भर्खरै :

आर्थिक वर्षको अन्त्यमा हुने लुटपाट

आर्थिक वर्षको अन्त्य नजिकिएसँगै देशभरि ‘विकास निर्माणले तीव्रता पाउने’ पुरानो असाध्य रोग यो वर्ष पनि दोहोरिएको छ । ‘पुँजीगततर्फको बजेट खर्च बढाउने सरकारको लक्ष्य पूरा गर्न’ आर्थिक वर्षको अन्त्यमा बजेटको निकासा गरिनु र त्यही बजेटको दुरुपयोग गर्दै ‘विकास निर्माण’ का गतिविधि गर्नु भ्रष्टाचारको कानुनी रुप हो । विकास निर्माणका गतिविधि गर्न अनुकूल अरु महिनामा निकै कम गतिमा बजेट निकासा र काम हुनु अनि अन्तिम महिना दिनमा हतारो गर्नुले गुणस्तरीय निर्माण कार्य नहुने यसअघि प्रमाणित सत्य हो । सरकारले विकास निर्माणका गतिविधि उपभोक्ता समितिमार्फत गर्नुभन्दा ठेक्कामा दिने नीतिका कारण अन्तिम समयमा गरिने यस्ता निर्माण कार्यले ठेकेदारहरूलाई मात्र फाइदा गर्ने गरेको छ । कमसल निर्माण सामग्री, जनशक्तिको अभाव र पानी पर्ने मौसमका कारण आर्थिक वर्षको अन्त्यमा गरिने विकास वास्तवमा सरकारी बजेट सकाउने बहानामात्र भएको सबैलाई थाहा भएको तथ्य हो ।
तर यो सत्यबारे अवगत हुँदाहुँदै सरकारले यस्ता खालका आर्थिक अपराध रोक्न कुनै कदम चाल्न सकेको छैन । बरु सरकारले नै प्रोत्साहित गर्ने गरेको छ । दसकौंदेखि यो क्रम रोकिएको छैन । शासक फेरिए तर भ्रष्टाचारको यो प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन । हरेक वर्षझैं यो साल पनि सरकारी बजेटमा लुटपाट गर्न सरकारमा रहेको राजनीतिक पार्टीका कार्यकर्ता तँछाडमछाड गरेर लागिरहेका छन् । दूधको साक्षी बिरालो बनेका छन्, सरकारका भ्रष्ट कर्मचारीहरू । आर्थिक वर्षको अन्त्यतिर गरिने बजेटको निकासामा चर्को बार्गेनिङ गर्न सकिने कुरा भ्रष्ट कर्मचारीतन्त्रका कर्मचारीहरूलाई राम्ररी थाहा छ ।
सरकार चलाइरहेका दलका स्थानीय कार्यकर्ताहरूले सरकारी बजेट निकासा लिई एकातिर चुनावमा जनतालाई दिएको वचन ‘पूरा’ गरेजस्तो गरिरहेका छन् भने अर्कोतिर सस्तो र कमसल निर्माण कार्य गरेर घोटाला पनि गरिरहेका छन् । तर उनीहरूले गरेको यस्तो विकास निर्माण दिगो नहुने निश्चित छ । जनताको आँखामा छारो फाल्ने काम उनीहरूबाट भइरहेको छ । बजेटको बढीमा ३० प्रतिशतमात्र फिल्डमा काम हुने गरेको सरकारी अधिकारीहरू स्वयं स्वीकारिरहेका छन् ।
असारको मसान्त नजिकिएसँगै बजेट खर्च गर्ने समस्या नेपालको क्यान्सरजत्तिकै विकराल र प्राणघातक रोग बनिसकेको छ । यसको जड भनेको सत्ता चलाइरहेका राजनीतिक दल र भ्रष्ट कर्मचारीतन्त्र नै हो । भ्रष्टाचार सधैं माथिबाट तल जाने गर्दछ । त्यसकारण भ्रष्टाचारको निराकरण पनि माथिबाटै हुनु जरुरी छ । सत्तामा गएको राजनीतिक पार्टीसँग बलियो इच्छाशक्ति र नैतिक बल भएमात्र यो समस्या समाधान सम्भव छ । सत्ताधारी आफैं भ्रष्ट वा भ्रष्टाचारीको चंगुलमा फसेको छ भने यो रोग जटिल बन्दै जानेछ । निराकरण हुनेछैन ।
सरकारमा गएका आजसम्मका राजनीतिक पार्टीहरूको प्राण पखेरु नै यसरी सरकारी बजेट लुटपाट गर्नेहरूमै अडेको छ । उनीहरू आज जुन अवस्थामा छन्, त्यसको मूल कारण उनीहरूले यसरी जनताको ढुकुटीमा लुटपाट गर्ने भ्रष्टलाई काखी च्यापेका छन् वा छुट दिएका छन् । जबसम्म शासक दलले आफैं भ्रष्टाचारमुक्त बन्ने नैतिक साहस देखाउँदैनन्, तबसम्म यसरी जनताको रगत पसिनामा होली खेल्ने हृदयहीनहरूका भ्रष्ट प्रवृत्तिले प्रश्रय पाइरहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *