भर्खरै :

जापानमा अबेः खतरा पनि, सम्भावना पनि

जापानका प्रधानमन्त्री सिन्जो अबेले जापानको शान्तिवादी संविधानमा संशोधन खोजिरहेका छन् । संविधान संशोधनको विषयमा आन्तरिक र बाह्य रूपमा भइरहेका विरोधको उनले बेवास्ता गरेका छन् । सत्तासीन पार्टी उदार लिबरल डेमोक्रेटिक पार्टीको नेतामा उनी पुनः निर्वाचित भएका छन् । यसको अर्थ आगामी तीन वर्ष अबे नै जापानका प्रधानमन्त्री हुने बाटो खुला भएको छ । यो अवधिमा उनले विपक्षीहरूले भनेको ‘पुनःसैनिकीकरण’ को योजना कार्यान्वयनमा लान सक्नेछन् ।
यस्तो भयका केही कारण छन् किनभने सिन्जो अबेले विवादास्पद विधेयक जापानी संसदमा पेश गरिसकेका छन् । त्यो विधेयक कानुनको रूपमा पारित भएको अवस्थामा जापानी सेनालाई ‘सामूहिक आत्मरक्षा’ वा विदेशी भूमिमा आफ्ना सहयोगीको रक्षा वा सहयोग गर्न सक्ने अधिकार प्रदान गर्दछ ।
अबेले भन्न त जापानले कहिल्यै पनि युद्धको थालनी गर्नेछैन भन्ने संवैधानिक बन्दोबस्तमा नछिर्ने बताएका छन् । उनको यो भनाइले पूर्वी एसियाका देशहरूमा झाङ्गिएको भयलाई केही हदसम्म शान्त बनाएको छ । जापानले फेरि पनि सैत्यवादको बाटो लिने त होइन भन्ने आशङ्का यो क्षेत्रका धेरै देशमा व्याप्त छ ।
तर जापानका दक्षिणपन्थी शक्तिहरूले आफ्नो इतिहासलाई दूधले धुने लगातार प्रयास गरिरहेका छन् । जापानी दक्षिणपन्थी शक्ति युद्धकालीन अत्याचार अस्वीकार गरिरहेका छन् । उनीहरू नानचिङ हत्याकाण्डलाई लुकाउन खोजिरहेका छन् । जापानी सिपाहीबाट यौन दासी बनाइएका लाखौं एसियाली महिलाले भोगेका पीडा र दुःख उनीहरूको स्मृतिबाट अलग्याउन खोज्दैछन् । चीनलगायत जापानका धेरै छिमेकी देशहरूमा अझै पनि यो घाउ पुरिएको छैन । जापान फेरि पनि सैनिक शक्तिको रूपमा उदाउने भय उनीहरूमा अझै बाँकी छ ।
अबेले कदाचित जापानको शान्तिवादी संविधान संशोधनको योजनालाई अघि लगे आगामी तीन वर्ष उनले आफ्ना छिमेकी देशलाई आफ्नो असल मनसायबारे चित्त बुझाउन असाध्यै गा¥हो हुनेछ ।
यो वर्षको अन्त्यतिर अबे चीनको भ्रमणमा आउने आशा गरिएको छ । यसले चीन र जापानबीचको सम्बन्ध सकारात्मक बन्दै गएको सङ्केत गरेको छ । अबेले आशा गरिएअनुसार चीनको भ्रमण गरे भने पछिल्ला सात वर्षमा चीनको भ्रमण गर्ने उनी नै प्रथम जापानी प्रधानमन्त्री हुनेछन् । उनको यो भ्रमण चीन–जापान शान्ति तथा मैत्री सन्धि भएको चालिसौं वर्षगाँठमा पर्नेछ । संसारकै दोस्रो र तेस्रो अर्थतन्त्र–चीन र जापान आपसमा एकअर्कासँग प्रतिस्पर्धाभन्दा सहकार्य गर्न तयार रहेको बताइएको छ । उनीहरू विशेषतः थाइल्याण्डको पूर्वी आर्थिक क्षेत्रलगायत अन्य देशमा कृषि तथा पूर्वाधार क्षेत्रका परियोजनामा सहकार्य गर्न तयार छन् ।
जापान र चीनको अर्थतन्त्र गहिरोसँग एक अर्कासँग परिपूरक छन् । दुवै देशले खुला व्यापारको सिद्धान्त मानेका छन् । यसले आपसमा रहेका भिन्नतालाई कम गर्न मद्दत गर्न सक्दछ । साथै आपसमा साझा हित अधिकतम बनाउन सक्नेछन् ।
अबेले हालै ‘जापान–चीनबीचको सम्बन्ध नयाँ उचाइँमा उक्लिने’ आशा व्यक्त गरे र उनी यसको निम्ति ‘पूर्णरूपमा प्रतिबद्ध’ रहेको बताए । उनको कुरा विश्वसनीय भएकाले उनको कुरा मुखमा राम राम मात्र होइन भन्नेमा भर पर्न सकिन्छ । हामीलाई आशा छ, उनले आफ्ना शब्दलाई व्यवहारमा लागू गर्नेछन् र चीन–जापानबीचको सम्बन्ध सुधारमा योगदान गर्नेछन् ।
चाइना डेलीको सम्पादकीय
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *