भर्खरै :

अझै अस्पताल जान मान्दैनन् चेपाङ महिलाहरु

 राजकुमार श्रेष्ठ
चितवन, ४ भदौ । कालिका नगरपालिका– ९ शक्तिखोरका पविमाया चेपाङ भरतपुर अस्पतालको सर्जिकल वार्डमा उपचारत छिन् । एपेन्डीसाइड रोगका कारण उनी अस्पताल आएका हुन् । ८० वर्ष पार गरेकी पविमाया चेपाङ जीवनमा यसअघि अस्पताल गई उपचार नगरेकी बताउँछिन् । अस्पतालमा उपचार गर्न आए छोरा नातिलाई आर्थिक भार पर्ने उनको चिन्ता छ । एक हप्ताअघि तल्लो पेट दुखेको बताउँछिन् उनी । औषधि गर्न अस्पताल जाउँ भन्यो भने हजुरआमा मान्नु नै हुन्न, औषधि गरेपछि पेट दुख्न निको हुन्छ भनी बल्ल बल्ल करले अस्पताल ल्याइएको हो– पविमाया चेपाङका नाति मोहन चेपाङ बताउँछन् । पेट दुख्नासाथ डाक्टरको सल्लाह अनुसार अस्पताल जचाउन आएको भए भर्ना गर्नु नपर्ने मोहन चेपाङ बताउँछन् ।
अस्पताल धाउनुभन्दा पिता परमेश्वरमा जान ठीक ठान्ने पविमाया चेपाङको बुझाइ छ । गाउँ घरका मानिसहरू अझै पनि धामी, झाँक्री, इसाई धर्मको प्रार्थना जस्ता अन्धविश्वासमा भरपर्ने र अन्तिम अवस्था भएपछि अस्पताल जाने गर्छन् । धामी लाउँदा–लाउँदै, प्रार्थना गर्दा गर्दै कति सोझा गरिब बिरामीहरूको अकालमै मृत्यु भएका घटनाहरू सुन्दै र भोग्दै आएका छौं ।
राज्यले केही हदसम्म गरिब, सीमान्त, लोपोन्मुख जातिहरूलाई सरकारी अस्पतालमा निःशुल्क, सःशुल्क उपचार दिंदै आइरहेको छ । तर पविमाया चेपाङलाई यो विषयमा जानकार छैन । कतिपय मानिसहरू राज्यबाट पाउने सेवा–सुविधाको विषयमा पनि अनभिज्ञ छन् । त्यसबारे जानकार नहुँदा अस्पतालसम्म पुग्न नसकिरहेको अवस्था छ ।
चेपाङ, दलित, ज्येष्ठ नागरिक वा कुनै जातिको कारणले अस्पतालमा चेकजाँच गर्नमात्र नभई औषधि पनि निःशुल्क पाउनुपर्ने गरिब बिरामीहरूको गुनासो छ । अस्पतालबाट प्राप्त सस्तो एक दुई औषधिबाहेक महँगो औषधि सबै बाहिर पसलबाट किनेर ल्याउनु पर्दा आर्थिक समस्या हुने मोहन चेपाङ दुःख व्यक्त गर्छन् । गरिब बिरामीलाई औषधि किन्नमात्र पनि सकस परेको अस्पतालमा देख्न सकिन्छ । अस्पतालको सेवा सुविधामा जानकार नभएका गरिब बिरामीहरू निजी अस्पतालमा उपचार गरेका पनि चितवनमा देख्न सकिन्छ ।
राज्यले अझै पनि गाउँ–गाउँमा स्वास्थ्य चौकी हेल्थपोष्ट पु¥याउन सकिरहेको छैन । सामान्य बिमारीहरू पनि औषधि उपचार गर्न १ दिन÷२ दिन हिंड्नुपर्ने अवस्था छ ।
राज्यले नागरिकको स्वास्थ्यको ग्यारेन्टी लिनुपर्दछ । समाजवादी देश क्युवा, चीन, प्रजग कोरियालगायत केही पुँजीवादी देशहरूमा समेत शिक्षा, स्वास्थ्य, आवासको जिम्मेवारी राज्यले लिएको छ । हाम्रो देशमा पनि बहुमतको वामपन्थी सरकार छ । दुईतिहाइ हुँकार वामपन्थी सरकार नामले मात्र नभई व्यवहारले सम्पूर्ण नागरिकलाई स्वास्थ्य उपचारको बन्दोबस्त गरे उपचार नपाई मर्न नपर्ने थियो । अनि समाज समाजवादउन्मूखतर्फ अघि बसेको आभास हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *