भर्खरै :

मार्क जुकरबर्गले मागे माफी

फेसबुकका सीइओ मार्क जुकरबर्गले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका तथ्याङ्क असुरक्षित रुपमा दुरुपयोग भएकोमा माफी मागेका छन् । उनले त्यस्तो गल्तीका लागि आफू जिम्मेवार भएको स्वीकारेका छन् । उनले संरा अमेरिकी संसदमा लिखित प्रष्टिकरण बुझाउँदै आफ्नो गल्ती स्वीकारेका हुन् । सामाजिक सञ्जाललाई झुटा समाचार, चुनावमा विदेशी हस्तक्षेप र घृणाका शब्दहरु रोक्न नसक्नु आफ्नो कमजोरी भएको पनि उक्त लिखित प्रष्टिकरणमा उल्लेख छ ।
‘हाम्रो जिम्मेवारीप्रति हामी जति गम्भीर हुनुपर्ने थियो, हुन सकेनौं । यो हाम्रो ठूलो गल्ती हो ।’, जुकरवर्गले भने ।
बेलायतको तथ्याङ्क संकलन गर्ने एक संस्था क्याम्ब्रिज एनालिटिकाले फेसबुकमा ८ करोड ७० लाख प्रयोगकर्ताका तथ्याङ्क दुरुपयोग गरेपश्चात जुकरवर्गबाट यस्तो माफीका अभिव्यक्ति आएको हो । शुरुमा पचास हजार प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण दुरुपयोग भएको अनुमान गरिएको थियो ।
‘यो मेरो गल्ती हो । म त्यसको लागि क्षमा चाहन्छु । मैले फेसबुक शुरु गरें, चलाएँ र जे जति घटना भयो त्यसको लागि म जिम्मेवारी लिन चाहन्छु ।’, बुधबार अमेरिकी संसदीय समितिमा उनले भने ।
फेसबुक कम्पनीले बुधबार नै फेसबुकलाई बिना अनुमति व्यक्तिगत जानकारी संकलन गर्ने थलोको रुपमा पनि प्रयोग गरिरहेको समेत स्वीकारेको छ । संसारभरमा २ अर्ब फेसबुक प्रयोगकर्ताहरु छन् ।
जुकरबर्गले प्रयोगकर्ताहरुका व्यक्तिगत जानकारी बाहिर चुहाने क्याम्ब्रिज विश्वविद्यालयका अध्येता अलेक्सान्द्र कोगानमाथि रोक लगाएको समेत जानकारी दिए । तर यसरी चुहिएको तथ्याङ्कको दुरुपयोग कसरी भएको थियो भन्नेबारे भने जुकरवर्गले केही बोल्न चाहेनन् ।
फेसबुकबाट चुहिएको व्यक्तिगत विवरण २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा दुरुपयोग भएको दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *