भर्खरै :

प्योङ्गयाङ्ग घोषणापत्र ः कोरिया प्रायः द्वीपको परिवर्तनको दस्तावेज

छेङ स्याओहे
दक्षिण कोरियाका राष्ट्रपति मुन जेइन दुईवटा लक्ष्यसहित गएको साता प्रजग कोरियाको राजधानी प्योङ्गयाङ्ग गएका थिएः पहिलो, दुई कोरियाबीचको सैनिक तनाव र सम्भावित सैनिक द्वन्द्वको सम्भावना अन्त्य गरी युद्धको भय कम गर्ने र दोस्रो, संरा अमेरिका–प्रजग कोरियाबीचको वार्ताका लागि बल पु¥याउने । आफ्ना दुई लक्ष्य प्राप्त गर्न मुन सफल देखिएका छन् । सेप्टेम्बर १९ का दिन मुन र प्रजग कोरियाली सर्वोच्च नेता किम जङ्ग उनबीच संयुक्त प्योङ्गयाङ्ग घोषणापत्रमा हस्ताक्षर सम्पन्न भयो । सो घोषणापत्रले अन्तरकोरियाली सम्बन्धमा नयाँ गति थपेको छ । यसले संरा अमेरिका र प्रजग कोरियाबीच अवरुद्ध बनेको वार्ता पुनः थालनी गर्न मार्गप्रशस्त गरेको छ ।
दुई कोरियाबीचको तेस्रो शिखर सम्मेलनमा द्विपक्षीय विषयमा केही प्रगतिहरू भएका छन् । दुवै नेताबीच जनस्तरको सम्पर्क र सम्बन्धलाई अझै फराकिलो बनाउँदै लैजान सहमति भएको छ । प्योङ्गयाङ्ग घोषणापत्रअनुसार सन् २०३२ को गृष्मकालीन ओलम्पिक दुवै कोरियाको संयुक्त आयोजनामा हुनेछ । अक्टोबर ११ को घोषणापत्र जारी भएको एघारौं वर्षगाँठ र जापानी उपनिवेशवादी शासनविरुद्ध मार्च प्रथम स्वतन्त्र आन्दोलन सुरु भएको शतवार्षिकीको अवसरमा उक्त खेल कुम्भमेला संयुक्तरूपमा आयोजना गर्न लागिएको हो । त्यस्तै आगामी अक्टोबरमा प्रजग कोरियाली सांस्कृतिक टोलीले दक्षिणको राजधानी सिओलमा सांस्कृतिक प्रदर्शन गर्ने निर्णय पनि भयो । सांस्कृतिक क्षेत्रमा दुई कोरियाबीच व्यवस्थित सहकार्यको सम्बन्ध निरन्तर भइरहेको छ । तर दुःखको कुरा, प्योङ्गयाङ्ग घोषणाले दुई कोरियाका परिवारबीचको भेटघाटलाई अझ गति दिने कुनै दीर्घकालीन निर्णय गर्नसकेन । आज पनि दुवै कोरियामा एक अर्को भागमा बसिरहेका आफन्तहरू आपसमा भेट्न व्यग्रतापूर्वक धेरै परिवार प्रतीक्षारत छन् ।
यसअघि नै सुरक्षा क्षेत्रमा भएका तीन चरणमा सम्पन्न अन्तरकोरियाली सैनिक वार्ताले दुवै पक्षलाई विगतमा भएका समझदारीलाई सहमतिको रूपमा विकास गर्न र तिनै सहमतिलाई घोषणापत्रमा समावेश गर्ने आधार तयार ग¥यो । मुन र किमबीच एउटा संयुक्त सैनिक समितिमार्फत संस्थागतरूपमै सैनिक सम्पर्क कायम राख्ने सहमति भएको छ । त्यो समितिले दुवै तर्फबाट हस्ताक्षर भएका सैनिक सहमतिको कार्यान्वयन भए नभएको अनुगमन गर्नेछ । आर्थिक क्षेत्रमा दुवै नेताहरू धेरै विषयमा सहमत भएका छन्ः क) पूर्वी र पश्चिमी तटीय क्षेत्रमा अवरुद्ध रहेका रेलमार्ग तथा सडक मार्गलाई पुनः सञ्चालनमा ल्याउन ऐतिहासिक समारोहको आयोजना गर्ने र यसै वर्षको अन्त्यसम्ममा ती मार्गको आधुनिकीकरण गर्ने, ख) केसोङ औद्योगिक क्षेत्रको सञ्चालनलाई सामान्य बनाउँदै लाने तथा माउन्ट कुमकाङमा पर्यटन परियोजना सञ्चालन गर्ने र ग) पश्चिम समुद्री विशेष आर्थिक क्षेत्र र पूर्वी संयुक्त पर्यटन क्षेत्र स्थापना गर्नेबारे परामर्श सुरु गर्ने । प्रष्टतः भविष्यमा प्रजग कोरियामाथिको नाकाबन्दी समाप्त भएमा दुवै कोरिया बृहत् स्तरको आर्थिक सहकार्यको तयारीमा रहेको देखिन्छ ।
दुवै कोरियाका नेताहरू अन्तरकोरियाली सम्बन्ध विकास गर्न निकै मिहिनेत गरिरहेका छन् । तर उनीहरूका त्यस्ता प्रयास भने दुईवटा कारणले अझै समस्या भोगिरहेका छन् । पहिलो, दक्षिण कोरिया संरा अमेरिकाको पिछलग्गु देश हो । दक्षिण कोरियामा वाशिङ्गटनको बलियो सैनिक उपस्थिति अद्यापि कायम छ । दक्षिण कोरियाली सेनामाथि संरा अमेरिकी सेनाको युद्धकालीन सैनिक कार्वाहीको नियन्त्रण अझै कायम छ । अर्थात् दक्षिण कोरियाली सेनाको चेन अफ कमाण्ड वाशिङ्गटनमा छ । वाशिङ्गटनले हरियो बत्ती नदेखाएसम्म सोओलले प्योङ्गयाङ्गसँग सुरक्षा सहकार्य र विश्वासको वातावरण बनाउन सक्दैन । अहिलेसम्म वाशिङ्टनले अन्तरकोरियाली सम्बन्धको तीव्रतर विकासलाई होशियारीपूर्ण आँखाले चियाइरहेको छ ।
दोस्रो, प्रजग कोरियामाथिको अन्तर्राष्ट्रिय नाकाबन्दी कायम रहेसम्म अन्तरकोरियाली आर्थिक सहकार्यले अनेकन चुनौती झेलिरहनु पर्नेछ । नाकाबन्दीकै कारण विगतमा स्थगित गरिएका पुराना सहकार्य परियोजना अझै पुनःथालनी हुनसकेका छैनन् । भविष्यमा बनाउने भनिएका कतिपय नयाँ परियोजना पनि कागजमा मात्र सीमित भएका छन् । आर्थिक सहकार्यमा बलियो प्रगति नभएसम्म अन्तरकोरिया सम्बन्ध दिगो हुनसक्दैन ।
दुई कोरियाबीचको सम्बन्धमा भएको धिमा प्रगतिको तुलनामा प्योङ्गयाङ्ग संयुक्त घोषणापत्र आणविक निःशस्त्रीकरणको विषयमा आएको सबभन्दा प्रभावशाली परिणाममूलक दस्तावेज हो । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पहिलो भेटमा किमले कोरियाली प्रायःद्वीपलाई आणविक हतियारमुक्त देश बनाउन अनौपचारिक रूपमा प्रतिबद्धता व्यक्त गरेका थिए । योपटक भने उनले औपचारिकरूपमै उक्त विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् । ‘‘उत्तर पक्ष तोङछाङ–रि आणविक हतियार परीक्षणस्थल र रकेट प्रक्षेपणस्थल सम्बन्धित देशका विज्ञहरूको उपस्थितिमा स्थायीरूपमा बन्द गर्न सहमत भएको छ’’, त्यस घोषणापत्रमा लेखिएको छ ।
यो सामान्य प्रतिबद्धताले निकै गहिरो अर्थ बोकेको छ ः पहिलो, यो कदम एकपक्षीयरूपमा प्रजग कोरियाले गर्नेछ । त्यसले कोरिया प्रायःद्वीपलाई पूर्णरूपमा आणविक निःशस्त्रीकरण गर्ने प्रजग कोरियाको चाहना र मूर्त काम देखाएको छ । दोस्रो, आणविक हतियार परीक्षणस्थल र रकेट प्रक्षेपणस्थल अन्तर्राष्ट्रिय समुदायबाट अनुगमन गराइनेछ । यसले विश्लेषकहरूलाई अनुगमनको विषयमा प्रजग कोरिया अझै पनि लचिलो बन्नसक्ने अनुमान गर्न सहज बनाइदिएको छ । अहिले संरा अमेरिकाले मुख्यतः खोजिरहेको विषय नै यही हो । आफ्नो प्रस्तावप्रति संरा अमेरिकालाई अझै आकर्षित बनाउन किमले ‘संरा अमेरिका र प्रजग कोरियाले जुन १२ का दिन संयुक्तरूपमा जारी गरेको वक्तव्यको भावनाप्रति संरा अमेरिका इमानदार रहेमा आफूसँग रहेको योङ्गब्योन आणविक भट्टी स्थायीरूपमा नष्ट गरी आणविक निःशस्त्रीकरणको प्रक्रियामा थप एक कदम चाल्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् । निःसन्देह प्योङ्गयाङ्ग संयुक्त घोषणापत्रले संरा अमेरिकासँगको वार्ता पुनःथालनी गर्न प्रजग कोरियाले महत्वपूर्ण निर्णय लिएको देखाएको छ । यसले मुन जेइनले बोकेको दोस्रो लक्ष्य पनि हासिल गर्न मद्दत गरेको छ ।
ट्रम्पले तुरुन्तै ट्वीटरमार्फत त्यसप्रति सकारात्मकरूपमा प्रतिक्रिया जनाएका छन् । त्यहीदिन संरा अमेरिकी विदेशसचिव माइक पोम्पिओले तत्कालै प्रजग कोरियाली विदेशमन्त्री रि योङ–होसँग सम्पर्क गरी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुँदा अलग्गै भेटवार्ताको लागि प्रस्ताव पनि गरे । पोम्पिओले घोषणा गरे, ‘ती महत्वपूर्ण प्रतिबद्धताका आधारमा संरा अमेरिका–उत्तर कोरिया सम्बन्ध रूपान्तरणका लागि संरा अमेरिका तत्काल संवादमा बस्न तयार छ ।’’ उनले आगामी सन् २०२१ को जनवरीसम्ममा उत्तर कोरियालाई आणविकरूपमा निशस्त्र बनाउने पनि बताए ।
मुनले लडेको कूटनीतिक सजिलो लडाइँ थिएन । तर उनले प्योङ्गयाङ्गमा उपलब्धिमूलक कूटनीतिक सङ्घर्ष गरे । आफ्नो लक्ष्यमात्र हासिल गरेनन् बरु किमसँगको आफ्नो व्यक्तिगत सम्बन्ध समेतलाई दरिलो बनाए । किम सोओलको भ्रमण गर्ने पहिलो प्रजग कोरियाली सर्वोच्च नेता हुनेछन् । मुनले हासिल गरेका केही उपलब्धि त्यति प्रभावकारी थिएनन्, तर केही उपलब्धि भने विज्ञहरूले चिताएको भन्दा पनि ठूला थिए । सारमा, मुन र किम दुवैले इतिहास बनाउने काम जारी राखेका छन् । यदि किमले निकट भविष्यमा हुने अपेक्षा गरिएको ट्रम्पसँगको आफ्नो दोस्रो बैठकमा आफ्ना चाहनालाई प्रतिबद्धतामा रूपान्तरण गर्नसके भने कोरिया प्रायःद्वीपको आणविक निः शस्त्रीकरण र संरा अमेरिका–प्रजग कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउने प्रक्रिया औपचारिकरूपमा अघि बढ्नेछ ।
लेखक रेनमिन विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका उपप्राध्यापक र पानगोल प्रतिष्ठानका वरिष्ठ अध्येता हुन् ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *