भर्खरै :

काठमाडांैमा सार्वजनिक यातायात भद्रगोल

राजधानीको सार्वजनिक यातायात सधैं चर्चामै रहने विषय हो । सार्वजनिक यातायातको साधनमा यात्रा गर्नु कष्टकर बन्दै गएको छ । एकातिर घण्टौंको यातायात अवरोध (ट्राफिक जाम) र त्यसमाथि यात्रु कोचाकोच दैनिकी समस्याझैं बनेको छ । काठमाडौंका अस्तव्यस्त सडकमा पुराना यातायातका साधनले यात्रा ज्यादै अप्रीतिकर बन्ने गरेको सार्वजनिक अनुभव हो । कष्टकर यात्रामा यातायात मजदुरको अप्रिय वचन र अशिष्ट व्यवहारले पनि सर्वसाधारणको पीडामा नुनचुक थपिने गरेको छ ।
यातायातका साधनभित्रको अस्वस्थकर वातावरणले धेरै मानिस यात्रापछि अस्वस्थ भएको अनुभव गर्छन् । सार्वजनिक यातायातको यस्ता असुविधाका कारण सक्नेले मोटरसाइकल र स्कूटर चलाउने गरेका छन् । तर यातायातका साधनको बाक्लो घनत्वका कारण ती दुई पाङ्ग्रे यातायातका साधनमा यात्रा गर्नु पनि खतरनाक र असुरक्षित छ । काठमाडांैका सडकमा दैनिक रुपमा हुने सडक दुर्घटनाले दुईपाङ्ग्रे यातायातका साधनको यात्रा आफैंमा जोखिमपूर्ण छ । धेरै सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधनको कारण आज राजधानीमा यातायातसम्बन्धी थप समस्या बल्झिरहेको छ ।
शासक दलहरूले चुनावताका र बेलामौकामा मोनो रेल र मेट्रो रेलका कुरा पनि गर्ने गर्छन् । तर तिनका ती बोली कार्यान्वयनभन्दा धेरै टाढा रहेको कुरा अहिलेको दुरवस्थाबाट प्रस्ट छ । अहिले सडकमा देखिएका स–साना समस्यासमेत समाधान गर्न नसक्ने सरकारले ती ठूला र धेरै बजेटको खाँचो पर्ने परियोजना पूरा गर्नेमा विश्वास गर्न गा¥हो छ ।
राजधानी देशको शान हो । कुनै पनि देशको अनुहार भनेको राजधानी सहर हो । राजधानी सहर सफा र व्यवस्थित भए देश नै सफा र व्यवस्थित हुने आशा गरिन्छ । तर काठमाडांैमा जनसङ्ख्या केन्द्रीकरणका कारण आज राजधानी देशकै सबभन्दा भद्रगोल सहर बनेको छ । सार्वजनिक यातायातको भद्रगोल त्यसको अंशमात्र हो ।
संसारका प्रायशः देशका मुख्य–मुख्य सहरमा सार्वजनिक यातायात राज्यकै नियन्त्रणमा हुने गर्दछ । छिमेकी देश भारतकै राजधानी नयाँ दिल्लीको सार्वजनिक यातायातमा राज्यको बलियो नियन्त्रण छ । तर काठमाडौंमा मित्र देश चीनले उपहारमा दिएको ट्रलीबससमेत आज बन्द भइसकेको छ । लगभग सबै यातायात निजी स्वामित्वमा चलेका छन् । सरकारले यातायातमा सिन्डिकेट तोडेको दाबी गरे पनि व्यवहारमा त्यसमा कुनै भिन्नता आएको छैन ।
काठमाडांैमा हरेक दिन हुने यातायात अवरोधका कारण यहाँका मानिसको औसत १–२ घण्टा समय बर्बाद भइरहेको छ । नागरिकको समयको बर्बादी भनेको देशको नोक्सानी हो । यसलाई कसरी पूर्ति गर्ने भन्नेबारेमा सरकारका सम्बन्धित निकायले व्यवस्थित योजना बनाउन जरुरी छ । प्रधानमन्त्रीले राजधानीका धुलाम्य सडकलाई सफा बनाएको कुरा बोले । त्यो झूट हो । राजधानीका सडकको दुरवस्थामा हिजो र आजमा कुनै ताŒिवक भिन्नता आएको छैन । यहाँको सार्वजनिक यातायात त झन् नराम्ररी भद्रगोल अवस्थामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *