भर्खरै :

विदेशिएका दस लाखलाई स्वदेश फर्काउन सिरिया तयार

मस्को, १२ भदौ (एएफपी) । रसियाका रक्षामन्त्री सर्गेई शोइगुले सुरक्षाका कारण विदेश पलायन हुन बाध्य दस लाख सिरियालीलाई रसियाको सहयोगमा भएको पुनः निर्माणसँगै स्वदेश फर्काउन सिरिया तयार रहेको बताउनुभएको छ ।
“सन् २०१५ यता सिरियाका गाउँ नगर विस्तारै विद्रोहीको कब्जाबाट मुक्त भइरहेका छन्, र दश लाखभन्दा बढी व्यक्ति यसअघि नै घर फर्किसकेका छन्,” सर्गेई शोइगुले रुसी समाचार संस्थालाई बताउनुभयो । “अहिले अरु थप दस लाखलाई स्वदेश फर्काउन हरसम्भव प्रयत्न भइरहेको छ ।”
उहाँले भन्नुभयो, “पूर्वाधार पुनःर्निर्माणका कार्य अहिले सिरियामा तिब्र रुपमा सञ्चालनमा छन् । यातायात र सुरक्षा जाँच चौकीको पुनर्निर्माण भइरहेको छ ताकि सिरिया सरकारले अरु थप शरणार्थीलाई आमन्त्रण गर्न सकोस् ।”
सिरियाको लामो समयदेखिको मित्रराष्ट्र रसियाले सङ्घर्षरत राष्ट्रपति बशार अल–असादको समर्थनमा सन् २०१५ यता सैनिक सहयोग गरिरहेको छ । रुसी सहयोगका कारण परिस्थितिमा व्यापक सुधार आएको बताइन्छ ।
राष्ट्रपति असाद र उहाँको सहयोगी गठबन्धनले सिरियाको ठूलो भू–भागमा नियन्त्रण कायम गर्न थालेदेखि नै सिरियाले मस्कोको सहयोगमा द्वन्द्वोत्तर पुनर्निर्माणको कार्यमा ध्यानकेन्द्रित गरिरहेको छ ।
सिरियाबाट भागेका अधिकांश व्यक्तिले छिमेकी मुलुक खासगरी टर्की, जोर्डन र लेबनानमा आश्रय लिइरहेका छन् ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत महिना हेल्सीन्कीमा सम्पन्न शिखर वार्तामा सिरियाली शरणार्थीलाई स्वदेश फर्काउने विषयमा समेत छलफल गर्नुभएको थियो । मस्कोले शरणार्थी फिर्तासम्बन्धी योजना वासिङ्टनलाई दिएको बताइन्छ तर यसको स्वतन्त्र पुष्टि हुनसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *