भर्खरै :

शिक्षकशिक्षिकाहरू कसिमलापाँय् सिक्दै

भक्तपुर, १२ असोज । भक्तपुर नगरपालिका वडा नं. ९ सुर्यमढीस्थित वाकुपति चाँगुनारायण मन्दिर परिसरमा शुक्रबार दिउँसो विद्यालयका शिक्षकहरू विद्यार्थी र स्थानीय ज्येष्ठ नागरिकहरू शिक्षक भएको दृश्य देखियो । वडाका विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरू लहरै ढुङ्गा छापिएको भुइँमा कार्पेट ओछ्याएर बसेका थिए भने केही ज्येष्ठ नागरिकहरूले परम्परागत खेल कसिमलापाय्ँको चित्र कोर्दै खेल खेल्ने नियम बताउँदै थिए ।
भक्तपुर नगरपालिकाले यसै शैक्षिक सत्रदेखि नगर क्षेत्रका विद्यालयहरूमा कक्षा १ र कक्षा ६ मा लागू गरेको स्थानीय पाठ्यक्रममा समावेश गरिएको कसिमलापाय्ँ कसरी खेल्ने भन्ने विषयमा व्यवहारिक कार्यशाला गरिएको थियो । बुद्धिचाल खेलमा जस्तै दुईतिर फरक विद्यालयका शिक्षक शिक्षिकाहरू बसे, साथमा दुवैतिर २÷२ जना ज्येष्ठ नागरिकहरू बसे । शिक्षकले पालैपालो नरकटको डाँठ चिरेर तयार गरिएको कसिमला हातमा चलाउँदै भुइमा बजार्दै थिए । कसिमला भूइँमा बजार्दा आवाज आउँथ्यो, ‘कसि’, ‘च्या’, ‘ङा’ । सोहीबमोजिम ज्येष्ठ नागरिकहरू बुद्धि खियाउँदै गोटी चाल्थे । प्रतिस्पर्धीको गोटी खाने वा ‘भोङ’ मा बस्ने र सुरक्षित हुन खोज्ने क्रमचलेको थियो ।
करिब २० मिनेटजतिको प्रतिस्पर्धात्मक खेलमा एक पक्ष जित्थ्यो र अर्को हाथ्र्यो । एउटा खेल सकिएपछि ज्येष्ठ नागरिकहरू नयाँ खेल शिक्षक शिक्षिकाहरू आफैंलाई खेलाउँथे । लगातार तीनचार खेल खेलेपछि शिक्षकहरूमा आत्मविश्वास बढेको हाउभाउबाट प्रस्ट देखिन्थ्यो ।
‘अब त विद्यालयमा विद्यार्थीहरूलाई सिकाउन सकिन्छ ।’
‘बुद्धिचालजस्तै बुद्धिको खेल रहेछ है ।’
‘सुत्रबद्ध लिखित नियम भए त सजिलो पो हुने रहेछ ।’
खेल सकिएपछि शिक्षक शिक्षिकाहरू आपसमा कुरा गर्न थाले । खेलमा जीत हासिल गरेका केही शिक्षक शिक्षिकाहरूलाई यस्तै ज्येष्ठ नागरिकहरूको समूहले खेल सामग्री पुरस्कारको रुपमा हस्तान्तरण गरे ।
स्थानीय दर्शकहरूको बाक्लो उपस्थितिमा सम्पन्न उक्त खेल खेलको भिडियो रेकर्ड पनि गरिएको थियो । स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षक शिक्षिकाहरूलाई पाठ्य सामग्रीको रुपमा तयार गर्ने उद्देश्यले भिडियो खिचेको वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताउनुभयो । उहाँले उक्त भिडियो क्लिप सामाजिक सञ्जालमा छिटै नै राख्ने र खेलको प्रवद्र्धन गर्ने अवगत गराउनुभयो ।
खेलको सुरुमा उपस्थित शिक्षक शिक्षिका तथा स्थानीय ज्येष्ठ नागरिकहरूलाई सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर ऐतिहासिक र सांस्कृतिक नगर भएको चर्चा गर्दै पुर्खादेखि चलिआएका सीप र ज्ञान तथा स्थानीय खेल, उपचार विधि, संस्कारलगायत नयाँ पुस्तालाई हस्तान्तरण गर्ने ध्येयले स्थानीय पाठ्यक्रमतयार गरेको प्रस्ट पार्नुभयो ।
उहाँले नगरपालिकाले भक्तपुरको कला, संस्कृति र सीपको संरक्षण र प्रवद्र्धन गर्न वार्षिक रुपमा विभिन्न प्रतियोगिता तथा सांस्कृतिक गुरुहरूको सम्मान गर्दै आएको उल्लेख गर्नुभयो । प्रमुख प्रजापतिले भर्खरै सम्पन्न गाईजात्रामा प्रस्तुत गरिएका सांस्कृतिक विधाहरूलाई प्रोत्साहनस्वरुप १४ लाख रुपैयाँ बराबरको पुरस्कार वितरण गरेको र प्रत्येक वडाबाट २÷२ जना सांस्कृतिक गुरुहरूलाई सम्मान गरेको जानकारी दिनुभयो ।
स्थानीय पाठ्यक्रम तयार गर्ने कार्य दलका सदस्य रोशनराज तुईतुईले नयाँ पुस्तालाई भक्तपुरको विषयमा प्रशस्त विषय वस्तु पढाउन सकिने औंल्याउनुभयो । उहाँले पाठ्यक्रम निर्माणको क्रममा आफूहरूले पनि धेरै परम्परागत ज्ञान र सीप सिकेको अनुभव सुनाउनुभयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्वले कार्यक्रममा उपस्थित शिक्षक शिक्षिका तथा ज्येष्ठ नागरिकहरूलाई धन्यवादज्ञापन गर्दै खुला कार्यशालामा सहभागी भई व्यवहारिक रुपमा सिकेको सीप विद्यार्थीहरूलाई सिकाउन अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *