भर्खरै :

उपेक्षित दराजमा भेटिएको उपेक्षित व्यक्तिबारे उपेक्षित पुस्तक

नीरज
भारतका पुराना नेतामध्ये विराट व्यक्तित्व र भूमिका भएर पनि कमै चर्चा हुने गरेको नेता हुन्–मौलाना आजाद । उनको पुरा नाम हो–मौलाना अब्दुल कलाम आजाद । भारतीय स्वतन्त्रता आन्दोलनका उनी एकजना नेता थिए । उनी भारतीय स्वतन्त्रता आन्दोलनको नेतृत्व गरिरहेको भारतीय काङ्ग्रेसको सन् १९२३ मा अध्यक्ष बने । त्यत्तिबेला उनी ३२ वर्षका थिए । तर उनको बौद्धिकताबाट त्यत्तिबेलाको भारत प्रभावित थियो । १६ वर्षको उमेरमा उनी उर्दू भाषाको अल हलाल नामको अखबारका सम्पादक थिए । त्यो अखबार सामान्य अखबार थिएन । त्यसअघिसम्म भारतका मुसलमान समुदायले बेलायती सरकारलाई सहयोग गर्ने नीति लिएको थियो । मुसलमान नेताहरू बेलायती उपनिवेशवादी शासककै पक्षधर मानिन्थे । भारतको स्वतन्त्रता आन्दोलनको केन्द्रमा मुसलमान नेताहरू कोही पनि थिएनन् । तर मौलाना आजादले सम्पादन गरेका पत्रिकामा भारतको स्वतन्त्रता आन्दोलनमा मुसलमान समुदायको दायित्वबारे प्रकाशित लेख नै स्वतन्त्रता आन्दोलनमा उनीहरूको भूमिकाको पृष्ठभूमि बन्यो ।
मौलाना आजाद कम उमेरमै मुसलमान धर्मग्रन्थका विशिष्ट ज्ञाता थिए । उनीभन्दा उमेरले निकै पाका विद्वान्हरू सहभागी हुने सभासमारोहमा समेत कुरानबारे प्रवचन दिन बोलाइँथे । एकपल्ट भारतकै एकजना विद्वान्ले मौलाना आजादलाई आफ्नो घरमा आमन्त्रण गरे । निमन्त्रणा स्वीकारेर मौलाना आजाद घरमा पुग्दा तिनी विद्वान्ले भनेछन्, “मैले मौलाना आजादलाई बोलाएको हुँ । किन उहाँले भ्याउनुभएन र ! छोरा पो पठाउनुभयो त ।” त्यसकारण पनि मौलानालाई ‘समत्न्दा अघिको मानिस’ भनिन्थ्यो ।
भारतको स्वतन्त्रतापछि उनी शिक्षामन्त्री बने । बेलायती उपनिवेशले जग बसालेको भारतमा स्वतन्त्र भारतको शिक्षाको शिलान्यास गर्नु त्यत्ति सहज कुरा थिएन । उत्तिबेला कतिपय मानिस भारतमा अङ्ग्रेजी भाषालाई पूर्णतः बन्देज लगाउनुपर्ने कुरा गर्थे । त्यस्तो प्रस्ताव लिएर आउने अधिकांश मानिस बेलायतबाट उच्च शिक्षा हासिल गरेका मानिस थिए । मौलाना आजादको शिक्षा अङ्ग्रेजी माध्यमबाट थिएन । ‘परम्परागत शिक्षा प्रणाली’मा उनले शिक्षा हासिल गरे । तर उनी त्यो प्रस्तावसँग उनी सहमत भएनन् । उनले अङ्ग्रेजी भाषालाई बन्देज गरेनन् ।
मौलानाले आफू शिक्षामन्त्री भएको बखत भारतलाई प्राविधिक तथा गैरप्राविधिक दुवै पक्षको शिक्षामा जोड दिए । मानवतावादी शिक्षालाई उनले आफ्नो प्राथमिकतामा राखे ।
उनी स्वयं एकजना लेखक हुन् । भारतको उर्दू साहित्यमा धेरै चरण र युग छन् । त्यसमध्ये एउटा यस्तो युग पनि छ जसमा एक्लो मौलाना आजाद भएको विश्वास गरिन्छ । अर्थात मौलाना आजाद आफै भारतको उर्दू साहित्यका एक युग हुन् । तथापि संसारलाई उनी र उनका कृतिबारे कमैमात्र जानकारी छ ।
त्यसका दुई कारण हुन सक्छन्–पहिलो, उनका अधिकांश कृति उर्दूमा छन् र तिनको अरु भाषामा कमै मात्र अनुवाद हुन सक्नु । उनी विशिष्ट कवि मानिन्छन् र ती कविता अरु विभिन्न भाषामा अनुवाद हुन नसकेका कारण पनि संसारले उनलाई चिन्न पाएन । दोस्रो कारण राजनीतिक हुनसक्छ । उनी काङ्ग्रेसका प्रमुख नेतामध्ये त थिए । तर महात्मा गान्धी, जवाहरलाल नेहरूलगायत काङ्ग्रेसका प्रमुख नेताहरूसँग मौलानाका धेरै विषयमा विमति थिए । ‘इण्डिया विन्स फ्रिडम’ मौलाना आजादको सबभन्दा चर्चित कृति हो । त्यो कृति उनको आत्मसंस्मरणात्मक पुस्तक हो । त्यो पुस्तक उनको निधनपश्चातमात्र प्रकाशित गरिएको थियो । त्यो कृतिमा उनले महात्मा गान्धी र विशेषतः जवहारलाल नेहरूले गरेका कमी कमजोरीका कारण भारतलाई बेलायती उपनिवेशवादीले विभाजन गर्न सफल भएको प्रष्ट्याएका छन् ।
मौलाना आजादबारे निकै कम मात्र पुस्तक उपलब्ध छन् । ‘इण्डिया विन्स फ्रिडम’ आजभोलि नयाँ संस्करण छापिएको देखिंदैन । उनको जीवन र कृतित्वबारे भारत सरकारको सूचना तथा सञ्चार मन्त्रालय प्रकाशन विभागद्वारा प्रकाशित ‘मौलाना आजाद’ एक श्रद्धासुमन नामको पुस्तक मौलानाबारे जानकारीमूलक पुस्तक हो । त्यो पुस्तकमा मौलानाको तात्कालीन नेतृत्वप्रतिको आलोचनात्मक दृष्टिकोणबारे केही चर्चा गरिएको छैन । तथापि उनको बौद्धिक विशिष्टता, लेखकीय व्यक्तित्व, व्यवहारशैली, शिक्षा क्षेत्रमा उनका योगदान, उनको देहवसानपश्चात तात्कालीन भारतीय नेताहरूले दिएका श्रद्धाञ्जली सन्देश, पत्रपत्रिकामा प्रकाशित उनीसम्बन्धी लेखले यो पुस्तकलाई महत्वपूर्ण कृति बनाएको छ । पुस्तकमा मौलानाका विभिन्न चरणका तस्वीरहरू समेत समावेश हुँदा अझ पठनीय बनेको छ ।
सामान्यतः पुस्तक पसलमा भेटाउन नसकिने यस्ता पुस्तक पुस्तकालयका सबभन्दा उपेक्षित दराजमा लामो समयदेखि चुपचाप आफ्नो पालोको प्रतीक्षा गरी बस्ने गर्छन् । चहकिलो गाता र उज्याला अक्षरमा रमाउने पाठकलाई यस्ता पुस्तकभित्रका खजानाको पत्तै हुने गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *