भर्खरै :

यमराजलाई समेत हाँक दिने जिउँदा वीरहरु नै कम्युनिष्ट हुन् 

अध्यक्षज्यू, तपार्इं लामो समय अध्यक्ष हुनुभयो, तर देशमा समाजवादी क्रान्ति पनि भएन भन्नेहरू छन् । तिनीहरूलाई हामीले कसरी सम्झाउने होला ?
समाजवादी क्रान्तिको निम्ति देशको भित्री र बाहिरी परिस्थिति अनुकूल हुनु आवश्यक छ, भित्री र बाहिरी तयारी पनि उत्तिकै महत्वपूर्ण छ । राजनीति भनेको व्यापार र नोकरी जस्तो सजिलो अवश्य छैन । कार्यकर्ता र जनतामा विश्वासको खाँचो छ, अस्थिर, अनुशासनमा नबस्ने र फाइदा जहाँ छ त्यतै बग्नेहरू निश्चय पनि क्रान्तिकारी पार्टीमा अटाउँदैनन् । अनेक परिस्थिति र अनुभवले मात्र राम्रा समर्पित कार्यकर्ताहरू तयार हुन्छन् र समाजवादी क्रान्तिका लडाकू सावित हुन्छन् । यस्ता कार्यकर्ता तयार हुँदैछन् ।
नेमकिपा फैलिन नसकेको कारण रोहितजी खाली भक्तपुरमा मात्रै सीमित रहनु हो भन्छन्, सत्य के हो ?
भूमिगत, जेल र प्रवासमा बसेको हिसाब गर्दा २० वर्ष लाग्यो । भूमिगत कालमा उपत्यका र अन्य अञ्चलहरूमा गतिविधि नगरेको भए उत्तर र दक्षिण, पूर्व र पश्चिममा कसरी नेमकिपाको सङ्गठन हुन्थ्यो । भूमिगत कालमा गुप्त रुपले विभिन्न नामले काम गर्दा प्रचार नहुनु स्वाभाविक हो, घरमा १८ वर्षपछि पुगेँ, सबै भाइहरूसमेत चिनेको थिइनँ । बाटोघाटो नहुँदा भूमिगतकालमा आजका शासक दलहरू दुर्गम र गरिब जनताको बीचमा जाँदैनथे । प्रजातन्त्र र गणतन्त्रपछि बाटा–घाटा भए, हवाई सेवा ठाउँ–ठाउँमा पुग्यो, तुलनात्मक रुपमा पूँजीवादी दलहरूलाई पैसाको कमी हुन्न, एक–एक निर्वाचन क्षेत्रमा लाखौं र करोडौं रुपैयाँ बाँडेर वा सामान उपहार दिएर निर्वाचन जित्छन् । यसकारण पैसाको भरमा, जात–जाति र भाषा एवम् बलको भरमा निर्वाचन जित्नु भनेको जनताको मन जित्नु र राजनैतिक रूपले जनतालाई सचेत पारेको ठहर हुँदैन । सङ्गठनको विकासमा एक–दुई व्यक्तिको मात्रै योगदान हुने गर्दैन ।
२०४८ सालमा भक्तपुर र जुम्लामा नेमकिपाले सांसद जित्यो, २०५१ सालमा भक्तपुरका दुई स्थान, जुम्ला र दैलेखमा पनि निर्वाचन जित्नुभयो, २०६४ सालमा पनि नेमकिपाले भक्तपुरका दुवै स्थान जित्यो । पहिलेको तुलनामा सङ्गठन खुम्चेको भन्छन्, के यो सत्य होइन ?
शासक दलहरू निर्वाचनलाई नै प्राथमिकता दिएर सङ्गठन र गतिविधि गर्छन् । नेमकिपाले जिल्ला–जिल्लामा राजनैतिक दर्शनबारे जानकारी दिन्छ, निःस्वार्थ रुपले जनताको सेवा गर्ने कार्यकर्तालाई प्रेरित गर्दै जनसभा, कोणसभा, अन्तरक्रिया, कक्षा सञ्चालनलाई प्राथमिकता दिन्छ । यस अर्थमा नेमकिपा अन्य राजनैतिक दलहरूको दाँजोमा धेरै अगाडि छ ।
त्यसो भए के नेमकिपाले पार्टी सङ्गठनको निम्ति खर्च गर्दैन ?
पत्र–पत्रिकाको प्रकाशन, पुस्तकहरू प्रकाशन, जिल्ला–जिल्लामा ती प्रकाशनहरूको अन्तरक्रिया, जनसभा, प्रदर्शन आदिमा नेमकिपाले खर्च गर्छ । निर्वाचनमा घोषणापत्र, उम्मेद्वारहरूको चिनारी, अन्य स–साना पर्चा र पुस्तिकामा खर्च गर्छ । तर मतदाताहरूलाई सामान उपहार दिने, खाममा राखेर रकम बाँड्ने वा भोजभत्तेरमा खर्च गर्ने गर्दैन तथा जागिर दिने र भ्रष्टाचार गर्न पाउने ठाउँमा सरुवा र प्रमोसन गराउनेजस्ता आश्वासन दिने र निर्वाचन आचारसंहिता विपरीत हुने अनियमितता नेमकिपाले आजसम्म गरेको छैन ।
इमानदारीपूर्वक र समर्पित राजनीति गर्दा पनि नेमकिपाले किन बढी स्थान जितेन ?
देशमा अत्यन्त गरिबी छ, भोकले के गर्दैन भन्ने उखानअनुसार पैसा लिएर मत दिनु अस्वाभाविक मान्दैनन् । विचारको विरोधमा मत दिनु प्रतिष्ठा र नैतिकताको विषय मान्दैनन् । दीर्घकालीन हितबारे जानकारी नभएसम्म तत्कालीन हित र सानो स्वार्थमा मतदाता लोभिने हुन्छन् । पश्चिमी देशहरूमा समेत एक सिसी रक्सी र जाँडमा मत दिन्छन् भन्ने व्यापक चर्चा हुन्छ ।
नेमकिपाले जुम्ला र दैलेखजस्ता जिल्लामा समेत विजय हासिल गरेको थियो । पूँजीवादी दलहरूले नेमकिपाका २–३ सांसदहरूलाई विदेश पठाई सुन किन्न दिएर, मोटर सुविधा र मन्त्री बनाउनेजस्ता गैरसैद्धान्तिक–राजनीतिक काम गरे । एमाले र नेकाले नेमकिपाका सांसद तथा कार्यकर्ताहरूलाई लोभमा फसाई आ–आफ्ना पार्टीमा लगे । तर पार्टी र जनतालाई घात गर्नेहरूको न इज्जत बढ्यो न त दल बदलमा उत्साहित गर्ने पूँजीवादी दलहरूको प्रतिष्ठा बढ्यो । खाली राजनीति फोहोर भयो । ती पूँजीवादी दलहरूको उद्देश्य ती सांसदहरूमार्फत् त्यहाँका नेमकिपाका कार्यकर्तालाई बिटुल्याउनु थियो, त्यही भयो । समाजलाई फोहोर
गर्नु नै पूँजीवादी राजनैतिक दलहरूको धर्म बन्यो । यसकारण नेमकिपा २–४ वर्षको होइन, दीर्घकालीन हितको निम्ति जनताको पक्षमा सङ्गठन गर्छ, शिक्षित गर्छ र सङ्घर्ष गर्छ ।
पूँजीवादी दलहरूले नेमकिपालाई ध्वस्त पार्न खोज्दा पनि गाउँ र जिल्लामा समेत तपाईंहरू अहिले पनि सक्रिय हुनुहुन्छ, किन र कसरी ?
समाजमा राम्रा, इमानदार र इज्जतदार मानिसहरू पनि छन् । निःस्वार्थ रुपले जनताको सेवा गर्ने, कामदार वर्गको दीर्घकालीन हितको निम्ति काम गर्न समर्पित युवाहरू पनि छन् । जनता त धरती जस्तै हुन् । हरेक वर्ष घाँस उम्रन्छ, फूलहरू फुल्छन् र फलहरू फल्छन्, शरद ऋतुमा पातहरू झर्छन् र घाँस सुक्छन् । तर वसन्त ऋतुमा फेरि प्रकृतिमा हरियाली छाउँछ । प्रतिक्रियावादीहरूले नेमकिपालाई सुकाउन खोज्छन्, तर जनताले फेरि अमृत प्रदान गर्छन्, जनताको सेवामा फेरि फेरि जुट्छन्–निस्वार्थ रुपले नेमकिपाका कार्यकर्ताहरू । रुसी जनताका महान् नेता स्तालिनले कार्यकर्तालाई उत्साहित गर्नुहुन्थ्यो –‘कम्युनिष्ट भनेको यमराजको ढोका घच्घच्याउने र यमराजलाई हाँक दिने जिउँदा वीरहरू हुन् ।’ चिनियाँ जनताका महान् नेता माओ त्से तुङले आफ्ना कार्यकर्तालाई भन्नुहुन्थ्यो – ‘कार्यकर्ताहरू अथक हुनुपर्छ, थाक्नुहुन्न, निःस्वार्थ रुपले देश र जनताको सेवा गर्नुपर्छ ।’ यी शिक्षा नेमकिपालार्ई पनि लागू हुन्छ ।
तपाईं पटक–पटक संसदमा विजयी हुनुभयो, अर्थात् २५ वर्ष सांसद बन्नुभयो तर मन्त्री किन बन्नुभएन भन्ने प्रश्नबारे के भन्नुहुन्छ ?
जनतासँग हामीले सरकारमा जान होइन सरकारलाई खबरदारी गर्न मत माग्यौं, जनताले सरकारमा नगई प्रखर प्रतिपक्षको भूमिका खेल्न मत दिएका थिए, मैले जनादेशलाई शिरोपर गरेँ । नेमकिपाको उद्देश्य २–४ जनालाई मन्त्री बनाउने होइन । नेमकिपा देशमा आमूल परिवर्तनको निम्ति सङ्घर्ष गर्ने सिपाहीं तयार गर्ने राजनैतिक दल हो ।
मन्त्री हुनुभएको भए धेरै विकास हुन्थ्यो कि ?
मन्त्री हुँदैमा विकास हुने भए सयौं जना मन्त्री भए खोई त जनताले सुख पाएको ? मन्त्री भएर होइन देशमा नयाँ व्यवस्था ल्याउनु आवश्यक छ । अहिले पनि जनप्रतिनिधि र सांसदहरूका विषयमा समाचारपत्रहरूमा ‘जनप्रतिनिधिको आँखा नदीमा अर्थात् गिट्टी–बालुवामा’, ‘भारतमा तीनवटा कोठी चलाउने’ र ‘खाली भत्ता र सहुलियत’ भनी आलोचना छापिएका छन् ।
आजको तुलनामा तपाईंको बेला सरकारी जागिर खान सजिलो थियो र काठमाडौं उपत्यकामा बस्ने हुँदा नातागोता पनि ठूलो पदमा थिए होलान् । किन जागिर खानुभएन ? उपदान, निवृत्तिभरण, कर्मचारी सञ्चय कोष आदि—आदि सहुलियत हुनेबारे सोच्नुभएन ?
मानिसको जीवनमा परिवार, अध्ययन, चिन्तन, सङ्गत आदि विषयले प्रभाव पार्छ । दिनका दिन काम गरी खानुपर्ने श्रमिक परिवारमा कामको खोजी र २–४ पैसा बढी आउने ठाउँमा काम खोज्ने गर्छ । वर्षभरि खान पुग्ने धनी किसानले एक टुक्रा खेत र एउटा अर्को सानो घर थप्ने विचार गर्छ । देश र समाजको परिवर्तनमा योगदान गर्ने उच्च विचार भएका विश्वविद्यालयका छात्र–छात्राहरू देशको निःस्वार्थ रुपले सेवा गर्न प्रस्तुत हुन्छन् । तर विश्वविद्यालयकै प्रमाणपत्रधारी युवाहरू आफ्नो घरको परिवेशअनुसार व्यापार वा सरकारी नोकरीमा लाग्छन् ।
सस्तोमा किनेर महँगोमा नाफा लिएर बेच्ने व्यापार शैली बुझेपछि व्यापार गर्नु शोषण गर्नु हो भन्ने लागेकोले आफू कहिल्यै व्यापारी हुने सोच आएन । यस्तै जीवनभर पेन्सन पाउने, १० वर्षपछि उपदान पाउने वा कर्मचारी सञ्चय कोष आदि आदि सहुलियत पाउने भए पनि म आफूलाई त्यसबेलाको सरकारको नोकर बन्ने मनले नै मानेन । कम्युनिष्ट भएर अत्यधिक बहुमत जनताको सेवा गर्नु जस्तो ठूलो सेवा र महान् कार्य मैले अरु केही अनुमान नै गरिन । यसकारण ‘जा गिर’ भन्ने बाटोमा म लागिनँ ।
आजको पुस्तामा यस्तो भावना देख्नुहुन्छ ?
उच्च विचार भएका र सुसंस्कृत परिवारमा यस्तो भावना भएका युवाहरू आज पनि छन् । तर सांस्कृतिक रुपले पछि परेका परिवारका युवाहरूमा विदेश गएर कमाउने वा देशमै धेरै रकम आउने काम पाउने र ‘खानकै निम्ति बाँच्ने’ प्रवृत्ति छ, त्यस प्रवृत्तिलाई साहित्य र दर्शनले परिवर्तन गर्नु आवश्यक छ ।
के नेपाली समाजमा परिवर्तन आउला ?
निश्चय नै ढिलो वा चाँडो परिवर्तन अवश्यम्भावी छ । भूकम्पको झट्काले सुरुमा धनीहरूमा पनि एकतल्ले मात्र घर बनाउने र जीवनमा धर्मकर्म गर्ने भावना देखियो । माओवादी गतिविधिको बेला जिल्ला र गाउँको सम्पत्ति छोडेर धनीहरू राजधानीमा आए । भूकम्पपछि र माओवादी गतिविधिपछि ती धनीहरूको चिन्तनमा कुनै हेरफेर देखा परेन । लडाइँ र क्रान्तिले लोभीहरूको लोभ पनि ठाउँमा आउनेछ ।
तपाईंको अन्तरवार्ताहरू चर्चामा छ, तपाईं कस्तो मूल्याड्ढन गर्नुहुन्छ ?
२१–२७ चैत २०७४ को ‘गज्जब’ मा प्रकाशित कृष्ण आचार्यको अन्तरवार्ता छ्यासमिसे भएको अनुभव गर्छु । मेरो सानो स्वर र उच्चारण नबुझेर पनि हुनसक्छ, ओलीलाई मैले ‘स्पष्ट वक्ता’ भनेको थिएँ, लेखाईमा ‘स्वस्थ वक्ता’ लेखियो ।
रामचन्द्र पौडेलबारे, मैले ‘म उहाँको आलोचक हुँ’ भनेको थिएँ । तर पत्रिकामा ‘गाली’ शब्द प्रयोग भयो, त्यो गलत हो ।
कमल थापाको कुनै कथा संग्रह मैले पढेको छैन । प्रसङ्ग कमल थापा गृहमन्त्री हुँदा, स्थानीय निकायको निर्वाचनको विरोधमा भक्तपुर नगरपालिकामा जनताले धर्ना दिएका थिए । तत्कालीन डीएसपी नवराज सिलवालले शान्तिपूर्ण धर्नामा गोली चलाउन, लाठी चार्ज गर्न र अश्रुग्यास हान्न तयार भएनन् । यसबारे थापाले तत्कालीन डी.एस.पी. सिलवालसँग राजीनामा मागेको हामीले थाहा पायौं । नवराजजीसँग पछि चिनापर्ची भयो र थाहा पायौं, उहाँ कथाकार हुनुहुन्छ । उहाँका दुई कथा संग्रह पढ्यौं । कथाहरू राम्रा छन् । मैले स्वाभाविक रुपमा भनेको थिएँ – एकेडेमीमा पुग्नुपर्ने व्यक्ति प्रहरी सेवामा पुग्नु भएछ ¤
विजयकुमार गच्छदारबारे मैले उहाँलाई सधैं कांग्रेस कार्यकर्ता नै भन्थें । ‘अवसरवादी’ शब्द मेरो होइन ।
मोहनविक्रमजीले हृदयचन्द्र सिंह प्रधानको ‘गंगालालको चिता’ बारेको नाटकलाई ऐतिहासिक साहित्यको रुपमा मात्र लिनु उचित हुन्छ भन्ने मेरो भनाइ हो । प्रस्तुत भनाइ उपयुक्त देख्दिन ।
८ वैशाख २०७५ को कान्तिपुरका साप्ताहिक परिशिष्टाड्ढ ‘कोसेली’ को ‘बिजुक्छें जुगको बयान’ मा त पत्रकार घनश्याम खड्काले खुब हँसाउनुभएको जस्तो छ नि ?
घनश्याम खड्काजी युवा जोशका पत्रकार हुनुहुन्छ, तर लामो अन्तर्वार्तामा एक दुई ठाउँमा तल–माथि हुनु स्वाभाविक हो । मन्त्री बलबहादुर राईसँगको काठमाडौंको खानेपानी र विज्ञान तथा प्रविधि मन्त्रीसँगको प्रश्न मैले गरेको होइन अरु नै सांसद मित्रहरूले गरेका थिए र जलस्रोत मन्त्री बासु रिसालको उत्तरबारे मन्त्रीजीसँग होइन अन्य नेपाली कांग्रेसका सांसद मित्रहरूसँग संसदमै जिज्ञासा राखेको थिएँ । नेमकिपाको स्थापना २०३१ साल माघ महिनामा भएको थियो । पत्रिकामा उल्लिखित मिति अन्यथा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *