भर्खरै :

युवाको लागि ‘सुरक्षित विश्व’

‘युवाको लागि सुरक्षित विश्व’ भन्ने मूल नाराका साथ आइतबार अन्तर्राष्ट्रिय युवा दिवस विविध गतिविधि गरी मनाइयो । नेपालमा आयोजित कार्यक्रममा मूलतः रोजगारीका लागि विदेशिन बाध्य चालीस लाख युवाको सुरक्षाबारे चिन्ता व्यक्त भयो । नेपाली युवा अदक्ष–असुरक्षित–अपमानित भएर विदेशी भूमिमा रोजगार गर्न बाध्य छन् । यसरी विदेशिएका नेपाली युवा औसत हरेक दिन पाँच वटाका दरले लास बनेर नेपालमा भित्रिरहेका छन् । प्रत्येक दिन १५ सयदेखि दुई हजारको दरले युवा विदेशिएका छन् । आफ्नै देशमा रोजगारी ग्यारेन्टी हुनु नै नेपाली युवाको लागि सुरक्षित विश्व हो ।
नेपालको कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवा छन् । नेपालको सरकारी निकायले १६–४० वर्ष उमेरका लागि युवाको रुपमा परिभाषित गरेको छ । युवाको जनसङ्ख्या धेरै हुनु देश विकासको लागि राम्रो हो । तर यति धेरै युवाका पाखुरालाई सरकारले आफ्नै देशको विकासमा उपयोग गर्नुको सट्टा विदेशमा सस्तो ज्यामीको रुपमा निर्यात गरी रेमिटेन्सको भरमा देश चलाउन लागिरहेको छ । नेपाली युवा विदेशमा अत्यन्त असुरक्षित अवस्थामा श्रम गर्न बाध्य भएका धेरै उदाहरण छन् ।
नेपाली युवामात्र होइनन्, संसारका विकासशील र विकासोन्मुख देशका अधिकांश युवा विभेद र शोषणको शिकार बन्नु परिरहेका छन् । युरोपलगायत पश्चिमा देशहरूमा आप्रवासी युवा अनेकन विभेद र तिरस्कारको व्यवहार सहन बाध्य छन् । संरा अमेरिकामा अझै पनि रङ्गभेद, जातिभेद र मुसलिम फोविया बाँकी नै छ । यसले आजको संसार युवाको लागि अझै असुरक्षित बन्दै गएको छ । नवउदार अर्थव्यवस्थाले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्र समेत व्यापार र नाफा–नोक्सानको विषय बन्दै जाँदा आजका युवालाई एकातिर शिक्षा र स्वास्थ्यजस्ता मानव जीवनका आधारभूत पक्षबाट समेत वञ्चित हुनुपर्ने बाध्यता हुन थालेको छ ।
युवा विकासको नाममा संसारमा धेरै सङ्ख्यामा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छन् । तर ती गैससहरूले युवा समस्याको मूल समस्यालाई सम्बोधन गर्नुभन्दा युवा विकासको नाममा युवा मनमा स्वभावतः हुने परिवर्तनकारी भावनालाई निस्तेज बनाउने गरेका छन् । ठूलो परिवर्तनलाई छायाँमा पारेर स–साना सुधारलाई प्रकाशमा ल्याउने काम ती गैससले गर्ने गरेका छन् ।
कतिपय सरकारी र गैरसरकारी संस्थाले युवालाई उमेरसँग मात्र जोडेर परिभाषा दिने गरेका छन् । विभिन्न देशमा विभिन्न उमेर समूहलाई युवाको रुपमा परिभाषा दिने गरिएको छ । तर युवा उमेरभन्दा बढी भावना र परिवर्तनप्रतिको चाहनासँग जोडिएको विषय हो । उमेरले युवा भएर पनि कसैसँग परिवर्तनप्रति कुनै चाहना नभए उसलाई युवाको दर्जामा राख्नु गलत हो । उमेरले पाको भएर पनि परिवर्तनप्रति लगातार अथक रुपमा काम गरिरहेको छ भने उसलाई युवा मान्नुपर्दछ ।
पुँजीवादी बन्दोबस्तले युवालाई सधैं पुँजीको दासमा सीमित बनाउने गर्दछ । यसले युवालाई पनि पुँजीकै पछाडि लाग्नुपर्ने र आफ्नो सम्पूर्ण युवाकाल पैसाकै लागि दौडिनुपर्ने बनाइदिन्छ । फलतः युवाभित्र समाज र मानव जातिको लागि केही गर्ने ऊर्जा निस्तेज बनाइदिन्छ । पुँजीवादी बन्दोबस्तले युवाबाट युवा भावना अलग बनाउँछ ।
युवाहरूको लागि सुरक्षित विश्व भनेको शोषणरहित विश्व हो । शोषणमा आधारित समाजमा युवा सधैं शोषणको शिकार र ज्यावलसमेत बन्ने गर्दछ । त्यसकारण आजका युवाको लागि सुरक्षित विश्व शोषणरहित समाजवादी बन्दोबस्तमात्र हुनसक्छ । युवाले समाजवादी आन्दोलनको अगुवाइले नै मात्र युवाका लागि अपेक्षित सुरक्षित विश्व हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *