भर्खरै :

हिजोको दुःख र यातना बिर्सनुहुन्न

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग २०४५ सालको भक्तपुर काण्डको सन्दर्भमा लिइएको अन्तर्वार्ता प्रस्तुत छ –सं.)
.नेपाल मजदुर किसान पार्टी (तत्कालीन सङ्गठन) लाई समाप्त गर्न भक्तपुर काण्ड रचेको ठीक ३० वर्ष भयो । ३० वर्षपछि त्यो घटनालाई कसरी सम्झनुहुन्छ ?
– नेपाल मजदुर किसान पार्टीको विरोधमा देशी र विदेशी प्रतिक्रियावादीले पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले षड्यन्त्र गरेको देशका सबै सचेत बुद्धिजीवी तथा संवेदनशील पक्षले ठम्याइसकेको सर्वविदित छ । तर केही गलत सूचनाका शिकार भएका र नेमकिपाप्रति पूर्वाग्रह र दुराग्रह राख्नेहरूले भने ३० वर्षसम्म पनि खोटपूर्ण दृष्टिकोण पालिरहेकै छन् । पूर्वाग्रह र दुराग्रहको ओखती हुन्न ।
.हरेक नकारात्मक घटनाले पनि केही सकारात्मक कुरा छोडेको हुन्छ । भक्तपुर काण्डले वास्तवमा के सिकाएको छ ? भक्तपुर काण्डले नेमकिपाको साङ्गठनिक क्षेत्रमा के कस्ता प्रभाव पारेको देख्नुहुन्छ ?
– मानिस चिन्न जसरी समय लाग्छ, त्यस्तै राजनीतिक दल चिन्न पनि जनतालाई समय लाग्छ । मीठो बोल्ने र चिप्लो घस्ने कति मानिस ठग, कालाबजारिया, घर–खेत खाइदिने जालीफटाहा र पैसा दिएर मत किन्ने दल एवं उम्मेदवारहरू पछि मात्रै उदाङ्गिनेछन् । त्यस्तै नेमकिपामा घुसेका केही स्वार्थी व्यक्तिहरू महत्वपूर्ण पदमा पुगे पनि शत्रुहरूसामु आत्मसमर्पण गर्ने र प्रतिक्रियावादीहरूको पिछलग्गू बनेका छन् । कतिपय पढेलेखेका तथा मीठो बोल्ने र व्यक्तिगत फाइदा लिने उद्देश्य भएकाहरू जनतालाई दुःख परेको बेलामा शत्रुसँग मिल्न गए । त्यस घटनाले जनता र कार्यकर्ताहरूले शत्रु र मित्रलाई चिन्ने अवसर प्राप्त गरे ।
नेमकिपाले राम्ररी जनताको सेवा गरेका जिल्लाहरूमध्ये चितवन पनि एक हो । त्यसपछि कर्णाली र भेरी अञ्चल हुन् । तर नारायणी, जनकपुर, कर्णाली र भेरीमा ‘रातो झण्डाको विरोध गर्न रातो झण्डा उचाल्ने’ तथाकथित कम्युनिष्टहरूले संयुक्त आन्दोलनकै सिलसिलामा सिद्धान्त र सङ्गठनमाथि विश्वासघात गरे ।
यसरी जनता र कार्यकर्ताहरूले घाँसभित्र पनि सर्प हुन्छ भन्ने बुझे ।
अनुशासनलाई ध्यान नदिने, आफूलाई केन्द्रबिन्दुमा राख्ने व्यक्तिवादी प्रवृत्ति, आफ्नो पदभन्दा माथि गएर अनाधिकार आदेश र हैकम चलाउने अहङ्कारको कारण पनि पार्टी, कार्यकर्ता र जनताले दुःख पाए । समयमै समितिहरूमा व्यक्तिवादी प्रवृत्तिको आलोचना नगर्दा केही साथीहरूमा अहङ्कारको भावना हुर्की–बढी अनाधिकार हैकम र आदेश दिने प्रवृत्तिले प्रश्रय पायो र सामूहिक जीवनमा ठूलो क्षति भयो । यस्तो प्रवृत्तिबाट पार्टी सङ्गठनलाई जोगाउनु आवश्यक छ । २०४५ सालको घटनाबाट हामीलाई नयाँ कार्यकर्ताहरूलाई खोटपूर्ण प्रवृत्तिबाट जोगाउने र शिक्षित गर्ने अवसर प्राप्त भयो ।
. एउटा कम्युनिष्ट घटक नेपाल मजदुर किसान सङ्गठनमाथि राज्यले ज्यादती गर्दा तत्कालीन समयमा क्रियाशील नेपाली काङ्ग्रेस वा वामपन्थी पार्टीहरूकोे भूमिका कस्तो रहेको समीक्षा गर्नुहुन्छ ?
– स्थानीय नेपाली काङ्ग्रेस र एमालेका केही कार्यकर्ताहरू पञ्चायती षड्यन्त्रकै पक्ष लिई ‘‘… लाई फाँसी देऊ’’ भनी गरिएको मरिचमानकै प्रदर्शनमा सहभागी भए । विषयवस्तुको चुरो बुझेपछि नेपाली काङ्ग्रेसका नेताहरूले पञ्चायतविरोधी नीति लिए । एमाले नेतृत्वलाई त्यही कुरा बुझ्न समय लाग्यो र बुझेपछि उसले नेमकिपाको स्थितिबाट आफ्नो पार्टीको हितको निम्ति मित्रघात ग¥यो । पछि कृष्णप्रसाद भण्डारी, बासुदेव ढुङ्गाना, सिन्धुनाथ प्याकुरेल, सुवास नेम्वाङ, मुकुन्द रेग्मी, दमननाथ ढुङ्गाना, ऋषिकेश शाह, कृष्णप्रसाद पन्त आदि वरिष्ठ कानुन व्यवसायी र युवा कानुन व्यवसायीहरू, पत्रकार जगतका वरिष्ठ पत्रकार गोविन्द वियोगी र अन्य धेरै पत्रकार र बुद्धिजीवीहरूले आ–आफ्नो ठाउँबाट मनग्य सहयोग गर्नुभयो । हरेक पीडित साथी र परिवारहरू आज पनि उहाँहरूलाई सम्झिरहन्छन् । कति सहयोगीहरू बितिसक्नुभयो । जनताले उहाँहरूलाई सदा सम्झिरहनेछन् ।
राजनीतिक दलहरूमध्ये चौथो महाधिवेशनका दिलबहादुर श्रेष्ठ, शम्भुराम श्रेष्ठ, विष्णुबहादुर मानन्धर, साहना प्रधानसँग सम्बन्धित राजनीतिक दल र एमाले आदिले वक्तव्य दिएर ऐक्यबद्धता जाहेर गरे । नेमकिपा आफूले बोकेको सिद्धान्त र उद्देश्यअनुसार वाममोर्चा र नेकासँगको संयुक्त सङ्घर्षमा गणतन्त्रसम्म काँधमा काँध मिलाएर सक्रिय रह्यो ।
. सङ्कटको तत्कालीन समयमा सहयोग गर्ने सहयोगीहरूलाई कसरी स्मरण गर्नुहुन्छ ?
– नेपाली काङ्ग्रेसका तत्कालीन युवा कार्यकर्ता नवीन्द्रराज जोशी र बालकृष्ण खाँणलाई नेतृत्वसँगको सम्पर्क गर्न र प्रा. राममान श्रेष्ठ, प्रदीप गिरीजस्ता साथीहरूलाई सूत्रधारको रूपमा सम्झिरहेका छौं ।
. भक्तपुर काण्डले पञ्चायतविरोधी आन्दोलन अघि बढाउने आधार बनाइदिएको भनाइबारे तपाईं के भन्नुहुन्छ ?
– भक्तपुर काण्डको अत्याचारविरुद्ध उत्पन्न भएको आक्रोशले पञ्चायतविरुद्ध एक ऊर्जा तयार भयो । प्रतिक्रियावादीहरूको अराजनैतिक सोच र जनविरोधी प्रवृत्तिको कारण आफ्नै खुट्टामा बञ्चरोले हानेको सावित भयो ।
. भक्तपुर काण्डजस्तो राजनीतिक षड्यन्त्र फेरि पनि हुनसक्ने सम्भावनाबारे बेलाबेला औंल्याउनुहुन्छ । पञ्चायत पराजित भइसकेको छ । राजतन्त्रकै पनि अन्त्य भइसकेको छ । आफूलाई लोकतन्त्रवादी र वामपन्थी भन्ने राजनीतिक दलले देश चलाइरहेका छन् । के अझै त्यो सम्भावना छ र ?
– पुँजीवादी प्रजातन्त्र र पुँजीवादी गणतन्त्र त वैज्ञानिक समाजवादको तुलनामा पिछडिएकै व्यवस्था हो । पञ्चायत गयो आफ्नै ‘ढङ्गले’ । त्यस्तै जनताको इच्छा र आकाङ्क्षा नबुझी पञ्चायतकै जनविरोधी प्रवृत्ति गणतन्त्रले अङ्गालेमा समाजवादी क्रान्ति र वैज्ञानिक समाजवादले त्यसको स्थान लिनु स्वाभाविक हो– रातपछि बिहान आएजस्तै !
. भक्तपुर काण्डको समयमा जेल जीवन, भूमिगत जीवन वा अनेक किसिमका मानसिक र शारीरिक यातना भोगेका पुरूष तथा महिला कार्यकर्तालाई के भन्न चाहनुहुन्छ ?
–हिजोको दुःख र यातना बिर्सनुहुन्न, शोषणमा आधारित यो पुँजीवादी गणतन्त्रले त्यस्तै जनविरोधी र देशविरोधी गतिविधि गर्ने सम्भावना रहेको हुँदा पुनः सङ्घर्षमा हामफाल्न तयार हुनु आवश्यक छ ।
. भक्तपुर काण्डको समयमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता वा सम्बन्धबारे केही बताइदिनुहुन्छ कि ?
– विभिन्न देशका केही मित्रहरूले भक्तपुर काण्डले मानव अधिकार हनन गरेको र जनतामाथि ठूलो अत्याचार गरेकोबारे भारत, पाकिस्तान, बेलायत, अष्ट्रेलिया आदि देशका पत्रपत्रिकामार्फत नेपाली जनताको पक्षमा समाचारहरू छापेको जानकारी दिएका थिए ।
. भक्तपुर काण्डबाट आजको पुस्ताले सिक्ने विषयबारे केही बताइदिनुहुन्छ कि ?
– भक्तपुर काण्डले शत्रु र मित्र चिन्ने आँखा दियो । पार्टीको नाम र झण्डा मिले पनि त्यसभित्र शत्रु पनि रहनेबारे सचेत हुनैपर्छ । विषले भरेको भाँडोको मुखमा दूध भएजस्तै समाजमा त्यस्ता खराब तत्वहरू हुने गर्छन् । आँखा चिम्लेर कसैलाई शत्रु र मित्र ठान्न नहुने हाम्रै अनुभवले बतायो ।
. अन्त्यमा केही थप भन्नुपर्ने कुरा भए …
– आफ्नै अनुभवले मात्रै सबै विषयको जानकारी हुँदैन । अरुको अनुभव वा अप्रत्यक्ष ज्ञानबाट सिक्न पनि हामीले अन्य देशको इतिहास, साहित्य र अन्य विषयहरू अध्ययन गर्नु आवश्यक छ । हतारिने होइन धैर्यपूर्वक काम गरौं, पद र पैसाको निम्ति होइन समाजमा आमूल परिवर्तनको निम्ति काम गराँैं । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *