भर्खरै :

प्रदेश नं ३ बाट चार विधेयक पारित

हेटौँडा, १ भदौ (रासस) ः प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ ।
सो बैठकमा प्रदेश मामिला समितिबाट दफावार छलफल गरी प्राप्त प्रतिवेदन प्रस्तुत हुँदा प्रदेश नं ३ का मुख्यमन्त्री र मन्त्रीको लागि पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक २०७५, प्रदेशसभा पदाधिकारी र सदस्यको लागि पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयक २०७५ र प्रदेश प्रशासकीय कार्यविधि विधेयक २०७५ लाई सर्वसम्मतिबाट पारित गरिएको थियो ।
उक्त बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कटेलले प्रस्तुत गर्नुभएको प्रदेश विपत् व्यवस्थापन विधेयक २०७५ लाई पनि उक्त बैठकले बहुमतले पारित गरेको थियो ।
उक्त बैठकको प्रारम्भमा प्रदेशसभाको सदस्य रामेश्वर फुयाँलले प्रदेशसभा नियमावली संशोधनको लागि राख्नुभएको प्रस्तावमा प्रदेशसभाका सदस्य बुद्धिमान माझीले समर्थन गर्नुभएको थियो ।
आजै बसेको दोस्रो बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री जम्कटेलले प्रदेश संस्था दर्ता विधेयक २०७५ र सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश स्वास्थ्योपचार विधेयक २०७५ लाई छलफलको लागि प्रस्ताव टेबुल गर्नुभएको थियो ।
सोही बैठकमा प्रदेशसभाका सदस्यले उक्त दुवै विधेयकको सैद्धान्तिक पक्षमा बोल्नु हुँदै ग्रामीण भेगका जनतालाई नियमित स्वास्थ्योपचार गर्ने कार्यलाई सहज तुल्याउन अब प्रदेश सरकारले आफ्नो कार्यदिशाअन्तर्गत विशेषज्ञ चिकित्सकको दरबन्दीको व्यवस्थापनलगायत स्वास्थ्यकर्मीलाई आ–आफ्नो स्वास्थ्यचौकीमा कार्यरत गराउन र आवश्यकीय सेवा सुविधा उपलब्ध गराउनेतर्फ नीतिगत कार्यक्रम तर्जुमा गरी लागू गर्ने र अनुगमनको प्रणालीलाई चुस्त पार्न आग्रह गर्नुभयो ।
उक्त बैठकमा प्रदेशसभाका सदस्यले उठाउनु भएको विभिन्न प्रश्नको जवाफ दिनु हुँदै आन्तरिक मामिला तथा कानूनमन्त्री जम्कटेलले प्रदेश सरकारले प्रदेशस्तरमा सङ्घ संस्था दर्ता गर्ने अभियानलाई गम्भीरतापूर्वक नयाँ सोच र ढाँचाअनुसार प्रभावकारी ऐन ल्याउन आवश्यक रहेको छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *