भर्खरै :

भक्तपुरको जुजु धौ र असार पन्ध्र

-ओम धौभडेल
आज असार १५, दही चिउरा खाने दिन । नेपाली समाजमा असार १५ सम्ममा रोपाईँ सकेको अर्थमा यसरी प्रत्येक वर्ष परिवार, आफन्त र साथीभाइ मिली दही–चिउरा खाने परम्परा छ । नेपालजस्तो कृषिप्रधान देशको लागि धान रोप्नु अति महत्वपूर्ण मानी असार १५ सम्ममा रोपाईँ सम्पन्न गर्ने परिपाटीअनुरुप यस दिन दही चिउरा खाने संस्कृति बसेको हो । रोपार्इँको क्रममा एउटा सानो जग्गामा भए पनि असार १५ को दिन रोपाइँ गरी दही चिउरा खाने चलन अझै छ । कति ठाउँमा बाजागाजाका साथ हर्षोल्लास गरी रोपार्इँपश्चात् सम्पूर्ण खेतालाहरूलाई दही चिउरा खुवाउने चलन छ । यो अवसरमा ज्येष्ठ व्यक्तिको हातबाट उपस्थित सबैलाई दही चिउरा बाँड्ने गरिन्छ । मानो रोपेर मुरी फलाउनु पर्ने रोपाइँको समयमा बढी शक्ति खर्च हुने हुँदा सो परिपूर्ति गर्ने उद्देश्यले दही–चिउरा खाने चलन भएको कुनै द्विविधा छैन । दही भनेपछि सबैको ध्यान भक्तपुरको जुजु धौमा गएको हुन्छ । भक्तपुरको जुजु धौको चर्चा काठमाडांै उपत्यका, नेपाललगायत संसारभरि नै छ । भक्तपुरको दही मीठो र उच्च गुणस्तरको हुने हुँदा यहाँको दहीलाई जुजु (राजा) उपाधि दिएबाट पुष्टि हुन्छ । कतै भोजमा भक्तपुरको दही राखियो भने त्यो भोज खुवाउने मान्छेको हैसियत पुष्टि गर्दछ । अनि भक्तपुरमा हुने भोज दहीकै कारण उपत्यकाका अरु ठाउँका भोजभन्दा भिन्न मानिएको हो । कतै ठूलावडा व्यक्ति वा सरकारी ओहदाका व्यक्तिलाई कोसेलीस्वरुप यहाँको जुजु धौ लिएर जाँदा खुसी हुने गरेको पाउँछौं ।

ओम धौभडेल


दही जहाँसुकै बन्ने भएता पनि भक्तपुरमा बनेको दही मीठो हुनु र राम्रोसँग जम्नुको पछाडि विभिन्न प्रमुख कारणहरू देखिन्छ । दहीलाई न धेरै गर्मी न धेरै जाडो खालको मौसम आवश्यक हुन्छ । दही जमाउनलाई धेरै डिग्री तापक्रम आवश्यक भए पनि बाहिरी मौसमले ठूलो भुमिका खेल्दछ । यसमा यहाँको मौसम र पानीले ठूलो मद्दत गरेको देखिन्छ ।
भक्तपुरको दही (जुजु धौ) मीठो हुनुमा यहाँकै प्रजापति (कुम्हा) हरूबाट पराम्परागत प्रविधिमा बनाइने भिउँट (दही राख्ने माटोको भाँडो) पनि एक हो । कालो माटो र खैरो माटोको मिश्रणबाट परम्परागत ढ·मा भिउँट बनाइसकेपछि त्यसलाई घाममा सुकाइ, र· लगाई पोलेपछि पाकेको भिउँटमात्र होइन, यहाँ प्रयोग गर्ने भिउँटको आकर्षक आकारले पनि दहीलाई जमाउन मद्दत गरेको हुन्छ ।
भक्तपुर नगरभित्र र काँठ क्षेत्रमा उन्नत खालका गाई–भैसी पाल्ने चलन पहिलेदेखि नै चल्दै आएको छ । यस्तो असल खालका दूध कराहीमा तताउनुअघि दहीमा केही गुलियोपना ल्याउन चिनी, मिश्री, सखर, चाकु आदिको प्रयोग नगरी सखरखण्डको प्रयोग गरेको हुन्थ्यो । कराहीमा सखरखण्ड मुछ्दै त्यसमा दूध हाली धेरै बेरसम्म दूध उमालिसकेपछि धानको भुसमाथि भिउँट राखी त्यसमा उम्लेको दूध हालिन्छ । केही बेर चिसो भएपछि त्यसमा बीउको रुपमा पुरानो दही र पानी फिटी बनाएको दहीको झोल हालिन्छ । त्यसपछि एउटा अर्काे भिउँटले छोपी त्यसमाथि बोरा या कपडाले लगभग तीन घण्टा छोपेपछि दही तयार हुन्छ । यसरी असल खालका दही बनाउने काम भक्तपुरमा परम्परादेखि चल्दै आएको छ ।
हाम्रो कला–संस्कृति र धर्ममा दहीको ठूलो महत्व छ । दहीलाई हाम्रो संस्कृतिले एक परिकारभन्दा हाम्रो संस्कृतिलाई जीवन्त बनाउन ठूलो भूमिका निभाएको देखिन्छ । दहीको विविध गुणहरूले गर्दा यो यहाँको संस्कृतिको एक अभिन्न अ· बन्न पुगेको छ । नेवार समुदायको जस्तोसुकै पूजापर्व, संस्कार भोजभतेरमा दहीको आवश्यकता अनिवार्य मानिन्छ । नेवार समुदायमा शिशुको जन्म हुनुपूर्व अर्थात् आमाको पेटमा हुँदादेखि दहीको आवश्यकता हुन्छ । शिशुको जन्मदेखि विभिन्न सो¥ह संस्कार अनि मृत्युवरण र त्यसपछि गरिने सांस्कृतिक धार्मिक क्रियाकलापमा दहीको आवश्यकता अनिवार्य मानिन्छ । त्यस्तै नेवार समुदाय भित्र गरिने जुनसुकै पुजापर्वमा दही नभई हँुदैन । पञ्चामृतभित्र पर्ने दहीविना कर्मकाण्डका कुनै पनि संस्कार पूर्ण हुँदैन । विवाह पूर्व केटापक्षले केटी पक्षकहाँ लैजाने ग्वेँ (सुपारी) मा सुपारीको साथसाथै सर्वाधिक महत्वको वस्तु दही नै हो । त्यस्तै आमाको मुख हेर्न, बाबुको मुख हेर्न, भाइटीका गर्न दही आवश्यक हुन्छ । त्यस्तै नेवारहरूबीच मर्दापर्दा, जन्मदा भोज खाने परम्परा छ । भोजमा विभिन्न परिकारहरू खाने गरेता पनि सबैभन्दा मिष्ठान पौष्टिकत्वले भरिएको परिकार दही नै हो । दहीविना भोजको अर्थ रहँदैन । दही भोजको अन्तिमतिर राखिन्छ । भोजको शुरु–शुरुमा मासु, रक्सी जे जस्तो अभक्ष खाद्य परिकार खाए पनि सबैभन्दा पछि दही चिउरा खाने प्रचलन छ । यसबाट नेवारहरूले आफू मांसाहारी भए पनि आफूलाई शाकाहारी देखाउने प्रयास गरेको पाइन्छ । त्यसो त पाचन क्रियाको दृष्टिकोणले पनि उपयुक्त हुने तवरले दहीलाई भोजको अन्ततिर राखेको हुनसक्छ ।
कुनै भोजमा अरु परिकार मीठो नभए पनि जब मीठो दहीले भोजन हुन्छ, तृप्तिको अनुभव गर्दछ । त्यस्तै भोजमा नबिगारेको दही सबैभन्दा पहिले दही राख्दा दही लिने व्यक्तिले दहीको वापत भेटी दक्षिणा चढाउनु पर्दछ । त्यसरी सि·ै नबिगारेको दही पर्न पाहुनालाई धौःग्व लायेगु भनिन्छ । त्यस्तो मौका पाउने व्यक्तिलाई सन्तानलाभ भन्ने भनाइ पनि छ । यसबाट दहीको महत्व अझ बढी स्पष्ट हुन आउँछ । यसरी महत्वपूर्ण परिकार भएर भोजमा दही राख्ने जिम्मा जो कोहीलाई दिने गरिंदैन । भोजमा दही राख्ने जिम्मा विशेषगरी भिनाजु, ज्वाई, फुपाजूजस्ता अति नजिकको व्यक्तिहरूलाई मात्र पाउने गर्दछ । तसर्थ दही जति महत्वपूर्ण हुन्छ, दही राख्ने व्यक्ति पनि उति नै महत्वपूर्ण हुन्छ । यहाँ दहीको चिउरासित अति नजिकको सम्बन्ध छ । हुन त दही र भात तथा दही र रोटीबीच पनि सम्बन्ध नभएको होइन । तर दही र चिउराको सम्बन्ध त नङ र मासु जत्तिक्कै छ । यस अर्थमा दहीको अति मिल्ने साथी चिउरा नै हो । त्यसैले हाम्रो संस्कृतिमा हरेक ठाउँमा दही चिउराको प्रस· आउने गर्दछ । आफ्नो जन्म दिनको अवसरमा टोल–छिमेकीमा दही चिउरा बाँड्ने चलन छ । त्यसो गर्दा जन्मदिन मनाउने व्यक्तिका नराम्रा पक्ष हटेर जाने विश्वास छ । त्यसैले दही चिउराभित्र दुर्गुणलाई सद्गुणमा बदल्ने शक्ति छ । नेवार समाजमा विवाहिता चेलीछोरी गर्भिणी हुँदा विभिन्न परिकारका साथ दही चिउरा खुवाउने चलन छ । चेलीले प्रसव वेदना सहजै पार लगाउन सकोस् भन्ने कामना सहित त्यस्तो गर्ने परम्परा चलेको देखिन्छ । अनि पेटभित्रको शिशुले पहिलो पटक दही चिउराको स्वाद पाउने पनि विश्वास गरिन्छ । यस अर्थमा दही चिउरा पौष्टिकताको खाना हो ।
भक्तपुरको टोल–टोलमा नवदुर्गा देवीको ङा लाकेगु जात्रा पूर्व मूबाहाँको मुटु झिक्दा रगतले लटपटिएको हातबाट दही चिउरा पाउन जो कोही लालायित हुने गर्दछ । त्यसरी रगतले भिजेको दही चिउरा खान कसैलाई डिगमिग लाग्ने गर्दैन । सायद नवदुर्गाको हातको दही चिउराभित्र यति धेरै शक्ति छ, जस्तोसुकै अशुद्धतालाई शुद्धता दिने क्षमता छ ¤ त्यसैले दही चिउरा शुद्धताको प्रतीक मानिन्छ । त्यस्तै कसैको नङको कापमा सेतो पिप जमेको ठाउँमा दही चिउरा राखी केही दिन बाँधी राखे निको हुन्छ भन्ने मान्यता छ । त्यसैले दही चिउरा औषधिमुलो पनि हो । नेवार समाजमा भोजको क्रममा सुरुमा जे–जस्तो भोजन गरे तापनि अन्तमा दही चिउरा खानुको पछाडि हाम्रा पुर्खाहरू मासांहारीभन्दा शाकाहारी भएको तथ्य खुल्न आउँछ । हाम्रा पुर्खाहरूले खाने माउ खाना सातु सामलपछि यही दही चिउरा हो । पौराणिक समयको एउटा प्रस·ले दही चिउरासित भतmपुरको गहिरो सामिप्यता दर्शाउँछ ।
त्रेतायुगमा रावणले सीता हरण गरेको समयको कुरा हो । सीताको खोजीमा जब लक्ष्मण र हनुमानका साथ राम यत्रतत्र लाग्ने क्रममा भतmपुरको दक्षिण दिशा भएर बग्ने खोला छेउ आइपुगेछ । भोकले लखतरान उनीहरू त्यही खोलाको किनारमा बसी एउटै केराको पातमा दही चिउरा खाएको प्रस· छ । यहाँ राम ,लक्ष्मण र हनुमानले दही चिउरा खाएको लाई आधार मानेर त्रेतायुगमै भक्तपुरको दही चिउरा प्रसिद्ध भइसकेको मान्नुपर्छ । पौराणिककालदेखि दही चिउराको यो प्रसिद्धतालाई भक्तपुरले आजपर्यन्त जोगाई आएको छ– चाहे धर्मको नाममा होस्, चाहे संस्कृतिको नाममा होस् वा असार पन्ध्रकोे नाममा । दही चिउराको समिश्रणमा दहीको प्रस·मा जसरी भतmपुरको जुजु धौको नाम आउँछ, त्यसरी चिउराको सन्र्दभमा भक्तपुरकै टिगनी बोडेको नाम अग्रपङ्क्तिमा आउने गर्दछ । तर विडम्बना, बजारमा जुजु धौको बोर्ड झुण्डयाउँदैमा सबै दही जुजु धौ हुँदैन । नाफाकै लागि बनाएका दहीले जुजु धौको साख दिनपरदिन गिर्दैछ । अनि टिगनी बोडेको चिउराको हालत पनि उस्तै छ । अन्य ठाउँबाट उत्पादित चिउरामा टिगनी बोडेको चिउराको छाप लगाउँदै बजारमा छयाप्छयाप्ती भेटिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा त जो रोपाइँको लागि महिनांै दिनदेखि मरिमेट्दै लागिपरेका व्यतिmहरू हुनुहुन्छ, उहाँहरूको लागि असार १५ हर्ष न विस्मात्को विषय बनेको छ । बिग्रँदो पर्यावरणको कारण असार १५ सम्म रोपाइँ सकेको साल भेटाउन मुश्किल छ । यस वर्ष पनि कैयौं किसानहरूको रोपाइँ सकेको छैन । आज असार १५ सम्म पनि राम्रोसँग पानी पर्न सकिरहेको छैन । केही दिन अगाडि राजस्थानको धुलोसहितको वर्षाले वातावरणमा नराम्रो असर गरिरहेको यो समय ब·ालको मनसुन आउन बाँकी नै छ । असार १५ को यो घडीसम्म रोपाइँको लागि उपयुक्त थोपा पानी झरेको छैन । केहीगरी आकाशमा कालो बादल देखेपछि खाइरहेको भातको थाल छोडी रोपाइँको लागि दौडिनुपर्छ भन्ने लोकोक्ति छ । उसको लागि दही चिउराको कुनै अर्थ नै छैन । अनि रोपाइँको अर्थ नै नबुझी दही चिउरा खानुको पनि कुनै तुक छैन । तसर्थ रोपाइँको महत्व बुझौं, दही चिउराको महत्व बुझौं, अनि असार १५ दही चिउरा खाई मनाऔं ।
लेखक संस्कृति र इतिहासका अध्येता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *