भर्खरै :

सामाजिक पर्वलाई विकृत नबनाऔं

हाम्रो समाजमा अहिले देखासिकी र लहरमा बग्ने संस्कार व्यापक बन्दै गएको छ । प्रसङ्ग तीज पर्वको हो । तीज महिलाहरूले पुरुषप्रधान समाजको सेवा गरेबापत् चेलीबेटीलाई एकदिन मीठोमसिनो खुवाउन चलाइएको पर्व थियो । तर, अहिले यो पर्व तडकभडक र देखासिकीको पर्याय बनेको छ । तीज पर्वको नाममा उपभोक्तावादी संस्कार र नाफामुखी व्यापारिक स्वार्थवस फैलाइएको कुसंस्कृति बढी हावी भएको छ । तीज महिला मुक्तिको पर्व भनी दाबी गर्नेहरूलाई उत्पीडित महिलाहरूका बारे चिन्तन गर्ने फुर्सद कतिपनि छैन ।
हाम्रो देशका चर्चित भनाउँदा गायक–गायिका, कलाकार र टेलिभिजनलगायत सञ्चारमाध्यमहरूले त्यस्तै भड्किलो पहिरन, गरगहनाको देखावा र विकृत मानसिकताको प्रदर्शनलाई बढावा दिइरहेका छन् । त्यसैले त विवाहित महिलाहरू पनि पोइलो जान पाम् शिव भन्दै छमछमी नाचिरहेको हामी देख्छौं ।
तीज आएपछि कम र मध्यम आय भएका पुरुषहरूको टाउको दुख्ने गरेको छ । आफ्नी श्रीमती तथा घरका अन्य महिलाहरूको माग पूरा गर्न पुरुषलाई सकस पर्ने गरेको छ । कतिपयले त ऋणै काढेर पनि महँगा सारी र लुगा तथा गरगहना किनिदिने गरेको हामीले देखिरहेका छौं ।
पर्याप्त आम्दानी नभएका र ऋण काढ्न पनि नसकेका कतिपय घरमा व्यापक असन्तुष्टि र झैझगडा भइरहेको हामी सुन्दैछौं । महिलाहरूले यसरी आफ्नो क्षणिक सन्तुष्टि र देखावाको लागि पारिवारिक शान्ति र आर्थिक समस्या हुने माग राख्नु कतिको सही हो ?
श्रीमतीका त्यस्ता महँगा महँगा वस्तुको माग र दिनदिनैको कचकचका कारण आम्दानीले नपुगेर कतिपय ठाउँमा रहेका पुरुषहरू घूसखोर भ्रष्ट भएर निस्कन्छन् । कतिपय २ नम्बरी कारोबार चलाउँछन्, कतिपय अपहरण र फिरौतीको छिट्टै धन जोडिने अपराधमा संलग्न हुन्छन् र समाजमा अपार वेदना ल्याउँछन् ।
धार्मिक आस्था भएका धेरै महिलाहरू आफ्ना पति वा हुनेवाला पतिको लामो उमेर, सुस्वास्थ्य र प्रगतिको कामना गरेर व्रत बस्ने गर्छन् । तर, पतिलाई मानसिक तनाव दिएर, घूसखोर, भ्रष्ट र अपराधी बन्न बाध्य पारेर व्रत बस्नुको सार्थकता होला भन्ने लाग्दैन ।
धर्म, आस्था र चाड पर्व भनेको तनमन शुद्ध भई आ–आफ्नो गच्छेअनुसार मीठो–मसिनो खाने–खुवाउने र आफू पनि रमाउने र दीनदुखीलाई पनि हँसाउने हो न कि धनीहरूको धाक–रवाफमा इष्र्या गरी आफ्नै घर जलाउने । बरु गरिब र काम गरी खाने महिलाहरू भेला भई दुःख कम कसरी गर्न सकिएला भनी छलफल गरे सार्थक होला भन्ने लाग्दछ । यसबारे महिला दिदी–बहिनीहरूलगायत सबैले चिन्तन गरौैं ।
–गोमा लामिछाने
भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *