माक्र्स र एंगेल्सले घोषणापत्रमा विश्वका मजदुर एक होऔं ! भनी आह्वान गर्नुभएको छ । तर मजदुरहरू विभिन्न कम्युनिष्ट पार्टीहरूअन्तर्गत छरिएका छन् भने पुँजीवादीहरू अहिले बहुराष्ट्रिय कम्पनी खोलेर विश्वका पुँजीपतिहरू एक हुँदैछन् । पुँजीवादीहरू घोषणापत्रलाई उल्टाएर लागू गर्न सक्षम हुनु र मजदुरहरू असक्षम हुनुले नै अहिले समाजवादी आन्दोलनले धक्का खानुपरेको हो कि ?

प्रा.माणिकलालः पुँजीपति वर्ग भनेकै नाफा खाने वर्ग भएकोले उनीहरूमा दुईजनाको बीचमा पनि प्रतिस्पर्धा हुन्छ । उनीहरू अरुले भन्दा बढी नाफा कमाउन खोज्छन् । उनीहरूको स्वार्थको प्रतिस्पर्धालाई माक्र्सले नै घाँटी रेट्ने प्रतिस्पर्धा ( Cut throat Competiton ) अर्थात् एकले अर्काको गला रेट्ने किसिमको प्रतिस्पर्धा भन्नुभएको छ । आजको युरोपको पुँजीवादी विकासमा पनि गला रेट्ने प्रतिस्पर्धा भइरहेको छ । पुँजीवादीहरूको बीचमा कम्पनीहरू आउनुभन्दा पहिलेको स्थितिलाई नियाल्दा पुँजीपतिहरूमा एक अर्काको विचार फरक भएको हुनाले उनीहरू विभिन्न राजनीतिक सङ्गठनमा लाग्नुप¥यो भन्ने लाग्छ ।
सर्वहारा वर्गको एउटैमात्र स्वार्थ हुन्छ –शोषणको अन्त्य गर्ने । त्यसैले सर्वहारा वर्गको एउटैमात्र पार्टी हुनुपर्ने हो, तर हामीकहाँ कम्युनिष्ट पार्टीहरू नै विभाजित छन् । यसको मतलब जम्मै पार्टीहरूको एकीकरण भनेको पनि होइन, उदारवादी संशोधनवादीहरू मिल्ंिकदै जान्छन् र क्रान्तिकारी कम्युनिष्टहरू सबै एउटै मोर्चामा आएर देशका सम्पूर्ण सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने एउटैमात्र शक्ति जुनबेला निर्माण हुन्छ त्यसबेला मजदुर क्रान्ति सजिलै हुन्छ ।
पुँजीवादीहरूको बीचमा पहिले निकै सङ्घर्ष हुन्थ्यो । त्यही सङ्घर्षबाट पुँजीपतिहरूको विकास हुँदै गएर साम्राज्यवाद आयो । साम्राज्यवादी शक्तिहरूबीच पनि सङ्घर्ष भए । यहीं शत्रुको अन्तरविरोधबाट फाइदा उठाउनुपर्छ भनेर लेनिनले ठाउँठाउँमा भन्नुभएको थियो, कम्युनिष्टहरूले फाइदा पनि उठाए । त्यो देखेपछि उनीहरूले आफ्नो रणनीतिमा परिर्वतन गर्नुप¥र्यो । त्यसैको आधारमा भएभरका उपनिवेशहरू खत्तम भएर गए । साँचो अर्थमा ब्रिटिस, फ्रेन्च र अमेरिकन साम्राज्यवाद एकातिर र अर्कोतिर जर्मन, इटालिन र जापानिज साम्राज्यवाद गरी दुई शक्ति बनाएर दोस्रो विश्वयुद्ध भएकै फलस्वरुप सब उपनिवेशहरू खत्तम भएर गए । आखिर अस्तित्वको सवाल आएपछि मानिसको चेत आउँछ । उनीहरूले अब नयाँ रणनीति ल्याए, त्यो के भने उनीहरूको परस्परमा झगडा बाँकी रहे तापनि विकासोन्मुख देशहरूलाई शोषण गर्न एक भएर बहुराष्ट्रिय कम्पनीहरू – विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष आदि बनाए । जहाँ उनीहरूले पैसा लगानी गर्छन्, सबै ठाउँमा ऋण दिन्छन र सर्तहरू राखेर शोषण गर्छन् । जस्तो कि विश्व बैङ्कले नेपालमा बिजुलीको महशुल बढाउने काम गर्दै आएको छ ।
बहुराष्ट्रिय कम्पनीहरूले नयाँ स्थिति पनि सिर्जना गरे, जुन घोषणापत्रको समयसम्म पनि नरहेको, लेनिनको समयसम्म पनि नरहेको, नभएको, अझ माओले १९४९ को क्रान्तिगढसम्म पनि थिएन । जस्तैः– पेप्सिकोला र कोकाकोलाको कारखाना जर्मनीमा छ, बेलायतमा छ, जापानमा छ । जर्मनीको एउटा कम्पनीको कारखाना अमेरिकामा छ । त्यसैले युुद्ध भएपछि एउटा पुँजीवादी देशले अर्को पँुजीवादी देशमा बम हान्नुपथ्र्यो र त्यहाँको आफ्नै कारखाना खत्तम हुन्थ्यो । त्यसैले ती पुँजीपतिहरू जसरी भए पनि लडाइँ नहोस् भन्ने खोज्छन् । यी पुँजीवादी देशहरूको सरकारलाई पुँजीपतिहरूले नियन्त्रण गरेका हुन्छन् । सबै साम्राज्यवादीहरू हामीलाई शोषण गर्न एक हुन्छन् भने अब साम्राज्यवादविरोधी शक्तिहरू पनि सबै ठाउँमा एक हुनुपरेको छ । त्यसैले का. किम इल सङ्गलाई उहाँको देहान्तभन्दा केही समयपहिले इजिप्टको एक पत्रकारले अहिले संसारमा क्वमिङ्गताङ्गजस्तो कम्युनिष्टहरूको एउटै सङ्गठन वा एउटै कम्युनिष्ट इन्टरनेसनल जरुरत छ कि छैन भनेर सोद्धा उहाँले भन्नुभयो– भए राम्रो कुरा हो, तर अहिलेलाई कम्युनिष्टहरूको इन्टरनेसनलभन्दा पनि साम्राज्यवादविरोधी शक्तिहरू सब एक ठाउँमा हुनुपर्छ किनकि साम्राज्यवादीहरू एक भएका छन् ।

१५० वर्षको अवधिमा पुँजीवादमा धेरै परिमार्जन आइसकेको सर्वविदित्तै छ । त्यतिखेर नभएका बहुराष्ट्रिय निगमहरू अहिले पुँजीवादी शोषणका नयाँ हतियार बनिरहेका छन् । सूचनाप्रविधिमा अभूतपूर्व क्रान्ति भएर पुँजीवादले आफ्नो पहुँचलाई व्यापक पार्दै लगिरहेको छ । बदलिंदो परिस्थितिमा माक्र्सवादलाई पनि परिमार्जित गर्नुपर्ने आवश्यकता छ, छैन ? छ भने कुन रुपमा गर्नु युक्तिसङ्गत देखिएला ?

प्रा. माणिकलालः पुँजीवादमा परिमार्जन आएको होइन । पुँजीवादीहरूको विकास भएर शक्ति परिवर्तन भयो । तर पुँजीले शोषण गर्ने पुँजीवादी सिद्धान्त त छँदैछ । जहाँसम्म माक्र्सवादलाई परिमार्जन गर्ने कुरा छ, परिमार्जनको दुई अर्थ लाग्न सक्छ – एउटा विकास गर्ने अर्को सुधार( Reform ) गर्ने । माक्र्स–एंगेल्सले दिनुभएको सिद्धान्तलाई माक्र्सले घोषणापत्रमा लेख्नुभएकै आधारमा, लेनिनले राज्य (State) को बारेमा लेख्नुभएकै आधारमा र स्तालिनको लेनिनवादका समस्याहरू (Problem of Leninism) मा लेख्नुभएको आधारमा जुनसुकै परिस्थितिमा पनि परिर्वतन गर्नुहुन्न भन्नु अन्धसिद्धान्तवाद (Dogmatism) हो । अनि परिस्थिति बदलिसक्यो, त्यसैले माक्र्सवाद काम लाग्दैन, त्यसमा हेरफेर गर्नुपर्छ भन्नु संशोधनवाद (Revisionism) हो । हामीले अन्धसिद्धान्तवाद र संशोधनवाद दुवैको विरुद्ध निरन्तर सङ्घर्ष गर्न सकेमा मात्र माक्र्सवादी–लेनिनवादी विचारलाई लिएर अघि बढ्नसक्छौं अर्थात् यहाँ परिमार्जनको अर्थ सिद्धान्तकै परिमार्जन गर्ने हो भने त्यो त संशोधनवाद भयो र कार्यक्रममात्र परिस्थितिअनुसार परिमार्जन गर्ने हो भने त्यो आवश्यक कुरा हो ।

एमालेको नौ महिने शासनकालमा घोषणा भएको वृद्धभत्ता र आफ्नो गाउँ आफंै बनाउँ भन्ने कार्यक्रम कम्युनिष्ट घोषणापत्रसँग कति नजिक छ ?

प्रा. माणिकलालः यिनीहरू राम्रा कुरा हुन्, तर सुधारका कुरा हुन् । यतिमै सीमित रह्यो भने सुधारवादी कार्यक्रम हुनजान्छ । क्रान्तिकारीहरूले सुधार गर्न नहुने हैन, तर सुधारमा मात्रै सीमित रहने कुराको विरोध गर्नुपर्छ ।
कम्युनिष्टहरू शासनसत्तामा जानुहुन्न भन्ने कुरा पनि होइन, जान सक्छन् । अहिलेको व्यवस्थालाई तत्काल परिवर्तन गर्न नसकिने भएकोले त्यो नभएसम्म उनीहरू नै राज गरिरहून्, हामी जान्नौं भनेर अलग्ग बस्ने हो भने कतिसम्म हामीलाई शोषण गराइरहने ? त्यसैले त्यहाँ पनि जान सकिन्छ । भएको व्यवस्थालाई प्रयोग गरिकन त्यसबाट ल्याउन सकिने परिर्वतनले कतिसम्म जनताको हित गर्न सकिन्छ , गर्नुपर्दछ । यो व्यवस्थालाई संस्थागत गर्ने भनेर केही समयअघि आर. के. मैनालीले भन्नुभयो, ‘यो सरकारमा हामी गएको त यो व्यवस्थालाई सुदृढ गर्न हो ।’ कम्युनिष्टहरूले त यो पुँजीवादी व्यवस्था फालेर अर्को व्यवस्था ल्याउनुपर्छ । उहाँहरूले नौलो जनवाद नभने पनि बहुदलीय जनवाद ल्याउनुपर्छ भनेर भन्नुभएको छ । जनवादको अर्थ उहाँले People’s Democracy भन्नुभयो । अर्को व्यव्स्था ल्याउनुपर्छ भने भोलि बदल्नुपर्ने व्यवस्थालाई झन् आफैं बलियो बनाउने ? त्यस कुरामा हो, हाम्रो विरोध । त्यसैले उहाँहरूले यी सुधारहरू ल्याउनु ठिक्कै छ, तर यसको कम्युनिष्ट घोषणापत्रसँग नजिक टाढा कुनै सम्बन्ध छैन । सुधारको साथमा व्यवस्था नै बदल्नेतिर पनि लाग्नुपर्छ ।

समाजवादी व्यवस्था राम्रो व्यवस्था हो । तर नेपालको कुनै पनि कम्युनिष्ट पार्टीले यहाँको भौगोलिक बनोट, गरिबी, अशिक्षा र पुँजीपति र सामन्तीहरूको रजाइँ, दबाब र षड्यन्त्रको कारण नेपालमा समाजवादी क्रान्ति गर्न असम्भव छ भन्नेहरूलाई तपार्इं के सुझाव दिनुहुन्छ ?

प्रा. माणिकलालः कसैले समाजवादी व्यवस्था सम्भव छैन भन्छ भने त्यो त कम्युनिष्ट पार्टी नै हुँदैन । माओको कुरालाई लिउँ– चीनमा पुँजीवादी क्रान्ति पनि पूरा भइसक्या छैन । सामन्तवाद जस्ताको तस्तै छ । पुँजीवादी क्रान्ति पूरा होस् भनेर हामी चुप लागेर बस्यौँ भने फेरि अर्को सयौं वर्ष शोषणमा बस्नुपर्ने भयो । त्यसैले कम्युनिष्ट पार्टीले शासनसत्ता कब्जा गरेर पहिले पुँजीवादी क्रान्ति गर्ने, अनिमात्र समाजवादी क्रान्ति गर्ने । तर पश्चिमी देशहरूको प्रजातन्त्रभन्दा फरक केमा हुन्छ भने उनीहरूको प्रजातन्त्र पुँजीपति वर्गको नेतृत्वमा र हामीले ल्याउने प्रजातन्त्र सर्वहारा वर्गको नेतृत्वमा हुन्छ । हुन त त्यो पनि पुँजीवाद नै हो । त्यसैले उहाँले त्यसलाई नयाँ जनवाद (New Democracy) भनेर नाम दिनुभयो ।
यहाँको परिस्थितिमा यो संसदीय व्यवस्थाले पुँजीवादी क्रान्ति पूरा भइसक्यो भन्ने सम्झनुहुन्छ भने मजदुर वर्गीय कम्युनिष्ट पार्टीले समाजवादी क्रान्ति गर्ने (Forward to Socialism ) भने पनि भयो । जस्तो कि भारतको रणदिवेले समाजवादी क्रान्ति गर्ने भनेको थियो, पी.सी. जोशी आएपछि त्यो त एकदम वामपन्थी उग्रवाद भयो भनेर विरोध गरे । अहिलेको स्थितिमा भारतमा पुँजीवादको पूरा विकास भइसक्यो । त्यहाँ नयाँ जनवादको आवश्यकता छैन । त्यहाँ समाजवाद हुन्छ भन्न सकिन्छ । तर कुनै कम्युनिष्ट पार्टीले समाजवादी क्रान्ति नै असम्भव छ भन्छ र समाजवाद ल्याउन तैयार छैन भने त्यो कसरी कम्युनिष्ट पार्टी हुन्छ ? माक्र्सले घोषणापत्रमा जर्मनी निकै विकसित पुँजीवादी देश हो, त्यसैले यहाँ समाजवादी क्रान्तिको लागि स्थिति ठीक छ भन्नुभएको थियो । तर उहाँले भन्नुभएको कुरा पनि मिल्न गएन । किनभने जर्मनभन्दा पहिले एकदम अशिक्षा र गरिबी भएको देश रुसमा समाजवाद आयो । त्यसैले गरिब र अशिक्षित देशमा, पुँजीपति र सामन्तीहरूको रजाइँ भएको देशमा समाजवाद आउँदैन भन्ने हो भने समाजवादको नारा नै किन दिने त ? पुँजीपतिहरू र सामन्तहरूको विरोधमा त समाजवाद चाहिएको हो ।
कम्युनिष्ट घोषणापत्रमा निम्न पुँजीपति वर्ग र अवसरवादी वर्ग एक किसिमका प्रतिक्रियावादी हुन् भनिएको छ । नेपालको परिप्रेक्ष्यमा अधिकांश किसानहरू भएको देशमा माक्र्सले भनेबमोजिमको सर्वहारा वर्गको क्रान्ति हुँदैन भन्ने हो भने किसानहरूकै सेनालाई लिएर चीनमा माओले नयाँ जनवादको स्थापना गर्नुभयो । बरु के हो भने, किसानहरूको बहुमत भएको देशमा मजदुर वर्गीय आन्दोलन चाँडै हुँदैन । मजदुर वर्गको प्रतिनिधित्व गर्ने पार्टीले किसानलाई सहयोगी शक्ति मानेर किसान–मजदुर एकता भन्ने नारा लेनिनले नै दिनुभयो । अझ माओले त किसानकै भरमा क्रान्ति गर्नुभयो । किसानहरूको शक्तिबाट समाजवादी क्रान्तिसम्म अगाडि बढेका कार्यक्रमका सबभन्दा राम्रा उदाहरण भियतनाम र उत्तर कोरिया हुन् । उहाँहरूले पनि किसानहरू प्रतिक्रियावादी हुन्छन् भन्नुको अर्थ किसानहरू मजदुरहरूजति विकसित नभई पछाडि हुन्छन् भन्नुभएको हो र पुरानै व्यवस्था चाहनेहरूमात्र प्रतिक्रियावादीहरू भनिएको हो । जम्मै किसानहरूलाई प्रतिक्रियावादी भन्न मिल्दैन ।
२०५४ चैत १६ गते कम्युनिष्ट घोषणापत्र प्रकाशनको १५० औं वार्षिकीको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्राध्यापक माणिकलाल श्रेष्ठसँग सहभागीहरुले गरेका विभिन्न प्रश्नको जवाफमा व्यक्त विचार कार्ल माक्र्सको २०० औं जन्म दिवसको सन्दर्भमा सान्दर्भिक भएकोले प्रस्तुत छ ।