भर्खरै :

निर्मला ! तिम्रो हत्यामा

सृजना जिसि
निर्मला,
जब समाचार पढेँ
तिम्रो विभत्स हत्याको
निशब्द भएँ
मानौं शब्दहीन छ
शब्दकोष मेरो जिन्दगीको
कोही लेख्दै थिए
फाँसी दे बलात्कारीलाई
कोही दिंदै थिए श्रद्धाञ्जली
तिम्रो कहालीलाग्दो अन्त्यप्रति
कोही दिंदै थिए समवेदना
तिमीजस्तो फूल गुमाएका
तिम्रो परिवारप्रति
कतै तातेका थिए सडक
मरेकी तिमीलाई न्याय माग्दै
कतै गरिएका थिए विरोध
तिम्रो हत्यारालाई फाँसी माग्दै
तर हेर न,
म यतिबेलासम्म पनि
बिल्कुल निशब्द थिएँ
उता तिम्रो सास रोकिंदा
शब्दहीन अनि रित्तो म थिएँ
व्यक्त गरुँ पनि त आखिर
कस्तो रङ्गको शब्दले
जहाँ मानवीय संवेदनाका रङहरू
धराशायी हुँदै गएका छ्न्
कुन यन्त्रले नापुँ म
तिम्रो छटपटी अनि पीडालाई
जसको मापन गर्ने
छैन मसँग कुनै एकाइ
साक्षात्कार नभए नि म
तिम्रोजस्तो पीडासँग
तिमीभन्दा कम पीडामा
छैन यहाँ म पनि
तिम्रो पीडाको तीतो ध्वनि
गुञ्जिरहेकै बेला कानभरि
आवेगको ज्वाला
दन्किरहेकै बेला मनभरि
बलात्कारी नरपिचासलाई
फाँसीको माग गर्दै
जनसागर चिच्याइरहेकै बेला देशभरि
एलिसाको बलात्कार फेरि
अनि हत्याको खबर हेडलाइनभरि
उफ् !
सोच्छु कति पीडा भयो होला
तिमीलाई अनि तिमीभन्दा
सानी बहिनी एलिसालाई
अनि म फेरि निःशब्द हुन्छु
किनकि,
सगरमाथाभन्दा अग्लो महसुस हुन्छ
आकार तिम्रो त्यो पीडाको
कल्पनामा नै सही
नाइलभन्दा लामो आभास हुन्छ
त्यो बेला बगेको नदी तिम्रा आँसुधाराको
अनि मेरो छैटौं इन्द्रीयले
नछोएको भान हुन्छ एक छेउ पनि
तिम्रो दर्दनाक पीडाको
अनि फेरि फेरि निःशब्द हुन्छु
महिनैपिच्छे घट्ने यस्ता घटनाको
बहुतै गरिन्छ विरोध
गरिन्छ माग फाँसीको
तताइन्छ सडक अनि सदन
छुटाइन्छ पनि एकदिन
अनि घट्छ अर्को अप्रिय घटना
र फेरि मर्छन् तिमीजस्ता
सयौं निर्मलाहरू
उनीजस्ता कैयौं एलिसाहरू
अनि सम्भावित डरमा जिउन
बाध्य छन्
हजारौं निर्मलाहरू
करोडौं एलिसाहरू ।
त्यसैले,
लाग्दैन विश्वास कानुनको
लाग्दैन भर सरकारको
किनकि दम भए कानुनमा
रोक्दो हो बलात्कार
छेक्दो हो शृङ्खला हत्याका
लेख्नका लागि बनाइन्छ कानुन
देखाउनका लागि गरिन्छ कारबाही
फेरि गर्छौँ किन माग फाँसीको ?
फितलो कानुनको गाताभित्र
लेख्ने काममात्र हुनेछ यो पनि
कथमकदाचित् यो माग
एकदिन पूरा भए पनि
बलात्कारीको सजाय फाँसी
तोकेछ भने यदि सरकारले
तिमीजस्ता हजारौं जीवित निर्मलाले
हजारौं जीवित एलिसाहरूले
उनीहरूलाई फाँसी दिन पाउनुपर्छ
राक्षस बलात्कारीहरूलाई
हामीले मार्न पाउनुपर्छ
सरकारले होइन !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *