भर्खरै :

भारतको फासीवादी नीति र सैन्य महत्वाकाङ्क्षाको विरोध आवश्यक

सुरेन्द्रराज गोसाई
पहाडमा पहिरोले बस्ती बगाइरहँदा र बाटो तथा सडक भत्काइरहँदा, तराईमा छिमेकी भारतको कारण वस्तीहरू डुबानमा परिरहँदा, भारतकै कारण कोशी ब्यारेजले नेपाली गाउँवस्ती जलमग्न बनाइरहँदा काठमाडौंको सरकार बिम्स्टेक सम्मेलनको नाउँमा हिलोमाथि कालोपत्रे गर्न, खाल्डाखुल्डीमा टालटुल गर्न र जीर्ण भित्ताहरूमा रङ्गरोगन गर्न व्यस्त रह्यो ।
अति विशिष्टहरूको सवारीको नाउँमा ३–४ दिनसम्म काठमाडौं उपत्यकाको जनजीवन अस्तव्यस्त रह्यो । शिक्षालयहरूसमेत बन्द गरिए । यस्तै काम हिजो पञ्चायतले गथ्र्यो, आज कम्युनिष्ट नामधारी शासकहरू गर्दैछन् । के फरक भयो ? बिम्स्टेकको चौथो सम्मेलन भइरहँदा जनताले पञ्चायती गणतन्त्रको प्रत्यक्ष अनुभव गरे ।
काठमाडौंमा सम्पन्न बिम्स्टेकको चौथो सम्मेलन सँगसँगै केही यक्ष प्रश्न तेर्सिएका छन् । के भारत दक्षिण एसियालाई एउटै सुरक्षा छातामुनि राख्ने योजना बिउँताएर कार्यान्वयन त गर्दैछैन ? कानुनीरुपमै दक्षिण एसियालाई भारतको तखतमा राख्न त खोजिएको होइन ? नेपालको ढुकुटीको साँचो दिल्लीमा बुझाउने खेल त चलिराखेको होइन ?
बिम्स्टेक सम्मेलनलगत्तै यही भदौ २५ गतेबाट भारतमा बिम्स्टेक देशहरूको संयुक्त सैन्य अभ्यास हुँदैछ । यो क्षेत्रको सबभन्दा ठूलो सैन्य शक्ति भनेको भारत हो । पाइला–पाइला गरी एउटै सैन्य संरचना निर्माण गर्ने भारतको हिजोकै योजना र चाहना हो । हातहतियार अन्य देशबाट किन्न नदिने, भारतसँगै किन्नुपर्ने र यही उपायबाट यो क्षेत्रको सुपरपावर (महाशक्ति) बन्ने सपना भारतले धेरै अगाडि देखेको थियो । अन्य सैन्य शक्तिसँग लड्न शक्ति एकत्रित गर्न भारत तम्सेको बुझ्न गा¥हो छैन । हाम्रोे प्राकृतिक सम्पदा पानी र विद्युत् भारतले एक एक गरेर लिइरहेको प्रस्ट भइसकेको छ । नेपालबाट सस्तोमा बिजुली लगेर महँगोमा बेच्ने, नेपालका ठूल्ठूला जलविद्युत् आयोजना आफ्नो हात पार्ने दाऊ र नेपाललाई महँगोमा बेच्ने र अन्य मित्र राष्ट्रहरूलाई नेपालबाट भगाउने कार्य भारतले निरन्तर गर्दै आइरहेको छ । यस्तो गम्भीर परिस्थितिको बेवास्ता गर्दै नेपाल सरकारले एक–एक पाइला गरी देशको स्वाभिमान बेच्नु र आत्मसमर्पण गर्दै जानु निश्चय पनि राष्ट्रिय लज्जाको विषय हो । देशको कर्मचारीतन्त्र र शासकसँग समेत राष्ट्रिय भावना नहुनु र राष्ट्रिय स्वाभिमानको चेत नखुल्नु जति ठूलो दुर्भाग्य सायदै होला !
अन्तर्राष्ट्रिय राजनीतिका ज्ञाताहरूलाई प्रस्ट थाहा छ भारत बिम्स्टेक या अन्य बहानामा नेपालको हितसँग सम्बन्धित चीनको बेल्ट एण्ड रोड इनिसियटिभ अर्थात एक क्षेत्र एक मार्ग अगुवाइको बृहत्तर योजनालाई पन्छाई नेपाललाई पछाडि पार्न खोज्दैछ । तसर्थ नेपाललगायत रणनैतिक महत्वका देशहरूमा भारत आफ्नो प्रभुत्व कायम गर्न चाहन्छ । त्यसैको पछिल्लो प्रयास नै बिम्स्टेकको आवरण होे । अन्तर्राष्ट्रिय सम्बन्धका अध्येताहरूलाई के कुरा पनि थाहा छ भने चीन भारतसँग शत्रुताभन्दा पनि सम्बन्ध प्रगाढ बनाउन चाहन्छ, ठूला साम्राज्यवादी शक्तिसँग लड्ने शक्ति विकास गर्न खोज्छ । तर भारत भने कम्युनिष्टको प्रभाव बढ्ला भन्ने चिन्ताले ग्रस्त छ । भारतको व्यापक दृष्टिकोणको अभावको कारण तथा सड्ढीर्ण र अन्धराष्ट्रवादको कारण दक्षिण एसिया अझ पछिपर्ने सम्भावना देखिइँदैछ । तसर्थ भारतको फासीवादी नीति र सैन्य महत्वाकाङ्क्षाको विरोध गर्नु क्षेत्रीय शान्तिका साथै विश्व शान्तिको पक्षमा हुनेछ । साम्राज्यवादी देशहरूको सैन्य उक्साइबाट भारत जोगिनु भनेको यस क्षेत्रमा शान्तिको सम्भावना बलियो हुनु हो ।
कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटना एउटा राष्ट्रिय लज्जाको विषय बन्दैछ । दैनिकजसो बलात्कार र हत्याका घटना घटिरहेका छन् । महिला, बालबच्चाको समेत जीवन रक्षा गर्न नसक्ने सरकार, अपराध अनुसन्धानमा निष्पक्ष भई प्रस्तुत नहुने र तत्परता नदेखाउने सरकार संवेदनहीन सरकार हो । भावुक, मनोगत, हावादारी गफगाफ र चटके स्वभाव त्यागेर जनताको जीउ–धन सुरक्षाको निम्ति व्यावहारिक पाइला चाल्न हामी सरकारको ध्यानाकर्षण गराउँदैछौं । प्रदेश सरकार मूकदर्शक भई बस्ने होइन बरु भूमिका निर्वाह गर्न पुनः जोडका साथ आह्वान गर्दछौं । भइरहेको बलात्कार, हत्या, हिंसा र अपहरणका कारण खुला सीमा कत्तिको जिम्मेदार छ, अनुसन्धानको विषय हो ।
शासक दलका ठग ठेकेदारद्वारा पालित–पोषित सांसद किसानको जग्गा खोस्नकै लागि अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्ने हो–हल्ला गरिरहँदा इण्डोनेसियामा चलिरहेको १८ औं एसियाली खेलकुदमा नेपालले लज्जास्पद प्रदर्शन व्यहोर्दैछ र पदक शून्यताको स्थिति देखिएको छ । यसबाट शासक दलहरूले खेलकुद क्षेत्रमा गरिरहेको ब्रह्मलुट, चरम् पक्षपात र भ्रष्टाचार छताछुल्ल भएको छ । कमिशन र लुटमा विश्व रेकर्ड राख्ने शासक दलले एसियाली खेलमा भने देशलाई अन्तिम पङ्तिमा पु¥यायो । खेल क्षेत्रको यो लज्जाजनक असफलताको शासक दलले नैतिक जिम्मेवारी लिनुपर्छ । १८ औं एसियाली खेलको झापड शासक दलको मुखैमा परिसकेको छ । बेलैमा होसमा आए राम्रै हुनेछ । खेलकुदमन्त्रीको सफलता यही हो !
(प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रदेशसभाको भदौ १८ गतेको बैठकको विशेष समयमा व्यक्त गर्नुभएको विचारको सारसङ्क्षेप–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *