भर्खरै :

अन्तर्राष्ट्रिय रङ्गशालाको विकल्प अन्तर्राष्ट्रिय कृषि फार्म हुनसक्छ

भक्तपुर जिल्ला नेपालकै सबैभन्दा सानो जिल्ला हो । आदिवासी कृषकहरूको जमीनमाथि आफ्नो हक स्थापनाको लागि सङ्घर्षरत जिल्ला हो । यही कारण विसं २०२१ सालमा भूमि ऐन पारित भई विसं २०२२ मा नापीको सुरूवात भयो । यसका लागि भक्तपुर जिल्ला किसान सङ्घर्ष तथा आन्दोलन भएको इतिहास साक्षी छ ।
भक्तपुर जिल्लामा जग्गामाथि मोहियानी हक स्थापित हुँदै जाँदा एकातिर अंशबण्डाको कारण धेरै कृषक दाजुभाइबीच हक मुद्दाको मुचुल्का हातमा लिएर प्रदर्शन गरिरहेको छ भने अर्कोतिर बढ्दो सहरीकरण तथा जनसङ्ख्या वृद्धिको नाउँमा उब्जाउयोग्य जमीनमा प्लटिङ गरी भूमाफियाहरू कुनै न कुनै रूपमा कृषियोग्य जमीनको नारासँगै स्थानीय कृषकहरूलाई विस्थापित गर्ने मनसायले व्यापारिक केन्द्र तथा खेलकुदको हबको रूपमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन लागिपरेको छ ।
खोला–नदी किनारमा अतिक्रमण गरी बस्ती बसाउने र नदीको प्राकृतिक बहाव र स्वरूप बिगार्दै सामान्य तथा अधिक वर्षामा समेत भक्तपुर जिल्ला डुबानमा परिरहेको छ । भएका खेलमैदानको स्तरउन्नति नगरी बेवास्ता गर्दै अर्को खेलमैदान वा रङ्गशाला निर्माण गर्न खोज्नु कृषिमा आश्रित हजारौं कृषकहरूको रोजीरोटी खोसेर बेरोजगार सृजना गर्नु कृषकमाथि अन्याय नै हो ।
भक्तपुरलगायत काठमाडौं उपत्यकाका विभिन्न खेलमैदानलाई समयानुकूल सुविधा सम्पन्न गर्दै हाल बहुमतको दम्भले मानवीय संवेदनालाई कुल्चिंदै निर्माण गर्न खोजेको अन्तर्राष्ट्रिय खेल मैदान÷रङ्गशालाको विकल्पमा अन्तर्राष्ट्रिय आधुनिक÷वैज्ञानिक कृषि फार्म निर्माण गरी हजारौं दाजुभाइलाई वैज्ञानिक कृषि प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । यसले स्वदेशी उत्पादनमा फड्को मार्दै हजारौं व्यक्तिलाई स्वरोजगार दिन सहायक सिद्ध हुनेछ ।
– सत्यराम कासिछ्वा, भनपा

Leave a Reply

Your email address will not be published. Required fields are marked *