारका महिलाहरूलाई घृणाको मनसाय राख्थें । परिणामस्वरुप म आफूलाई पनि नभनी म सोच्थें– ‘यदि त्यो काम म गर्नसक्छु भने उनीहरूले पनि सक्नुपर्दछ ।’ ‘द सेकेण्ड सेक्स’ पुस्तकको लागि अनुसन्धान र लेखनबाट मैले पाएको विशेष अधिकार कम्तीमा केही महत्वपूर्ण पक्षमा मैले त्यागेको मेरो महिलात्वको परिणाम हो भन्ने महसुस गरें । यदि हामीले यो कुरालाई वर्गीय विभाजनको भाषामा प्रस्तुत गरे तपाईले अझ राम्ररी बुझ्नुहुनेछ– म वर्ग समन्वयकारी बनेकी थिएँ । लैङ्गिक सङ्घर्षको कोणमा त्यसकै समकक्षतामा थिएँ । ‘द सेकेण्ड सेक्स’ मार्फत मैले सङ्घर्षको आवश्यकता भएकोमा सजग भएँ । मैले बुझें –महिलाहरूको ठूलो बहुमतसँग मसँग भए जस्तै छनोटका धेरै विकल्पहरू नभएको बुझें । महिलालाई पुरुष प्रधान समाजले दोस्रो लिङ्गको रुपमा व्याख्या र व्यवहार गर्ने गरेको कुरा थाहा पाएँ । यदि यो अवस्था साँच्चै ध्वस्त बनाए पुरुषप्रधान समाजको संरचना पूर्णतः खत्तम हुनेछ । तर अर्थतन्त्र र राजनीतिले सबैतिर मानिसलाई दमन गर्ने भएकाले विद्रोहको विकास ज्यादै कठिन र निकै धिमा मात्र हुने गर्दछ ।

पहिलो कुरा त त्यस्ता मानिसहरू दमनको बारेमा सचेत हुनुप¥यो । अनि त्यसमा परिवर्तन गर्न आफ्नो शक्तिमा विश्वास हुनुप¥यो । जसले ‘समन्वयकारिता’ बाट फाइदा उठाएका छन्, उनीहरूलाई आफूले गरिरहेको धोखाधडीको विषयमा बुझाउनुप¥यो । अनि यो विचारको पछि लागेर सबभन्दा बढी गुमाउनुपर्ने महिलाहरू त्यसको निम्ति तयार हुनुप¥यो । आफ्नो वृत्तिविकासमा सफलता पाएका मजस्ता महिलाहरू आत्मसम्मान पाउन हेपिन वा अरु खतरा मोल्न पनि तयार हुनुप¥यो । अनि सबभन्दा बढी शोषणमा परेका उनीहरूका दिदीबहिनीहरू सबभन्दा अन्त्यतिरमात्र उनीहरूको पछि आउने कुरा उनीहरूलाई बुझाउनुपर्दछ । उदाहरणको लागि एक जना मजदुरको महिला यो आन्दोलनमा सहभागी बन्न सबभन्दा कम स्वतन्त्र हुनेगर्छिन् । अधिकांश महिलावादी नेताहरूभन्दा आफ्नो पति शोषित भएको र आफू बाँच्न उसको पति आफ्नो श्रीमती वा आमाको भरपर्छिन् भन्ने कुरा उसलाई थाहा हुन्छ । जे भए पनि यस्ता धेरै कारणहरूले महिलाहरू चल्न पाउँदिनन् । अँ हो, महिलालाई राजनीति र सरकारमा सहभागी बनाउन राजनीतिक रुपमा प्रेरित गर्ने केही ज्यादै राम्रा र केही निकै विवेकी साना आन्दोलनहरू नभएका होइनन् । म त्यस्ता समूहहरूलाई बुझ्न सकिनँ । त्यही बीच सन् १९६८ आयो र सबै कुरामा परिवर्तन भयो । मलाई थाहा छ, त्यसअघि केही महत्वपूर्ण घटनाहरू भएका थिए । मप्रति समर्पित बेट्टी फ्रेडनको पुस्तक सन् १९६८ अघि नै प्रकाशित भयो । वास्तवमा अमेरिकी महिलाहरू त्यो बेलासम्ममा सक्रिय भइसकेका थिए । अरु कोही पनि महिलाहरूभन्दा अमेरिकी महिलाहरू स्वाभाविक कारणहरूले नयाँ प्रविधि र महिलालाई भान्छाभित्र मात्र सीमित राख्ने अनुदार भूमिकाबीचको अन्तर्विरोधलाई बुझ्न भइसकेका थिए । प्रविधिको बिस्तारले दिमागको शक्ति बढाउने गर्दछ, बाहुबलको होइन ।
महिला कमजोर लिङ्ग हो र त्यसकारण उनीहरूलाई शारीरिक रुपमा सजिलो भूमिकामा मात्र सीमित राख्नुपर्दछ भन्ने पुरुषवादी तर्क तार्किक रुपमा भुत्ते भयो । अमेरिकामा प्राविधिक अनुसन्धान व्यापक भएकाले अमेरिकी महिलाहरू त्यो अन्तर्विरोधबाट टाढा रहन सकेनन् । तसर्थ साम्राज्यवादी पूँजीवादको भित्री केन्द्रमा नै महिलावादी आन्दोलनले सबभन्दा ठूलो आकार दिनु स्वाभाविक हो । त्यो आकार आर्थिक तरिकाको भए पनि त्यो समान कामको लागि समान ज्यालाको रुपमा अघि देखाप¥यो । तर वास्तविक महिलावादी चेतनाको विकास भने साम्राज्यवादविरोधी आन्दोलन आफैभित्रबाट जन्मेको थियो । अमेरिकामा भियतनाम युद्धविरोधी आन्दोलन होस् वा फ्रान्स तथा अरु युरोपेली देशहरूमा सन् १९६८ को विद्रोहपछिको अवस्थामा महिलाहरूले आफ्नो शक्ति बुझ्न थाले । पूँजीवादी बन्दोबस्तले संसारमा जहाँसुकै पनि शोषण गर्ने कुरा बुझेर महिलाहरू वर्गसङ्घर्षमा सामेल हुनथाले । उनीहरूले ‘वर्ग सङ्घर्ष’ शब्दावली नस्वीकारेरै पनि उनीहरू वर्गसङ्घर्षमा सामेल भए । उनीहरू अभियन्ता बने । उनीहरू जुलुस, प्रदर्शन, अभियान, भूमिगत समूहहरू र लडाकु वामपन्थहरूमा सामेल हुनथाले ।
शोषणविहीन र अपमानरहित भविष्यको लागि उनीहरूले पनि कुनै पनि एक जना पुरुषजत्तिकै सङ्घर्ष गरे । तर के भयो ? उनीहरू जुन समूह वा सङ्गठनमा सङ्गठित भए त्यहाँ पनि उनीहरूले फाल्न चाहेको समाजमा जत्तिकै महिलालाई दोस्रो लिङ्गको रुपमा व्यवहार गरिएको महसुस गरे । म हिम्मतका साथ फ्रान्स र अमेरिकामा पनि भन्न सक्छु, नेताहरू सधैं पुरुष नै भएको पाए । महिलाहरू नक्कली क्रान्तिकारी समूहहरूमा टाइपिस्ट, कफी बनाउने भूमिकामा नै सीमित रहे । मैले नक्कली भन्न नहुने थियो । पुरुषको प्रधानता भएको धेरैजसो आन्दोलनहरू वास्तवमै क्रान्तिकारी थिए । तर पुरुषप्रधान समाजबाट तालिम प्राप्त, हुर्काइएका र त्यहीअनुसार बनेका ती क्रान्तिकारीहरूले आन्दोलनमा पनि त्यही रङ्ग ल्याए । बुर्जुवा वर्गले आफूखुशी आफ्नो सत्ता त्याग्न नचाहेजस्तै ती पुरुषहरूले पनि आफूखुशी त्यो पुरुषप्रधान व्यवहार त्याग्न सक्दैनन् । त्यसकारण जसरी गरीब जनताले धनी वर्गसँग सत्ता हत्याउनुपर्दछ, महिलाले पुरुषबाट त्यसरी नै शक्ति खोस्नुपर्दछ । त्यसको अर्थ बदलामा पुरुषमाथि दमन गर्नु होइन । त्यसको अर्थ समानता स्थापना गर्नु हो । समाजवाद, साँचो समाजवादले सबै जनताबीच आर्थिक समानता स्थापना गर्छ भनेजस्तै महिलावादी आन्दोलनले आन्दोलनभित्रको शासक वर्ग अर्थात् पुरुषबाट सत्ता खोसेर लिङ्गहरूबीच समानता स्थापना गर्नुपर्ने कुरा सिके । अर्को उदाहरणको चर्चा गरौंः वर्गसङ्घर्ष गर्दा महिलाहरूले वर्गसङ्घर्षले लिङ्गीय सङ्घर्ष निर्मूलन नगरेको बुझे । त्यही बिन्दुमा आएर मैले भनिरहेको कुरा म आफूले बुझें । त्योभन्दा पहिला म स्वयं पूँजीवादी बन्दोबस्त ध्वस्त भएपछि लिङ्गीय समानता हुनेछ र त्यसकारण (यो ‘त्यसकारण गलत बुझाई हो, हामीेले सुरुमा त्यसैविरुद्ध लडाई थाल्नुपर्दछ) वर्गसङ्घर्ष गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्थें ।
पूँजीवादी बन्दोबस्तमा लिङ्गीय समानता सम्भव नभएको कुरा सत्य हो । यदि सबै महिलाहरूले पुरुषले जस्तै काम गरे पूँजीवादी बन्दोबस्त निर्भर रहेका संस्थाहरूको अवस्था के होला ? जस्तै चर्च, विवाह, सेना र लाखौं लाख कलकारखाना, पसल, स्टोर आदि । ती संस्थाहरू आंशिक काम, टुक्रे काम र सस्तो ज्यामीमा भर पर्ने गरेका छन् । तर समाजवादी क्रान्तिले अनिवार्यतः लिङ्गीय समानता स्थापना गर्छ भन्ने कुरा साँचो होइन । सोभियत सङ्घ वा चेकोस्लाभियामा हेर्नोस् (ती देशहरूलाई तपार्इं ‘समाजवादी’ भन्न सक्नुहुन्छ तर म भन्दिनँ), त्यहाँ सर्वहारा वर्गको सशक्तीकरण र महिलाहरूको सशक्तीकरणबीच ज्याद्रै अन्योलको अवस्था छ । कुनै पनि हिसाबमा सर्वहारा पुरुषहरूले नै बनेको हुन्छ । पुरुषवादी मूल्य यहाँ पनि र त्यहाँ पनि जीउँदो नै छ । अनि वर्गीय सङ्घर्षले लिङ्गीय सङ्घर्षलाई समेट्दैन भन्ने चेतना महिलाहरूमा आउनु नयाँ कुरा हो । सङ्घर्षमा होमिएका धेरै महिलाहरूलाई आज त्यो चेतना छ । महिलावादी आन्दोलनको सबभन्दा ठूलो उपलब्धि भनेको त्यही हो । आगामी वर्षहरूमा त्यही चेतनाले इतिहासको गति मोड्नेछ ।
गेरास्सीः तर त्यो चेतना त वामपन्थी खेमा रहेका महिलामा मात्र सीमित छ जो सिंगो समाजको पुनःसंरचना गर्नमा प्रतिबद्ध छन् ।
बुभरः निः सन्देह बाँकी महिलाहरू त अनुदारवादीहरू हुन् अर्थात् उनीहरू आफूसँग भएका र जे छ, तिनलाई जोगाउन चाहन्छन् । दक्षिणपन्थी खेमा बसेका महिलाहरू क्रान्ति चाहँदैनन् । उनीहरू आफ्ना पुरुषप्रति समर्पित आमाहरू हुन्, स्वास्नीहरू हुन् अथवा कदाचित उनीहरू आन्दोलनमै होमिए पनि उनीहरू फलको ठूलो भाग आफ्नो पोल्टामा पार्न चाहन्छन् । उनीहरू धेरै कमाउन चाहन्छन्, संसदमा धेरै महिलाहरू निर्वाचित गर्न चाहन्छन्, महिला राष्ट्रपति बनेको हेर्न चाहन्छन् । उनीहरू आधारभूत रुपमा असमानतामा विश्वास गर्छन् । फरक यति हो, उनीहरू सबभन्दा मुनि होइन । सबभन्दा माथि मात्र बस्न चाहेका हुन् । तर उनीहरू प्रणाली जस्तो छ, त्यसैलाई अनुकूल भइदिन्छन् वा आफ्नो मागहरू सम्बोधन गर्न सानोतिनो परिवर्तन मात्र खोज्छन् । पूँजीवादी बन्दोबस्तले महिलालाई सेनामा सहभागी गर्नसक्छ, प्रहरीमा महिलालाई सामेल गर्नसक्छ ।
महिलालाई सरकारमा सहभागी बनाउन पूँजीवाद पक्कै पनि बाठो छ । नक्कली समाजवादले महिलालाई पार्टीभित्र महासचिव बन्न दिन सक्छ । ती सबै सुधारहरू मात्र हुन् । सामाजिक सुरक्षा भत्ता वा तलबी बिदा भनेजस्तै हुन् । के तलबी बिदाको संस्थागत विकासले पूँजीवादी बन्दोबस्तको असमानतामा कुनै परिवर्तन गर्नसक्यो ? समान ज्यालामा कलकारखानामा पुरुषसरह महिलालाई पनि काम गर्न दिएर चेक समाजमा पुरुषवादी सोचमा कुनै परिवर्तन आयो ? बरु पूँजीवादी र नक्कली समाजवादी समाजको सम्पूर्ण मूल्यमा परिवर्तन गर्नु र मातृत्वको अवधारणा ध्वस्त बनाउनु नै क्रान्तिकारी कदम हो । आफूलाई वामपन्थी भने पनि नभने पनि एक जना महिलावादी परिभाषाका आधारमा वामपन्थी नै हुने गर्दछ । उसले पूर्ण समानता र एक जना पुरुषजत्तिकै महत्वपूर्ण बन्नको लागि सङ्घर्ष गरिरहेकी हुन्छिन् । तसर्थ लैङ्गिक समानताको लागि उनीहरूले गर्ने विद्रोह वर्गीय समानताको माग हो । बुझ्न सहज बनाउन एक छिनलाई मानौं पुरुष पनि आमा बन्न सक्ने समाज छ । आजभोलिको अमूर्त भाषा प्रयोग गर्ने हो भने त्यो समाजमा तथाकथित ‘स्त्री संस्था’ ‘पुरुषको ज्ञान’ जत्तिकै महत्वपूर्ण हुनेछ । त्यहाँ भद्रता वा नरमपनाभन्दा कडापना र चर्को कुरा अझ राम्रो हो । अर्को शब्दमा त्यो समाजमा हरेक व्यक्तिको अनुभव अरुसँग समकक्षी छ । त्यहाँ तपाईंले आफसेआफ समानता स्थापना गर्नुभयो । समानता भन्नाले आर्थिक र राजनीतिक समानता अनि अरु धेरै समानताहरू बुझ्नुपर्दछ । तसर्थ लिङ्गीय सङ्घर्षले वर्गसङ्घर्षलाई समेट्छ भने वर्गसङ्घर्षले लिङ्गीय सङ्घर्ष समेटेको हुँदैन । तसर्थ महिलावादीहरू साँचा वामपन्थीहरू हुन् । वास्तवमा उनीहरू आजभोलि हामीले भन्ने गरेको परम्परागत राजनीतिक वामपन्थीहरूका वामपन्थीहरू हुन् ।
अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *