भर्खरै :

संरा अमेरिकाको ‘डाँका शैली’ प्रति प्रजग कोरियाको आपत्ति

प्योङयाङ, ८ जुलाई । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले शुक्रबार र शनिबार प्योङ्गयाङ्गमा भएको दुई पक्षीय वार्तामा संरा अमेरिका ‘डाँका शैली’ मा प्रस्तुत भएको भन्दै विरोध जनाएको छ । आणविक निःशस्त्रीकरण गर्न दबाब दिंदै संरा अमेरिकाले डकैतीको सोचमा व्यवहार गरेको प्रजग कोरियाले जनाएको छ ।
संरा अमेरिकी विदेशमन्त्री माइक पोम्पो प्योङ्गयाङ्गबाट स्वदेश फर्केलगत्तै प्रजग कोरियाली विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा पछिल्लो विकासक्रमले ‘आणविक निःशस्त्रीकरणको हाम्रो अदम्य चाहनालाई हल्लाइदिएको’ उल्लेख छ ।
प्रजग कोरियाले संरा अमेरिकाको यस्तो व्यवहार ‘दुःखद्’ भएको जनाएको छ ।
यसअघि प्रजग कोरियाका सर्वोच्च नेता किम जङ्ग उनले संरा अमेरिकी विदेशमन्त्री पोम्पोलाई उनका दुवै प्योङ्गयाङ्ग भ्रमणको क्रममा भेटेका थिए । तर यो पटक किमले पोम्पोलाई भेट्न अस्वीकार गरेका थिए । पोम्पोलाई भेट्नुको सट्टा किमले संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गएको महिना सिङ्गापुरमा दुई नेताबीच भएको ऐतिहासिक शिखर सम्मेलनको क्रममा बनेको विश्वासको वातावरण कायम राख्न भन्दै पत्राचार गरेका थिए ।
प्रजग कोरियाली विदेश मन्त्रालयका एक प्रवक्ताले शुक्रबार र शनिबार भएको बैठकमा प्रजग कोरियाली पक्षले सन् १९५०–५३ मा भएको कोरिया युद्धको औपचारिक अन्त्यको घोषणा गर्ने र त्यसपछि आणविक निःशस्त्रीकरणको प्रक्रिया अघि बढाउने प्रस्ताव गर्दा संरा अमेरिकाले प्रजग कोरियालाई विस्तृत, प्रमाणिक र अप्रतिगामी आणविक निःशस्त्रीकरणको कुरामा मात्र ढिपी कसिरहेको थियो ।
‘वार्तामा प्रजग कोरियाली पक्षले प्रजग कोरिया–संरा अमेरिकाबीचको शिखर सम्मेलन र वार्ताको क्रममा भएका सहमतिका बिन्दु र कार्यान्वयनको भावनाप्रति इमानदार रही संयुक्त वक्तव्यका सबै प्रावधानको सन्तुलित कार्यान्वयनका लागि रचनात्मक प्रस्ताव अघि सारेको थियो ।’, प्रवक्तालाई उद्धृत गर्दै प्रजग कोरियाली आधिकारिक समाचार संस्था केसीएनएले जनाएको छ ।
प्रजग कोरियाली प्रस्तावमा प्योङ्गयाङ्ग र वाशिङ्गटनबीच सम्बन्ध सुधार गर्न बहुपक्षीय भ्रमण गर्ने, कोरियाली प्रायःद्विपमा शान्ति स्थापना गर्न कोरियाली युद्धविराम सहमति भएको ६५ वर्षको अवसरमा युद्ध अन्त्यको सन्धि गर्ने आदि समावेश छन् । प्योङ्गयाङ्गले आफ्नो प्रस्तावमा आणविक निःशस्त्रीकरणको प्रक्रियाको सुरूवातको रूपमा अन्तरबालास्टिक मिसाइल कार्यक्रम बन्द गर्न तिनका परीक्षणस्थल ध्वस्त गर्ने प्रस्ताव गरेको छ । प्रजग कोरियाले कोरिया युद्धको क्रममा मारिएका संरा अमेरिकी सिपाहीका बाँकी अवशेष फिर्ता पठाएर संवादको पहल गरेको थियो ।
‘तर संरा अमेरिकी पक्ष आणविक निःशस्त्रीकरणको एकपक्षीय र डाँका शैलीको माग लिएर आएको देखियो । उनीहरूले त्यही विस्तृत, प्रमाणिक र अप्रतिगामी आणविक निःशस्त्रीकरणको रटान दोहो¥याइ रहे । तर कोरियाली प्रायःद्वीपमा शान्ति स्थापना कसरी गर्ने भन्ने विषयमा एक शब्द पनि बोलेनन् ।
प्रजग कोरियाले कोरिया युद्धको अन्त्यसम्बन्धी सन्धिमा संरा अमेरिकाले हस्ताक्षर गर्नुलाई प्रायःद्विपमा युद्धको खतरा अन्त्य गर्ने र प्रजग कोरिया–संरा अमेरिकाबीचको सम्बन्धमा सुधार गर्ने आधारको रूपमा लिएको छ ।
प्रजग कोरियाली प्रवक्ताले उच्चस्तरीय वार्ताले ‘प्रजग कोरिया र संरा अमेरिकाबीच आपसी विश्वास बढाउनुको सट्टा हाम्रो अदम्य विश्वासमा आँच पु¥याउने काम गरेर खतरनाक अवस्था निम्त्याएको’ बताए ।
प्रवक्ताले संरा अमेरिकी विदेशमन्त्रीले आवश्यकताभन्दा बढी नै गत अगस्टमा संरा अमेरिका र दक्षिण कोरियाबीच हुने भनिएको संयुक्त सैनिक अभ्यासको स्थगनको कुरा दोहो¥याइरहेको तर प्रजग कोरियाले पङ्यु रि आणविक परीक्षण स्थल भत्काएको कुरालाई कम महत्व दिएको भन्दै आपत्ति जनाए ।
संरा अमेरिकी विदेशमन्त्री पोम्पो बिहीबार प्योङ्गयाङ्ग पुगेका थिए । पोम्पोले वार्तापछि पत्रकारहरूलाई संवाद निकै उपलब्धिमूलक भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *