भर्खरै :

चाँगु नपामा अर्को कर ठेक्का, उद्योगीहरूको विरोध, बोटल र जारको पानी बन्द

भक्तपुर, १ साउन । चाँगुनारायण नगरपालिकाले बोटल र जारको पानीमा पटके कर उठाउन निजी क्षेत्रलाई ठेक्का दिएको विरोधमा स्थानीय व्यवसायीहरूले बजारमा पानी पठाउन बन्द गरेका छन् । चाँगुनारायण नपाले मङ्गलबारदेखि प्रति जार रु. एक र प्रति बोटल दस पैसा बराबर कर उठाउन भगवती कन्स्ट्रक्सनलाई ठेक्का दिएको छ । स्थानीय तहलाई सिधै आम्दानी हुने क्षेत्र निजी कम्पनीलाई ठेक्का दिएर कर उठाएकोमा उनीहरूले विरोध गर्दै पटक पटक चाँगुनारायण नपाका प्रमुखलाई ध्यानाकर्षण गराएका थिए । व्यवसायीहरूले असार २६ गते निजी क्षेत्रलाई कर उठाउन दिने टेण्डर खारेज गरी नगरपालिकाले स्वंयले एकमुष्ठ कर उठाउन माग गर्दै मेयरलाई ज्ञापन पत्र बुझाएका थिए । तर नगरप्रमुखले आफ्नो मागप्रति बेवास्ता गरेको व्यवसायीको भनाई छ ।
‘हामीले पहिले पनि कर तिरेका थियौं । आगामी दिनमा पनि कर तिर्न तयार छौं । तर हामीले तिरेको कर नगरपालिकाको कोषमै जम्मा होस् र त्यो पैसा विकास निर्माणमा खर्च होस्, कोही ठेकेदारको पेवा नबनोस् भन्ने हाम्रो माग हो ।’,नेपाल बोटल वाटर उद्योग सङ्घ भक्तपुरका क्षेत्रीय संयोजक राम सुवालले भन्नुभयो ।
विशेषतः भक्तपुर जिल्लाको उत्तर क्षेत्र साविकका दुवाकोट, झौखेल र चाँगुनारायण क्षेत्रमा पानीको भूमिगत मुहानहरू छन् । सो क्षेत्रमा दर्ता भएका १३ पानी कारखानामध्ये हाल ११ वटा सञ्चालनमा छन् ।
‘हामीले कर नउठाउन भनेका छैनौं । कर नगरपालिकाले नै उठाओस् र हरेक दिन ढाट राखेर नभई वर्षको एकमुष्ठ उठाओस् भनिरहेका छौं ।’, उद्योगीहरूको भनाई छ ।
उद्योगीहरूले गाविस हुँदा वार्षिक ६ हजार तिर्दै आएका थिए । नगरपालिका घोषणा भएपश्चात वार्षिक २० हजार तिर्ने निर्णयअनुसार सहमति जनाउँदै आएका छन् । नगरपालिकाले यसअघि पनि पानी भरिएका प्रति मिनिट्रक रु.२००, प्रति निसान गाडी रु. १५० र प्रति ट्र्याक्टर रु.५० पटके शुल्क उठाउँदै आएको छ ।
नगरपालिकाले आफ्नो माग सुनुवाई नगर्दासम्म बजारमा बोटल र जारको पानी नपठाउने उद्योग सङ्घका संयोजक तथा व्यवसायी सुवालले भन्नुभयो ।
यसअघि नगरकोट आउने पर्यटकसँग शुल्क उठाउने ठेक्का निकै कम दरमा निजी कम्पनीलाई दिएका कारण पनि चाँगुनारायण नपाको विरोध हुँदैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *