भर्खरै :

राजनीतिक र सैद्धान्तिक सङ्घर्षको निरन्तरता नै नेमकिपाको सफलता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग सोमबार ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक, ‘अनलाइन मजदुर’ लगायत सञ्चारमाध्यमहरूले समसामयिक राजनीतिक अवस्था, नेपालको कम्युनिष्ट आन्दोलन र नेमकिपाको भूमिकामा केन्द्रित भई गरेको कुराकानी प्रस्तुत छ :
प्रश्नः एमाले र माओवादी केन्द्रको एकतालाई तपाईंले कसरी लिनुभइको छ ?
एमाले र माओवादी केन्द्रको एकता सिद्धान्तमा आधारित नभई पदको भागवण्डामा आधारित छ । त्यस पार्टीका नेताहरूले नै आफ्नो एकता ‘न वाम एकता हो, न त कम्युनिष्ट एकता हो’ भनेका थिए ।
प्रश्नः विगतमा तपाईंहरूले केपी ओलीको सरकारलाई समर्थन गर्नुभएको थियो । अहिलेको ओली सरकारप्रति तपाईंहरूको दृष्टिकोण के हो ?
भारतीय नाकाबन्दीको विरोधमा नेपाली जनतालाई एकगठ गर्नु आवश्यक भएको हुँदा नेमकिपाले स्पष्ट भाषामै भारतीय एकाधिकार पुँजीको विरोध गरेको थियो र ओली सरकारलाई खुट्टा कमाउन नदिन, नेपाली जनतालाई सक्रिय बनाउन सहयोग गरेका थियौं । नेमकिपा भारतीय एकाधिकार पुँजीको विरोधमा अगाडि थियो ।
प्रश्नः अहिलेको सरकार र नेकपाले नेपालमा राजनैतिक आन्दोलन सकिएको र अब आर्थिक क्रान्ति अगाडि बढाउनुपर्ने ठम्याइ राख्छन्, यसबारे तपाईं के भन्नुहुन्छ ?
वर्तमान सरकारलाई समर्थन गर्ने दलहरू फरक फरक उद्देश्य बोकेका हुनाले कुनै पनि बेला सरकारमा विभाजन आएमा आश्चर्य हुनेछैन । पार्टी एकता र संयुक्त सरकार कुनै राजनैतिक सिद्धान्तमा आधारित नहुँदा भ्यागुतोको धार्नी पु¥याउनेजस्तै हुन बेर छैन । ती राजनीतिक दलहरूको आर्थिक क्रान्तिको अर्थ सरकारका योजनाहरूलाई ठेक्कामा भागवण्डा गरी नाफा बटुल्ने नै हो । ती पार्टी नेता र निर्वाचित माथिल्ला सदस्यहरूमध्येको ठूलो सङ्ख्या ठेकेदार, बालुवा, गिट्टी, घर–जग्गालगायतका व्यापारी, कालाबजारिया, तस्कर, अपराधी र गुण्डागर्दीमा अभियोग लागेकाहरू हुन् ।
प्रश्नः भर्खरै काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा चीन, भारत, ब·लादेशलगायत २२ देशका कम्युनिष्ट र समाजवादी पार्टीको सहभागितामा ‘माक्र्सवाद र समाजवाद’ बारे एउटा गोष्ठी (सेमिनार) भएको समाचार आएको छ । नेमकिपा त्यो गोष्ठीमा सहभागी नभएकोबारे विदेशी मित्रहरूले जिज्ञासा राख्नुभएको छ । नेमकिपा किन त्यो गोष्ठीमा सहभागी भएन ?
१६ र १७ जेठ २०७५ मा एमाले र एमाओवादी केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘माक्र्सवाद र समाजवादबारेको अन्तर्राष्ट्रिय गोष्ठीमा एक–आपसमा विवादास्पद विचार र सिद्धान्त बोकेका २२ वटा कम्युनिष्ट पार्टी र अन्य वाम भनिने पार्टीहरूका प्रतिनिधिहरू सहभागी भएको बताइएको छ । कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा एमाले र माओवादी केन्द्रले आफ्नो पुँजीवादी र अवसरवादी चरित्र लुकाउन, क्रान्तिकारी र सिद्धान्तनिष्ठ राजनैतिक दल हो भनी देखाउन, जनताको आलोचना र विरोधलाई छल्न अन्तर्राष्ट्रिय गोष्ठीलाई पर्दाको रूपमा प्रयोगमात्र गरेका हुन् । कति मित्र कम्युनिष्ट र मजदुर पार्टीका प्रतिनिधिहरूले स्थानीय निकाय, प्रादेशिक र सङ्घीय संसदको निर्वाचन र सरकारको निर्माणलाई कूटनीतिक भाषामा शुभकामना दिएका छन् ।
गोष्ठीको प्रस्तावनामा संरा अमेरिकी साम्राज्यवादको विरोध र निन्दासमेत गरिएन भने चर्का चर्का क्रान्तिकारी कुरा गरेर अमेरिकी साम्राज्यवादको अपराधलाई लुकाउने दृष्टिकोण राख्ने ‘माक्र्सवादी–लेनिनवादी’ दलको पनि त्यहाँ सहभागिता थियो ।
यसरी एमाले र माओवादी केन्द्रले माक्र्सको द्विशतवार्षिकको अवसर र रूसी अक्टोवर क्रान्तिको १०० वर्ष नाघेको अवसरमा माक्र्सवादी र संशोधनवादी दृष्टिकोणका दलहरूलाई मिसाएर अन्तर्राष्ट्रिय जगतमा समेत ठूलो भ्रम सृजना गर्ने जमर्को गरेको देखियो । यस्तो भ्रमजाललाई इमानदार माक्र्सवादीहरूले उदाङ्ग्याउनैपर्छ । नेमकिपा यस्ता अवसरवादीहरूलाई उदाङ्ग्याउँछ र अवसरवादको विरोध गर्छ । हाम्रो अडानबारे जानकारी भएकै कारण तिनीहरूले नेमकिपालाई निमन्त्रणा गर्ने साहस गरेनन् ।
प्रश्नः मित्र पार्टीहरू नेपालमा कम्युनिष्ट पार्टीको अत्यधिक बहुमत भएको सरकार बनेको हुँदा अब देशमा स्थायित्व र विकासमा अगाडि बढ्ने आशा देखेका छन् । त्यसबारे तपाईंको धारणा के छ ?
सबै मित्र कम्युनिष्ट र वाम दलहरू नेपालको कम्युनिष्ट आन्दोलनबारे राम्रो जानकारी राख्दैनन् । यदि ४–४ विघा जमिन बाँड्ने, ४–४ तोला सुन दिने र बिहा नगरेकाहरूलाई लोग्ने र स्वास्नी दिने तथा सहरका घरहरू दिने प्रचार गरेको मित्र पार्टीहरूले थाहा पाएका भए वा हालैका निर्वाचनहरूमा घर–जग्गा व्यापारी, ठेकेदार, गिट्टी–बालुवा र वन तस्कर, कालाबजारिया, गुण्डा र भ्रष्टाचारीहरूलाई छानी छानी उम्मेदवार बनाएको तथा ठाउँ ठाउँमा हरेक घरमा रू. २५÷२५ हजार बाँडेको, माछा र मासु, कुर्ता–सुरूवाल, चोलो–फरिया र ग्यास सिलिण्डर बाँडेको तथा धर्म, जात, भाषा र क्षेत्रीय साम्प्रदायिकताको प्रचार गरी मत मागेको थाहा पाएका भए नेपालमा कस्ता कस्ता ‘कम्युनिष्ट’ पार्टीहरू सरकारमा रहेछन् भन्ने थाहा पाउने थिए र आश्चर्यमा पर्ने थिए । मनमोहनजीले पेरिसमा फ्रान्सेली कम्युनिष्टहरू र अमेरिकी न्यूजवीक पत्रिकालाई एमालेको ‘कम्युनिष्ट’ नाम त खाली ‘ट्रेड मार्क’ हो भन्दा जसरी सबै हाँसेका थिए, त्यो हाँसो नेपालका ‘ठूला कम्युनिष्ट’ पार्टीहरू आ–आफ्नो देशका पुँजीवादी दलहरूकै समकक्षी हुन् भन्ने कुराको सड्ढेत थियो । यस्ता नक्कली कम्युनिष्ट पार्टीका सरकारहरूले न कहिले देशमा स्थायित्व प्रदान गरेका थिए न त देश विकास गरेका थिए । ती दलहरूले पनि अहिले देशमा शान्ति, न्याय, सुरक्षा, आर्थिक समानता र समृद्धि ल्याउने छैनन् ।
प्रश्नः नेमकिपा र अन्य वाम तथा कम्युनिष्ट पार्टीहरूमाझ सहकार्य अबका दिनहरूमा कसरी अगाडि बढ्ला ?
नेमकिपाले नेपालको कम्युनिष्ट आन्दोलनमा सही र गलत दलहरू तथा सिद्धान्तनिष्ठ र संशोधनवादी दलहरूलाई प्रस्ट पार्ने काम गर्दै जानेछ । जनताको आँखा खोलिदिने यो ठूलो सेवाको काम हो ।
प्रश्नः नेमकिपाले ३–४ दशकदेखि भक्तपुरको स्थानीय निकायमा चुनाव निरन्तर जित्दै आएको थियो । केन्द्रीय सरकारको काम–कारबाहीलाई खरो आलोचना गर्ने पार्टी नेमकिपाले आफूले जितेको भक्तपुरमा जनताको हितको निम्ति के गर्दै आइरहेको छ ?
नेमकिपाले निरन्तर रूपले जनताको हितमा इमानदारीपूर्वक काम गर्दै आइरहेको जग जाहेर छ । भक्तपुर नगरपालिकाले नगरका ३ वटा स्वास्थ्य केन्द्रद्वारा रोगीहरूको सेवा गर्दैछ । महिला र जनताका विभिन्न रोगहरूबारे स्वास्थ्य शिविरहरूमार्फत स्वास्थ्यको सचेतना कार्यक्रम र रोगीहरूको सेवा गर्दैछ ।
इञ्जिनियरिङ कलेजहरू, नर्सिङ कलेज र विज्ञान तथा मानविकी विषयका ५ वटा कलेजहरूबाट ७६ जिल्लाका युवा–विद्यार्थीहरूलाई आधा शुल्कमा शिक्षा प्रदान गर्दैछ र भक्तपुर जिल्लाका धेरै विद्यालयहरू नेमकिपाका कार्यकर्ताहरूले नै स्थापना गरेका थिए वा राम्रो बन्दोबस्त गरेका हुन् । नेमकिपाका कार्यकर्ता र समर्थकहरूका विद्यालय र कलेजहरूले राजनैतिक र सांस्कृतिक स्तर उठाउने उद्देश्यका साथै राम्रो शिक्षा प्रदान गर्दैछन् । झण्डै एक दशकदेखि भक्तपुर परीक्षामा नक्कल नगर्ने र हुलहुज्जत नहुने जिल्लाको रूपमा परिचित छ । परीक्षाको राम्रो परिणाम ल्याउने जिल्लामा भक्तपुर पर्छ । यस क्षेत्रमा पनि नेमकिपाकै कार्यकर्ताहरूको ठूलो मेहनत छ । अन्य जिल्लाहरूमा भन्दा भक्तपुर जिल्लामा ऐतिहासिक र सांस्कृतिक सम्पदा र धरोहरहरूको मर्मत, सम्भार र पुनःनिर्माणमा बढी काम भइआएको छ । सारा जनतालाई सरसफाइमा वर्षौंदेखि सक्रिय पार्दैछन् । भक्तपुर देशको सबभन्दा कम भ्रष्टाचार हुने जिल्लामा पर्दछ ।
प्रश्नः ३–४ दशकसम्म भक्तपुरमा नेमकिपाले भक्तपुर नगर र जिल्लामा प्रभाव पार्दै आएको छ, त्यसको रहस्य के होला ?
नेमकिपा २०१९ सालदेखि नै भक्तपुर जिल्लामा जनताको सेवामा समर्पित हुँदै आएको छ । त्यसका केही उदाहरणहरू निम्न छन् –
– २०१९ सालदेखि नै नेमकिपाले किसान जनताको सांस्कृतिक स्तर उठाउन गुप्तरूपले ‘रात्री कक्षाहरू’ सञ्चालन गरेको थियो । किसान कार्यकर्ताहरू साक्षर हुनाको साथै चीनको हुनान किसान आन्दोलन, बेलायती पुँजीवादी क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन, फ्रान्सेली क्रान्ति र रूसको अक्टोवर क्रान्तिबारे जानकार थिए । चीन, कोरिया र क्युवाको समाजवादी क्रान्तिबारे पनि जानकारी पाउँदै आएका छन् ।
– २०१९ सालमा निर्वाचित नगरपालिकाले किसानहरूको बाली खाई बिगार्ने साँढे धपाउँदा किसानविरोधी जमिनदारहरूले किसान जनतामाथि आक्रमण गरेका थिए । त्यही विषयमा पनि भक्तपुरमा सामन्तवादविरोधी सङ्घर्ष चक्र्यो ।
– २०२१ सालमा भूमिसुधारको घोषणापछि किसान कार्यकर्ताहरूले खेतखेतमा गएर मोहीको नाम लेखाउन जोताहा किसानहरूलाई उत्साहित गर्ने काम गरे । जोताहा किसानले नाम लेखाएकै हुनाले अहिले तिनीहरूले आधा जग्गामा हक प्राप्त गरेका हुन् ।
– २०२१ सालमै सुस्ता रक्षा आन्दोलन भएको थियो । दुई वर्षसम्मको सङ्घर्षमा धेरै किसान कार्यकर्ताहरू पक्राउ परे र बन्दी बनाइए ।
– २०२२ देखि २०२४ सालसम्म भर्पाइ आन्दोलनमा नेमकिपा अगाडि थियो ।
– २०२३ सालमा भियतनाममाथि अमेरिकी आक्रमणको विरोधमा पहिलो प्रदर्शन भएको थियो । पञ्चायती व्यवस्था आएपछिको त्यो विरोध प्रदर्शन नेपालकै पहिलो थियो । प्रहरी हस्तक्षेपपछि गुप्त रूपले चोक चोकमा फोटो प्रदर्शनीहरू भए ।
– २०२५ सालमा सुस्तामा भारतीय अतिक्रमणको विरोधमा भएको प्रदर्शनीमाथिको प्रहरी हस्तक्षेपमा प्रहरी र प्रदर्शनकारीहरू धेरै घाइते भएका थिए । प्रदर्शनकारीविरुद्धको मुद्दा दुई वर्षसम्म चल्यो ।
– २०२५ साउन २ गते नवदुर्गा सहकारी संस्थाले लायकूमा गरेको संस्थाको साधारणसभामा भ्रष्टाचारको विरोध गर्दा सरकारी कर्मचारीहरू भागेका थिए, किसान कार्यकर्ताहरू पक्राउ परे तथा त्यसको विरोधमा लामो सङ्घर्ष चालू रह्यो ।
– २०२६ असार १९ गते सहकारी संस्थाका भ्रष्ट सभापतिलाई उल्टो टोपी लगाई सहर घुमाउने सजाय दियो ।
– २०२६–२७ सालमा कानुनबमोजिम जोताहा किसानसँग कम बाली लिन नमान्ने र हात–पात गर्ने जमिनदारहरूको विरोधमा ‘बाली काट्ने आन्दोलन’ सुरु ग¥यो । यो आन्दोलन २–३ वर्ष चल्यो ।
– २०३१ मा भारतीय विस्तारवादले सिक्किमलाई भारतमा विलय गर्दा त्यसको विरोधमा किसान जनताले सङ्घर्ष गरेका थिए ।
– २०३१ सालमा सरकारविरोधी कार्टुन प्रदर्शन गरी जनतालाई राजनैतिकरुपले शिक्षित पार्ने काम गर्याे ।
– २०३५ सालमा भुट्टोको फाँसीपछि भएको विद्यार्थी आन्दोलनमा नेक्राविसङ्घ सक्रिय रह्यो ।
– २०३६ सालमा वामपन्थी आन्दोलनमा नेमकिपा अग्रपंक्तिमा थियो ।
– २०३६ सालमा जनमतसङ्ग्रहको आन्दोलनमा पनि नेमकिपा सक्रिय थियो ।
– २०३६ देखि २०४४ सालसम्म प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा नेमकिपा अगाडि थियो ।
– २०४५ सालमा पञ्चायती सरकारले केन्द्रीय स्तरमै नेमकिपालाई समूल नष्ट गर्ने षड्यन्त्र रची नेमकिपाका ६७ जना नेता तथा कार्यकर्ताहरूलाई ज्यान मुद्दा लगाएको थियो ।
– २०४६ सालको आन्दोलनमा पनि नेमकिपा अग्रपंक्तिमा थियो ।
– २०४८ सालको पहिलो संसदीय निर्वाचनमा पनि नेमकिपा प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थामा गएर जनतालाई पुँजीवादी प्रभावबाट मुक्त गर्ने कष्टसाध्य सङ्घर्षमा जनताको सेवा गर्न अग्रसर
रह्यो ।
यसरी नेमकिपाले किसान जनताको बीचमा दुई पुस्ता सैद्धान्तिक र राजनैतिक सङ्घर्षमा अगुवाइ ग¥यो । अहिले नयाँ पुस्ता सङ्घर्षमा अगाडि छ । संशोधनवाद र सुधारवादको विरोधमा नयाँ पुस्ता सङ्घर्षशील छ । राजनैतिक र सैद्धान्तिक सङ्घर्षको निरन्तरता नै नेमकिपाको सफलता हो । निःस्वार्थ रुपले जनताको सेवा गर्नु नै नेमकिपाको सफलताको रहस्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *