भर्खरै :

सिनेमा -आत्मबलिदानको कथा

–अभय श्रेष्ठ
वेश्याप्रति निरपेक्ष घृणा र पण्डितप्रति निरपेक्ष प्रशंसा विवेकहीन मानिसहरूको प्रवृत्ति हो । परम्परा, गौरव र मृत राष्ट्रियताको थोत्रो चस्मा नफुकाली हेर्दा देखिने दृश्य यस्तै हो । यथार्थमा न वेश्या सर्वथा घृणायोग्य हुन्छन्, न पण्डित सर्वथा प्रशंसनीय । इमानको यति चर्को खडेरीमा विवेकको तुलोमा जोखी हेर्दा मलाई वेश्या नै बढी सम्मानयोग्य लाग्छन् । खासमा तिनले सिस्टमकै नाकमा प्रहार गरिरहेका हुन्छन् ।
चिनियाँ निर्देशक झाङ यिमुले यान गेलिङको उपन्यासमा आधारित भएर वेश्याहरूको महानतामाथि चिनियाँ इतिहासमै सबैभन्दा महँगो चलचित्र बनाएका छन् । उनको चलचित्र ‘द फ्लावर्स अफ वार’ युद्धको विभीषिकाबीच प्रेम र बलिदानको यस्तो महान् कथा हो जसले ठग स्वभावको जड्याहालाई सन्त र वेश्याहरूलाई प्रेमको महान् प्रतिमूर्ति बनाइदिन्छ ।

नानकिङको लडाइँ
यो एउटी स्कुले किशोरी शुको स्मृति कथा हो । सन् १९३७ मा जापानले चीनको जियाङ्सु प्रान्तको राजधानी नानकिङमा आक्रमण गर्दा ३ लाख चिनियाँले ज्यान गुमाए । लगातार २० दिनको बमबारीपछि डिसेम्बर १३ मा जापानी सेनाले नानकिङ कब्जा ग¥यो । चिनियाँ जनमुक्ति सेनाका तर्फबाट केही सेनासहित मेजर लीमात्र बाँकी थिए । सैनिक भेष छाडेर उनी नानकिङबाट भाग्न सक्थे । तर, विपत्मा परेका चिनियाँ दुःखी महिलाको आबरु रक्षाका लागि अन्तिम साससम्म लडिरहे । केही नलागेपछि जापानी ट्यांकर ध्वस्त पार्न छातीमा विस्फोटक बाँधेर आफैँलाई मानवीय ढालका रूपमा बलिदान गरे । यो त चलचित्रको पृष्ठकथामात्र हो । मुख्य कथा त क्वीन हाई नदी क्षेत्रका १२ जना सुन्दरी वेश्या र एक किशोरको । तिनले १२ जना स्कुले किशोरीलाई जापानी सेनाको बलात्कार र हत्याबाट बचाउन आफैँलाई बलिदान गरेका थिए ।
कन्भेन्टमा पढ्ने किशोरीसँगै किशोर जर्ज, अमेरिकी मोर्टिसियन (मृतक सिँगार्ने) जोन मिलर र १२ जना वेश्याले युरोपेली चर्च विन्चेस्टर क्याथेड्रलमा शरण लिएका हुन्छन् । किशोरीहरू वेश्याहरूलाई अघोरै घृणा गर्छन् । तिनलाई चर्पीसमेत प्रयोग गर्न दिँदैनन् । वेश्याहरूकी अगुवा सुन्दरी यु मो भने सधैँ तिनको र आफ्नै साथीहरूको सुरक्षित मुक्तिका लागि चिन्तित रहन्छे । मोको पूर्वकथा आफैँमा कहालीलाग्दो थियो । छ वर्षसम्म कन्भेन्टमा पढेर ऊ अंग्रेजी जान्ने भएकी थिई । सुन्दर आँखा भएको कुनै युवकसित उसको हृदयको तार जोडिएको थियो । तर, तेह्र वर्षको उमेरमा ऊ सौतेलो बाबुबाट बलात्कृत भई । सबै सिद्धियो, त्यसपछि बाध्य भएर वेश्या भई ।
प्रौढ जोन एकै नजरमा यु को प्रेममा फस्छ । प्रेमकै प्रेरणाले उसले जापानी सेनाको बलात्कारबाट किशोरीहरूलाई बचाउन ज्यान जोखिम मोलेर प्रयास ग¥यो । तैपनि गोली लागेर एउटी र बलात्कारबाट बच्न खोज्दा तीन तलामाथिबाट खसेर अर्की किशोरीको मृत्यु भयो । अर्कीलाई चाहिँ जापानी सेनाको बलात्कारबाट मेजर लीले बचायो । यसअघि नै जापानी सेनाले छाप्रामा लुकेर बसेका तीन किशोरीमध्ये एउटी झेनलाई तरबारले घोपेर मारिसकेका थिए । त्यस्तो स्थितिमा पनि साथीहरूलाई बचाउन उसले चुँक्कै आवाज निकालिन ।
झाङ यिमु कथाको भावलाई व्यक्त गर्न विशिष्ट रङ प्रयोग गर्ने निर्देशकका रूपमा संसारमै प्रख्यात छन् । यु मोप्रति जोनभित्र अंकुराएको प्रेम व्यक्त गर्न उनले हरियो घेराको गाढा रातो रङ प्रयोग गरेका छन् । अक्सर उनी आफ्ना चलचित्रमा चिनियाँ जनक्रान्ति र सांस्कृतिक क्रान्तिलाई ध्वस्त पार्ने गरी उडाउन माहिर छन् । उनका माओकालीन अधिकांश पात्रहरू सोझा, इमानदार तर मूर्ख र जड हुन्छन् । तर, सन् २०१२ को गोल्डेन ग्लोबमा मनोनीत तथा गेलिङ यानको उपन्यास ‘थर्टिन फ्लावर्स अफ नानजिङ’ मा आधारित यस चलचित्रमा उनले तिनै जनसेना र चिनियाँ जनताको संघर्षको अनुपम गौरवगाथा गाएका छन् ।
कहिलेकाहीँ मान्छेका ससाना चोखा भावनाको मूल्य जीवनभन्दा माथि हुन्छ । मेजर लीले पु शेङ नामको घाइते सेनालाई हेरचाहका लागि महिलाहरूकहाँ छाडेर गएको हुन्छ । पु टुहुरो थियो । ऊसँग केही थिएन । त्यसैले जनमुक्ति सेनाले उसलाई आफ्नो दस्तामा सामेल ग¥यो । घाइते भएर मरणान्त हुँदा ऊ भर्खरको किशोर मात्र थियो । डाउ नामकी वेश्याले उसलाई विशेष हेरचाह गरी । आफ्नै भाइको जस्तो अनुहार भएको त्यस केटोलाई ऊ प्रेम गर्छे र चारतारे बजाएर सुनाउँछे ।
‘तिमीलाई मन प¥यो ?’
‘मन प¥यो । धन्यवाद ।’
‘धन्यवाद नभन । बरु मसँग बिहे गर । म पनि तिमीसँग खेतमा मिहिनेत गरेर काम गर्छु ।’
‘हाम्रो खेतै छैन ।’
‘त्यसो भए म पिपा बजाउँछु, तिमी कचौरा बोकेर हिँड । त्यसले हामी तिम्री आमालाई राम्ररी पालौँला ।’
‘मेरी आमा छै्रनन् । मेरा कोही पनि छैनन् । जापानीले सबै जनालाई मारिदिए ।’

त्यो किशोर म¥यो । मान्छे आखिर प्रेमको सहाराले मात्र बाँच्न सक्छ । पु जिउँदो हुँदा डाउले चारतारे राम्ररी बजाएर सुनाउन पाइन । त्यसका तीन तार चुँडिएका थिए । त्यस्तो तार कोठीमै थियो । गाड्नुअघि भए पनि मृत पुलाई ऊ एकपल्ट सुनाउन चाहन्छे । उता ल्यानको प्रेमीले दिएको इयरिङ कोठीमै छुटेको थियो । जापानी प्रहरीका आँखा छल्दै तिनीहरू कोठी पुगे । अन्ततः ल्यान गोली लागेर मरी । डाउमाथि सेनाले पालैपालो बलात्कार गरे । एउटाचाहिँको कान टोकेर रक्ताम्मे पारिदिई । रिसले चुर भएर त्यसले बन्दुकको कुन्दैकुन्दाले घोपेर मारिदियो । पुको आत्मालाई भए पनि चारतारे बजाएर सुनाउने चोखो भावनासँगै यसरी उसको हत्या भयो ।
जापानी सेनाको कर्नेल हासिगावाले चर्चमा आक्रमणका लागि ‘पुजारी’ जोनसँग माफी माग्यो र सुरक्षाको ग्यारेन्टी दियो । किशोरी छात्राको गीत सुनेर ऊ ‘प्रभावित’ भयो । नानकिङ विजय घोषणामा उसले तिनलाई गीत गाउन निम्तो दियो । यो त बहाना मात्र थियो । सेनाका हाकिमहरू शत्रुपक्षका किशोरीको कुमारित्व भंग गरेर विजयोत्सव मनाउन चाहन्थे । नियत थाहा पाएर जोनले यसको विरोध ग¥यो । तर, केही लागेन । शत्रु सेनाकहाँ समर्पण गर्न जानुभन्दा मर्नु ठीक ठानेर किशोरीहरूले चर्चको छतबाट फाल हाल्ने योजना बनाए ।
यहीँनिर कथाले अत्यन्त मार्मिक मोड लिन्छ । अब नगरबधूहरूले आत्मबलिदान गर्नुपर्ने बेला आयो । जर्जले जोन र युवतीहरूसँग गुहार माग्यो । मोले आफ्ना साथीहरूलाई मनाई । किशोरीका ठाउँमा वेश्या युवतीहरू जान तयार भए । यसरी किशोरीहरूको ज्यान र अस्मिता जोगियो । यहीँनिर किशोरी र वेश्याहरूबीच अत्यन्त मार्मिक कुराकानी हुन्छ । किशोरीहरू माफी माग्छन् ।
‘मेरी सानी चरी, मेरो जिन्दगी त नर्कै भयो । मेरा लागि भए पनि तिमीले असल जिन्दगी जिउनू है ¤’
‘मेरो मायालुले दिएको यो बाला तिमी सुरक्षित राखिदेऊ है ¤ भेट भए लिउँला, नभए तिमीले नै राख्नू ।’
‘मेरो त आफ्नो भन्नु त्यही बिरालोबाहेक कोही छैन । त्यसलाई हेरिदेऊ है ¤’
युवतीहरूले तिनको मन बहलाउन स्वर्गीय डाउको सम्झनामा क्वीन हाई नदी क्षेत्रको गौरवशाली गीत गाए । यहीँनिर कन्भेन्टको किशोर पियन जर्जले अर्को बलिदान गर्ने आत्मघोष ग¥यो । किशोरीहरूले गीत गाउँदा लामखुट्टे उपनामधारी वेश्या पनि भूलवश देखा परी । शु नामकी किशोरीले उसलाई पनि विद्यार्थीकै रूपमा चिनाएर वेश्याहरूलाई बचाएकी थिई । यही शुले जापानी सेनासँग समर्पण गरेको भनी आफ्नै बाबुलाई दुत्कारेकी थिई र साथीहरूलाई छाडेर एक्लै मुक्त हुन अस्वीकारेकी थिई । त्यसपछि जापानी सेनाले गन्दा १३ जना विद्यार्थी थिए जो सबै विजय उत्सवमा जान बाध्य थिए । एउटी छात्रा त जानैपर्ने भयो । जर्ज तिनकै उमेरको थियो । भेष धर्दा महिला देखिन सक्थ्यो । त्यसमा मोर्टिसियन जोनको भूमिका जरुरी थियो ।
विचरा टुहुरो जर्ज छ वर्षको हुँदा भोकमरीले झन्नै मरेको थियो । फादर इंगलम्यानले उसलाई चर्चमा ल्याएर बचाए । उसलाई विद्यार्थीको सुरक्षा र हेरचाह गर्न अह्राएका थिए । आक्रमणमा फादर मारिए । जर्जले फादर जिउँदो रहुन्जेल उनको गुन तिर्न पाएन । जोनले सबै महिला र जर्जलाई किशोरी विद्यार्थीका रूपमा सिँगारिदियो । महिला र जर्ज विद्यार्थीको जीवन जोगाउन जापानी सेनाको बलिबेदीमा होमिन बिदा भए । जाँदा आत्मरक्षाका लागि तिनले आफ्नो छातीमा काँचको छुरी लुकाएका थिए । जोनले जर्जलाई भनेको थियो, ‘तिमीलाई धेरै खतरा छ । गाडी चढिसकेपछि कसैगरी भाग्नू ।’
‘म भाग्दिनँ । त्यसो गर्दा फेरि तेह्रै जना विद्यार्थी पक्राउ पर्छन् । म कसरी फादर इंगलम्यानको गुनको बदला धोका दिन सक्छु ? म त्यहीँसम्म पुग्छु । त्यतिन्जेल पक्कै तपाईँले यी छात्रालाई नानकिङ पार गराइसक्नुहुनेछ ।’
अनेक चलाखी गरेर जोनले विद्यार्थीलाई नानकिङ कटाएर मुक्त पा¥यो । नयाँ पुस्ताको मुक्तिका लागि आफूलाई बलिदान गर्ने ती बाह्र महान् वेश्या र किशोर जर्जलाई के भयो होला ? चलचित्र सकिए पनि दर्शकलाई यस प्रश्नले बेस्सरी चिमोटिरहन्छ । कथा वाचक शुले पछि तिनलाई कहिल्यै भेट्न पाइन । हुनसक्छ ती बलात्कृत भए र आत्मरक्षा गर्दागर्दै मारिए । अनि जर्ज ? उसलाई त अझै यातना दिएर मारियो होला ।
अन्त्यमा
सुन्दर कथा, पुष्ट पटकथा र जीवन्त अभिनय राम्रा चलचित्रका प्रथम सर्त हुन् । खासगरी वेश्याहरूकी नायिका यु मोको भूमिकामा नि नी, नक्कली पादरीको भूमिकामा कृस्चियन बेल, डाउको भूमिकामा ली यु मिन, शुको भूमिकामा झाङ जिन्यी, ल्यानको भूमिकामा बाई जुई, जर्जको भूमिकामा हुआन तियानयुआनको अभिनयकलाले भुतुक्कै पार्छ । ४० प्रतिशत अंग्रेजी र ६० प्रतिशत नानजिङको आञ्चलिक भाषामा छायांकित यस चलचित्रको फोटोग्राफी र मूलतः अव्यावसायिक कलाकारहरूको अभिनयको प्रशंसा हृदयबाटै उम्लेर आउँछ । चर्चाले संसार हल्लाएका थुप्रै चलचित्रमा दुई घण्टा बाँधिन मलाई हम्मे पर्छ । गोल्डेन ग्लोब पुरस्कारका लागि मनोनीत ‘फ्लावर्स अफ द वार’ले भने मलाई सासै रोकेर बाँधिराख्यो । यस्तो तिख्खर, हृदयस्पर्शी र साहित्य स्तरको रुचिकर चलचित्र हेर्ने अवसर विरलै पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *