भर्खरै :

टाइफाइडका बिरामी बढे

– कल्पना पौडेल
काठमाडौं १९ असार । वर्षायामको सुरुआतमा टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेका हुन् ।
गत वर्षको वर्षायामको सुरुआतमा भन्दा अहिले टाइफाइडका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रयोगशाला प्रमुख परमान्द भण्डारीले बताउनुभयो ।
गत वर्ष हैजाका बिरामी टेकुमा आएका थिएनन् तर यस वर्ष वर्षायामको सुरुआतमा नै तीन जनामा हैजा देखिएको बताउनुभयो । वर्षायाम सुरु भएकोले यो सङ्ख्या बढ्न सक्ने अस्पतालको भनाइ छ ।
टेकु अस्पतालमा आएका बिरामीमा आउँका बिरामी भने गत वर्षभन्दा कम देखिएका छन् ।
वर्षा हुने समय सुरु भएकोले सरुवा रोगका बिरामी अझै बढ्न सक्ने अनुमान अस्पतालको छ । गर्मीयाममा पानीको अभाव हुनु, वर्षाका कारण पानीका मुहान दूषित भएको पानी पिउँदा र खानाका कारण बिरामीको सङ्ख्या बढेको हुनसक्छ । यो सङ्ख्या शिक्षण, वीर र पाटन अस्पतालमा पनि बढेको बताइएको छ ।
वीर अस्पतालका प्रयोगशाला विभागका प्रमुख डा. हरिशचन्द्र उप्रेतीले हेपाटाइटिस ए, सी र ई तथा पखालाका बिरामी पनि आइरहेको बताए । यस वर्ष जेठ र असार १५ सम्म वीर अस्पतालको प्रयोगशालाबाट हेपाटाइटिस ई जाँच गराएका २५ बिरामीमध्ये नौ जनामा हेपाइटिस ई देखिएको थियो । उनले भने, “धेरैजसो पानीजन्य रोगका बिरामी टेकु जाने भएकाले हामीकहाँ कम सङ्ख्यामा आउने गर्छन् ।”
निरन्तर वर्षाका कारण पानी, कीट र हावाजन्य रोगको जोखिम बढेको छ । वर्षाका कारण पानीका मुहान् दूषित हुने हुँदा पानी उमालेरमात्र पिउन चिकित्सकले सुझाएका छन् ।
दूषित पानी, हावा र खानाबाट सर्ने टाइफाइड, हैजा, आउँ, पखाला र रुखाखोकी छिटो एकबाट अर्को व्यक्तिमा सर्ने रोग हो । समयमा उपचार नभए यस्ता रोगले ज्यानसमेत लिनसक्छ । बान्ता हुने, पातलो दिसा हुने र जीउ शिथिल हुने लक्षण देखिने हैजा रोग ब्याक्टेरियाबाट सर्ने गर्दछ ।
यसबाट बच्न स्वच्छ पानी, सफा शौचालय प्रयोग गर्ने, सफा, ताजा खानेकुरा खाने र साबुनपानीले हात धुने गर्नुपर्ने डा. पुनको भनाइ छ ।
अस्पतालमा आउने बिरामीलाई हेर्दा हैजा र पखालाका बिरामीको सङ्ख्या बढ्नुको मुख्य कारण दूषित पानी भएकोले पानीमा सचेतता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।
उपत्यकामा हैजाको जोखिम सधैं रहने गरेको छ । हैजा, पखालासँगै हेपाटाइटिस ए, टाइफाइडजस्ता सरुवा रोगको पनि यो समयमा उच्च जोखिम हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *