भर्खरै :

थोमस सङ्काराका हत्या गर्न नसकिने विचार

-नीरज
विश्वको राजनीतिक इतिहासमा त्यस्ता केही मानिस छन्, जो निकै थोरै समय बाँचे तर जति बाँचे, प्रत्येक पललाई मूल्य दिएर गए । त्यस्ता बिरालाकोटी व्यक्तित्वमा पर्छन्–थोमस सङ्कारा । बुर्किना फासो नेपालमा त्यत्ति सुनिएको नाम होइन । धेरैलाई बुर्किना फासो पश्चिमी अफ्रिकी देशको नाम हो भन्ने पनि थाहा नहुन सक्छ । विश्व भूगोल र राजनीतिक इतिहासमा अभिरुचि राख्ने गम्भीर अध्येताहरूलाई थाहा हुनुपर्दछ–बुर्किना फासो कुनै बेला फ्रान्सको उपनिवेश थियो र त्यत्तिबेला त्यो देशको नाम माथिल्लो भोल्टा (अप्पर भोल्टा) थियो । त्यही बुर्किना फासोका क्रान्तिकारी नेता हुन्–थोमस सङ्कारा ।
सङ्कारा सन् १९८३ देखि १९८७ सम्म बुर्किना फासोका प्रधानमन्त्री थिए– चार वर्ष । सन् १९८७ मा उनको हत्या भयो । इतिहासमा चार वर्षको अवधि समयको बुँदमात्र हो । तर सङ्काराले यही समयको बुँदमा विराट इतिहास निर्माण गरे । ३८ वर्षसम्म मात्र बाँचेर अफ्रिकी इतिहासमा गौरव निर्माण गर्न उनी सफल भए । सङ्कारा माक्र्सवादी थिए । उनी बुर्किना फासोमा समाजवादी बन्दोबस्त लागू गर्न चाहन्थे । तर उनको त्यही चाहना अफ्रिकी प्रतिक्रियावादी र युरोपेली उपनिवेशवादीको निम्ति सह्य भएन । उनको हत्या भयो । उनीहरूले सङ्काराको हत्या गरे पनि उनका विचारलाई भने दबाउन सकेनन् । उनका तिनै विचारलाई संसारसमक्ष प्रकाशित गरेको छ–पाथफाइन्डर प्रकाशनले ।
पाथफाइन्डर प्रकाशनले सन् २००२ मा पहिलो पटक सङ्कारामा पाँच वटा भाषणहरू समेटेर ‘हामी विश्व क्रान्तिका उत्तराधिकारी हौं’ नामको पुस्तक प्रकाशन ग¥यो । सन् २०१६ मा त्यसको तेस्रो संस्करण प्रकाशन भयो । सङ्कारा र उनका विचारलाई समग्रतामा बुझ्न पाँच मन्तव्य उपयोगी छन् । पहिलो भाषण सङ्काराले सन् १९८३ को अक्टोबर २ मा बुर्किना फासो (त्यत्तिबेलासम्म माथिल्लो भोल्टा) का जनताको नाममा सम्बोधन गरिएको मन्तव्य हो । त्यसमा मूलतः उनले तात्कालीन बुर्किना फासोका समस्या र चुनौतीबारे जनतालाई अवगत गराउँदै आफ्नो नेतृत्वको सरकारका कार्यक्रमबारे चर्चा गरेका छन् । उनले माथिल्लो भोल्टाका पुँजीपति वर्गअन्तर्गत राज्य पुँजीपति, व्यापारिक पुँजीपति र मध्यम पुँजीपति तथा सामन्ती प्रतिक्रियावादी वर्ग नै त्यहाँको क्रान्तिको शत्रु भएको विश्लेषण गरेका छन् । त्यस्तै भोल्टाका मजदुर वर्ग, निम्न पुँजीपति वर्ग, किसान तथा कुनै विशेष काम नभएका अवारा जनसमुदाय भोल्टाली क्रान्तिका मित्र भएको वर्गीकरण गरेका छन् । उनले सन् १९८३ को अगस्टमा भएको क्रान्ति माथिल्लो भोल्टामा अर्को एउटा शासन स्थापना गर्ने क्रान्तिमात्र नभई अघिका सबै शासनको सिलसिला तोड्ने क्रान्ति भएको यथार्थ भोल्टाली जनतालाई बुझाउन आफ्ना विभिन्न कार्यक्रमबारे प्रकाश पारेका छन् । उनले राजनीतिक व्यवस्था, अर्थतन्त्र, भूमिसुधार, युवा रोजगारी, सामाजिक सेवा क्षेत्रमा प्रस्तुत गरेका कार्यक्रम समाजवादी व्यवस्था स्थापनाको आधार थिए ।
सङ्काराले अगस्ट क्रान्ति अघिका सरकारले राज्यकोषको ब्रह्मलुट गरिरहेको तथ्य जनतासमक्ष प्रस्तुत गर्दै आफ्नो मन्तव्यमा भने–‘उनीहरू (अघिका शासक) का त्यस्तो कुनै वर्ष हुन्थेन जुन वर्षमा उनीहरूले विदेशमा महँगा बिदा नमनाएका हुन् । उनीहरूका छोराछोरी देशभित्रका विद्यालयहरू छोडेर विदेशका सुविधासम्पन्न विद्यालयहरूमा पढ्न जान्थे । सानोभन्दा सानो रोगको उपचारको लागि उनीहरू राज्यकोष खर्च गरेर विदेशका महँगा अस्पतालहरूमा महँगा उपचार गर्थे ।’ यो अनुच्छेद पढ्दा नेपाली पाठकलाई नेपालको वर्तमान अवस्थाको स्मरण हुनु स्वाभाविक हो । बुर्किना फासोमा सङ्काराको नेतृत्वमा अगस्ट क्रान्ति हुुनुअघिको परिस्थिति आजको नेपालको परिस्थितिसँग मिल्दोजुल्दो भएको पाउँछौं । तर आजको यो अवस्थालाई सङ्काराले जस्तै परिवर्तन गर्न भने नेपालमा आफूलाई ‘वामपन्थी’ भन्ने सरकार असफल भएको देख्दैछौं अर्थात् नेपालमा आफूलाई वामपन्थी भन्दै चिच्याउने सरकार वास्तवमा वामपन्थी हो वा होइन भन्ने बुझ्न अथवा साँचो वामपन्थी सरकारको आर्थिक र राजनीतिक कार्यक्रम कस्तो हुन्छ भन्ने कुराको सन्दर्भ सामग्री सङ्काराको मन्तव्यलाई लिन सकिन्छ ।
९० प्रतिशत मानिस निर्भर रहेको कृषि क्षेत्र पछौटे भएका कारण तात्कालीन माथिल्लो भोल्टाको कूल गार्हस्थ उत्पादनमा कृषिको योगदान जम्मा ४५ प्रतिशतमात्र थियो । १६.४ प्रतिशत बालबालिकामात्र विद्यालय जान्थे । निरक्षरता दर ९२ प्रतिशत थियो । प्रत्येक एक सय जना भोल्टाली जनतामध्ये आठ जनाले मात्र पढ्न–लेख्न जान्दथे । ४८ हजार भोल्टाली जनतालाई एक जनामात्र चिकित्सकको बन्दोबस्त थियो । १२ सय भोल्टाली जनताबराबर एउटा अस्पतालको बेड थियो । सरकारको कूल बजेटको ७० प्रतिशत कर्मचारीको तलबमा खर्च हुने अवस्था थियो । सरकारको आम्दानीको ८५ प्रतिशत भन्सारबाट आउँथ्यो । भन्सार नै सरकारको प्रमुख आम्दानी हुनु देशको दिगो आर्थिक विकासको लागि राम्रो सड्ढेत हुने गर्दैन । माथिल्लो भोल्टाको कूल आयातको मात्र २५ प्रतिशत निर्यात थियो । यस्तो विकराल अवस्थामा अगस्ट क्रान्ति भएको थियो र सङ्कारा नेतृत्वको नयाँ सरकार यही अवस्थामा आमूल परिवर्तनको लक्ष्यसहित बनेको थियो । सङ्कारा आफैं पनि सैनिक पृष्ठभूमिबाट आएका हुनाले उनले सेनालाई पनि देशको आर्थिक र राजनीतिक प्रक्रियामा सहभागी बनाउने कार्यक्रम प्रस्तुत गरेका थिए । सेनाको भूमिका प्रतिक्रियावादी सेनाको जस्तो जनतामाथि शोषण गर्ने र राज्यको ढुकुटी सकाउनेमा सीमित नराखी जनताको सेवा र देशको विकासमा सेनाको परिचालनको पक्षमा सेनाको क्रान्तिकारी भूमिकाबारे सङ्काराले वकालत गरेका छन् ।
महिलालाई सामन्ती उत्पादन सम्बन्धले मात्र घरेलु चौघेरा तथा परम्परागत चिन्तनभित्र कैद राखेको अवस्थामा महिलालाई सामाजिक आन्दोलनको अग्रदस्ता बनाउन सङ्काराले विभिन्न कार्यक्रम प्रस्ताव गरेका थिए । ‘स्वतन्त्रता जस्तै महिला सशक्तीकरण कसैको निगाहा हुनसक्दैन, बरु यसलाई छिनेर लिनसक्नुपर्दछ ।’ उनले भने । आफ्नो मन्तव्यमा सङ्काराले आफ्नो सरकारको विदेश नीति, सामाजिक परिवर्तनका मुद्दा आदिबारे विस्तृत चर्चा गरेका छन् ।
पुस्तकमा समावेश सङ्काराको दोस्रो भाषण सन् १९८४ अक्टोबर ४ मा संयुक्त राष्ट्र सङ्घको महासभामा दिइएको थियो । उनले त्यसमा उपनिवेशवादको जाँतोमा पिल्सिएको बुर्किना फासो र त्यो उत्पीडनको सिक्रीबाट मुक्त हुन भोल्टाली जनताले गरेको सङ्घर्षबारे चर्चा गरेका छन् । उनले उपनिवेशवादको विरोध गर्दै तेस्रो विश्वका देशमा भइरहेका जनसङ्घर्षप्रति ऐक्यबद्धता व्यक्त गरे । ‘हामी विश्वका विभिन्न भागमा भइरहेका क्रान्तिहरूका उत्तराधिकारी बन्न चाहन्छौं । तेस्रो विश्वका जनताको सबै मुक्ति आन्दोलनका हामी अङ्ग हौं ।’
उनले संरा सङ्घमा अफ्रिकी महादेशबाट कुनै पनि देशलाई भिटो अधिकार नदिनु अन्यायपूर्ण भएको भन्दै प्यालेस्टाइनमाथि इजरायली हस्तक्षेप र कब्जाको विरोध गरेका छन् । तात्कालीन दक्षिणी अफ्रिकी रङ्गभेदी सरकारको विरोध गर्दै उनले नेल्सन मण्डेला नेतृत्वको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।
पुस्तकमा समावेश बाँकी तीन मन्तव्य विभिन्न विषयका छोटा छोटा छन् । पश्चिम अफ्रिकी देश बुर्किना फासो सहारा मरुभूमिसँग नजिकको देश हो । सन् १९८६ फेबु्रअरी ५ मा पेरिसमा आयोजित रुख र जङ्गल संरक्षणको लागि प्रथम अन्तर्राष्ट्रिय सिल्भा सम्मेलनमा सङ्काराले दिएको भाषणमा उनले साम्राज्यवादी देशले गर्ने प्रकृतिको दोहनकै कारण सभाना जङ्गलको संरक्षणमा चुनौति भएको र मरुभूमीकरण विस्तार भइरहेको चर्चा गरेका छन् ।
चौथो भाषण सन् १९८६ मा पेरिसमा आयोजित फ्रेन्च भाषा बोल्नेहरूको प्रथम सम्मेलनको मन्तव्य हो । उनले फ्रान्सेली भाषा बुर्किना फासोमा उपनिवेशवादी भाषाको रुपमा प्रवेश गरे पनि यही भाषामार्फत बुर्किनाका जनताले क्रान्तिको भावना पनि सिकेको चर्चा गरेका छन् । उनले शासक वर्गविरुद्ध क्रान्ति गर्न शासक वर्गकै भाषा उपयोग गरेको बुर्किना फासोको अनुभवको बारे चर्चा गरे ।
अन्तिम भाषण भने विशेष छ । चे ग्वेभाराको हत्या भएको बीस वर्षपछि बुर्किना फासोको राजधानी ओगाडोगामा आयोजित चे ग्वेभारासम्बन्धी प्रदर्शनमा उनले दिएको भाषण नै पाँचौं भाषण हो । चेका छोरासमेत सम्मिलित क्युवाली प्रतिनिधिमण्डलको बीचमा सङ्काराले सो भाषण गरेका थिए । उनले चेको गौरवशाली जीवनबारे चर्चा गर्दै साम्राज्यवादीहरूले कोही पनि क्रान्तिकारीको हत्या गर्दैमा क्रान्तिकारी विचारको हत्या गर्न नसक्ने र क्रान्तिकारी विचारका उत्तराधिकारीहरू जन्मिरहने भावना व्यक्त गरेका छन् ।
यो भाषण लिखित भाषण थिएन । तर त्यो कार्यक्रममा पाथफाइन्डरका एक जना प्रतिनिधि पनि सहभागी थिए । उनले मञ्चबाट निकै परबाट सङ्काराको सो भाषण रेकर्ड गरेका थिए । त्यही रेकर्ड नै पछि उतारेर प्रकाशनमा ल्याइएको थियो । यो भाषण दिएको एक सातापश्चात् सङ्काराको हत्या भएको थियो ।
भौगोलिकरुपमा अफ्रिका नेपालबाट टाढा होइन, राजनीतिक चेतनास्तर र सांस्कृतिक गतिविधिका आधारमा पनि निकै टाढा भएको कुरा अफ्रिकी इतिहास र साहित्य नेपालका बजारमा कम मात्रामा उपलब्ध हुनुले पनि पुष्टि गर्दैछ । अफ्रिकी नेतामध्ये नेल्सन मण्डेलाबाहेक अरू नचिन्ने अवस्थामा छ–नेपालको बौद्धिक वृत्त । हामीसँग थोमस सङ्काराबारे न्यूनातिन्यून जानकारीमात्र छ । यस्तो अवस्थामा नेपाल आएका पाथपाइन्डरका प्रतिनिधिहरूले बोकेर ल्याएको यो पुस्तक वास्तवमा अफ्रिकी हिरा नै हो ।
थोमस सङ्काराजस्ता धेरै क्रान्तिकारीहरूको संसारभर हत्या भएको छ । चिलीका साल्भाडोर एलेण्डेदेखि अल्जेरियाका बेन बेल्लासम्म, दक्षिण अफ्रिकाका क्रिस हानीदेखि कङ्गोका पेट्रिस लुम्बुम्बासम्मको हत्या गरेर साम्राज्यवाद र उपनिवेशवादले अफ्रिकामा क्रान्तिकारी जनसङ्घर्ष र समाजवादको बीज नष्ट गर्न खोजे । तर सङ्काराले भनेजस्तै व्यक्ति मर्न वा मारिन सक्छ, तर विचार सधैं जिउँदो रहन्छ । आज अफ्रिकामा फेरि पनि साम्राज्यवादविरोधी जनआन्दोलन जारी नै छ । अफ्रिका असभ्यताको कालो महादेश होइन, विद्रोहको कालो रङ्ग बोकेको जनसङ्घर्षको गौरवसाथ अघि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *