भर्खरै :

नतिजा प्रकाशन गर्ने प्रणालीमा परिवर्तन नगरिए त्रुटी दोहरिन्छ

-प्रकृति अधिकारी
नेपालको समाजिक सञ्जाल कता जाँदैछ ? अनि पत्रकारहरूले पनि तथ्य नबुझेर लेखेको देख्दा नरमाइलो लाग्ने रहेछ । सन्दर्भ, २०७४ सालको एसईई परीक्षाको नतिजाका कारण झापाकी सलिना ढकालले आत्महत्या गरेको भनी सामाजिक सञ्जालमा भएको भाइरल र त्यसका आधारमा पत्रकारहरूले लेखेको समाचार ।
कुनै व्यक्तिले गरेको पोस्टमा सलिनाले बी ग्रेड (२.८० जीपीए) ल्याएको, तर पछि पनिकाले नतिजा सच्याउँदा एप्लस ग्रेड (३.७५ जीपीए) ल्याउन सफल भएकी भन्दै पनिकाको गल्तीले गर्दा आत्महत्या गरिएको भन्ने खालको कुरा लेखिएको थियो । यो तथ्य बुझ्न आज म पनिकाको कम्प्युटर शाखाभित्र प्रवेश गरे । सिम्बोल नम्बर “०८०००६२ पी’’ भएकी सलिनाले झापा बिर्तामोड चारपाने (१ स्थित बाल्मीकि एजुकेशन फाउण्डेसनबाट परीक्षा दिएकी थिइन् । पनिकाले पहिले सार्वजनिक गरेको नतिजा र पछि संशोधन गरेको नतिजा दुवै हेरे । पुरानो जीपीए पनि २.८ रहेछ र नयाँ पनि २.८ रहेछ । उनले प्राप्त गरेका हरेक अड्ढ र ग्रेड हेरे । उनी सामान्य विद्यार्थी रहेको मेरो ठम्याइ । उनले के कति कारणले आत्महत्या गरिन्, त्यो परिवारजनबाटै थाहा होला, तर संशोधन गर्दा ग्रेड वृद्धि भएको देखिएन । गोपनीयताका कारण उनको जन्म मिति यहाँ लेख्न मेरो नैतिकताले दिएन ।
एसईई नतिजा प्रकाशनमा भएको त्रुटीका बारेमा छानबिन गर्न गठित समितिले हिजो प्रतिवेदन पनि बुझाएको छ । प्रतिवेदनमा नतिजा संशोधन गर्दा कुनै पनि विद्यार्थीको प्राप्ताङ्क (प्रतिशत) मा परिवर्तन नभएको, तर ग्रेड र जीपीएमा मात्र परिवर्तन भएको उल्लेख छ । उत्तरपुस्तिका परीक्षणपछि प्राप्त गर्ने प्रतिशतका आधारमा ग्रेडमा रुपान्तरण गर्ने पद्धति हो । यसरी जीपीए परिवर्तन हुँदा विद्यार्थीको बढीमा ०.४ जीपीएसम्ममात्र बढ्नसक्ने तथ्यलाई प्रतिवेदनले नै उजागर गरेको छ । त्यसैले जसको जीपीए बढेको छ उसको बढीमा ०.४ सम्ममात्र वृद्धि भएको देखियो । प्रतिवेदनमा हालको नतिजा प्रकाशन गर्ने प्रणालीमा परिवर्तन नगरिए आगामी वर्षहरूमा पनि त्रुटी पुनः हुनसक्नेतर्फ सचेत गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *