भर्खरै :

खँमेय् जात्रा

ओम धौभडेल
नेपाल धेरै जनजाति आदिवासीहरूको देश हो । नेपाललाई जात्रै जात्राको देशभन्दा फरक नपर्ला । यहाँका कुनै न कुनै सहरमा जात्रा भइरहेकै हुन्छ । त्यसमा नेपालमण्डलमा बस्ने नेवारहरूको सांस्कृतिका जीवनमा मौलिक जात्रा एउटा महत्वपूर्ण पक्ष हो । नेपालमण्डलभित्रका कैयौं प्राचीन नेवार बस्तीहरूमा वर्षभरिजसो नै थुप्रै विशेषताहरूले भरिएका जात्रा मनाउने चलन छ । ग्वल देवपतनको मचातिया जात्रा, बोडे थिमिको जिब्रो छेड्ने जात्रा, हाँडीगाउँको गहना खोज्ने जात्रा, भक्तपुरको खँमेय् जात्राजस्ता महत्वले भरिएका जात्राहरू उदाहरणका रुपमा लिन सकिन्छ । त्यसमाथि पनि भक्तपुरलाई त नाचगान र जात्राको सहर पनि भनिन्छ । यहाँ वर्षैभरि कुनै न कुनै ठाउँमा, कुनै न कुनै चाडवाड, मेला तथा जात्रा भइरहेका हुन्छन् ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीको दिन भक्तपुरमा खँमेय् दौडाउने जात्रा हुन्छ । त्यसो त भक्तपुरमा विजया दशमीकै सन्दर्भमा योबाहेक अन्य थुप्रै जात्राहरू पनि हुन्छन् । जस्तैः तलेजु थाहाँ बिज्याकेगु जात्रा, याकाकुमारी जात्रा, ख्वापा खुया यंकेगु, नवरात वानेगु, स्वंगतिकि तानेगु, ख्वापा ब्वयेगु, निकु थुः जात्रा, पायो न्हयाकेगुजस्ता मौलिक साँस्कृतिक क्रियाहरू हुन्छन् । त्यसमा खँमेय्को जात्राले अलग्गै महत्व राख्दछ ।
खँमेय् कालो रङ्गको, मोटो घाटो अनि जिउमा कतै घाउ चोटपटक नलागेको राङ्गो हो । उक्त राङ्गोको जिउमा अगाडि–पछाडि थुप्रै चक्रहरू हुन्छन् । भनिन्छ, मानिस होस् वा जनावर, एक जिउमा एउटै चक्र हुन्छ । तर एकभन्दा बढी चक्र भएका सा¥है बलिया, रौद्र स्वभावका हुन्छन् । जिउमा थुप्रै चक्र भएको खँमेय् सा¥है रौद्र रुपको हुन्छ भन्ने मान्यता छ ।
प्रत्येक वर्षको भलभल अष्टमीको दिन ब्रह्मायणीमा मुकुण्डो जलाएपछि जलय बिज्याके अर्थात् गुह्य रहन पुग्छ । त्यसपछि आउने श्रावण शुक्ल चतुर्दशी अर्थात् गठामोग चह्रेको दिन विभिन्न कारणले महत्वपूर्ण मानिन्छ । यस दिन नवदुर्गा गणभित्र सर्वप्रथम महादेवको उत्पत्ति हुन्छ भने सोही दिन नवदुर्गा द्योछेँको दक्षिणपूर्वको कोठामा खँमेय् बाँध्ने किलामा डोरी बाँध्नुपर्छ । त्यसपछि खँमेय्को छनोटतिर लगिन्छ । खँमेय् छानिसकेपछि सर्वप्रथम नवदुर्गा गणभित्रकी नकिंले लसकुस गरी खँमेय्लाई उक्त खम्बामा राखेको डोरीबाट बाँधिन्छ । त्यसपछिका प्रत्येक दिन उक्त खँमेय्लाई नुहाइदिने, तेल घस्ने, मीठो परिकार र जाँड ख्वाउनेजस्ता स्याहार सुसारका काम उजाजुहरूबाट हुन्छ । एवम्रितले यता मोहनी नखा आइसक्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि नवरात सुरु हुन्छ । क्रमशः ब्रह्मायणी, माहेश्वरी, कौमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी हुँदै नवमीको दिन त्रिपुरासुन्दरी देवीकहाँ मेला लाग्छ । यसै दिन साँझ नवदुर्गा द्योछेँमा राखिएको खँमेय्लाई जाँडरक्सी खुवाउने, जिउभरि फुस्रो सिन्दुर दल्ने अनि नकींमार्फत विधिवत पूजा गरी बिदा गरिन्छ । यता लामो डोरीले बाँधेको खँमेय् तान्नेदेखि यो दृश्य हेर्नेहरू द्योछँे अगाडि धेरै सङ्ख्यामा भेला हुने गर्छन् । खँमेय् दौडाउने मार्ग गछे सकोलान, दत्तात्रय, तचपाल, सूर्यमढी, च्याम्हासिंह, देगइना गणेश र ब्रह्मायणी पीठको वरपर थुप्रै जात्रालु हुन्छन् । अगाडि अगाडि डोरी तान्ने, पछाडि पछाडि घचेट्नेहरूको भीड नै लाग्छ । सिंग समात्ने, टाउको समात्ने, जिउ समाउने, पुच्छर समाउनेहरूको तछाडमछाड नै हुन्छ । एवम्रितले खँमेय् गछेबाट सकोलान पुगेपछि त्यहाँ राखिएको लामो ढुङ्गामा खँमेय्को खुट्टा ठोकिन्छ भन्ने भनाइ छ । जहाँसँगै रहेको पाटीमा मानन्धर समुदायले दाफा भजन गाइरहेको हुन्छ । साकोलान तचपालबाट सूर्यमढी पुगेपछि खँमेय्को रौनक अर्कै हुन्छ । सूर्यमढीबाट च्याम्हसिंहसम्म ओरालोमा खँमेय् अनियन्त्रित ढङ्गले अगाडि बढ्छ । यता ब्रह्मायणी पिठ जाने सानो पुलबाट नभई खोला तारेर नै लाने चलन छ । यसको अर्थ ब्रह्मायणी पीठमा जान खँमेय्लाई शुद्ध स्नान गराउने अर्थ लाग्छ । खँमेय्लाई स्नान गराउने क्रममा एकआपसमा पानी छ्यापाछ्याप गर्ने चलन कम रोचक छैन ।
यता ब्रह्मायणी पीठको पूर्वमा रहेको सातवटा ढुङ्गे खम्बाहरूमध्ये सबैभन्दा अगाडिको ढुङ्गाको खम्बामा खँमेय् बाँधिन्छ । यता याछें टोलबाट सम्पूर्ण नवदुर्गा गणको मुकुण्डो ब्रह्मायणी पीठ पुगेपछि मध्यरातमा नवदुर्गासँग सम्बन्धित आचाजुले विधिवत रुपमा मांसाहुती यज्ञ गर्छ । जुन यज्ञ गर्न ब्रह्मायणी पीठ अगाडि कसैले नदेखोस् भनी मान्द्रोको घर बनाइन्छ । अनि तान्त्रिक रुपले सुरक्षित गर्ने हेतुले ब्रह्मायणी पीठदेखि इथुदो (जहाँ सर्वप्रथम नवदुर्गा नाच सिकाइन्छ) सम्म पासुकाले नदेख्ने गरी घेरा बनाइन्छ भन्ने मान्यता छ । त्यही भएर यो घेराभित्र घर खेत भएका वा अन्य बटुवाहरू सो रात आवतजावत गर्दैनन् । मासाहुती यज्ञको क्रममा खँमेय्को बध अन्तिम घडीको रुपमा लिइन्छ । यो दृश्य सबैको लागि सुलभ हुँदैन । यता खँमेय्लाई बध गर्न तलेजुका रकमी खड्गीहरू घाजी नं लगाएर तम्तयार भएर बसेका हुन्छन् । हातमा रहेको स्याचुपी (सानो तर तीखो चुपी) ले घाँटीमा प्वाल पारिन्छ । बिस्तारै आधा घाँटी रेटी मूल नशा भेटाइन्छ र रगतको खोलो बगाइन्छ । रगतले ब्रह्मायणी देवीलगायत नवदुर्गा गणलाई तृप्त पारेपछि एउटा माटोको भाँडोमा त्यो रगत जम्मा गरिन्छ । जसलाई भैल कोंचा भनिन्छ । टाउकोलाई छुटाई सकेपछि मांसाहुती यज्ञ अगाडि राखी यज्ञ सम्पन्न गरिन्छ । उता टाउको छुट्टिएको जीउमा विस्तारै छाला काढिन्छ । जीउबाट सम्पूर्ण छाला हटाइसकेपछि मासु भाग लगाइन्छ । नवदुर्गासँग सम्बन्धित रकमीहरूलाई मासु भाग लगाई बाँकी रहेको मासु भोलिपल्ट दर्शनार्थीहरूलाई प्रसादको रुपमा वितरण गरिन्छ । त्यो मासु सुकुटीको रुपमा घरघरमा राखी १५ दिनपछि आउने लक्ष्मीपूजाको दिन अमेमा राख्ने चलन छ । कसै–कसैले मकलमा नासाको रुपमा बाल्छन् । जे होस् खँमेय्को कारण विजया दशमी र तिहारबीच सम्बन्ध कायम हुन पुग्छ ।
यहाँनेर खँमेय् एउटा राङ्गो हो भन्ने स्पष्ट हुँदाहँुदै नेवार समाजमा लिच्छवी तथा पूर्वमल्लकालमा राङ्गाको मासु चल्दैनथ्यो र त्यतिबेला भेडा, हाँस, बोका, कुखुरा, सुँगुर, भंगेरा, तित्राजस्ता पशुपक्षीको मात्र मासु चल्थ्यो । सिम्रौनगढका राजा हरिसिंह देवले तलेजु भवानी सँगसँगै राँगाको मासु पनि भित्याएको देखिन्छ । जुन पछिल्ला मल्ल राजाहरूले राङ्गाकै मासुको लागि खँमेय्को जात्रा, निकुु थुलगायत २४ विभिन्न थु (राङ्गा) काट्ने चलन बस्यो । भक्तपुरमा मोहनीजस्तै बिस्केटमा समेत पोडेहरूले भद्रकालीमा राँगाको बली दिने, लाक्वलाछेँका भैलनायहरूबीच लाकोफेत राँगो काटी मासु बाँडिलिने चलन छ । मासु टुक्रा–टुक्रा पारी बाँडिलिने भएर यो ठाउँको नाम नै लाक्वलाछे अर्थात् लाकुलाछे भएको विश्वास छ । यसरी राङ्गोको मासु यहाँको संस्कृतिको अभिन्न आवश्यकता बनेको छ ।
खँमेय् के हो भन्ने इतिहास स्पष्टसँग उल्लेख छैन । विजया दशमीकै आख्यानलाई बढावा दिएर हेर्ने हो भने पनि प्रत्येक दिन एक–एक देवीहरू उत्पत्ति हुँदै अन्तमा त्रिपुरासुन्दरीले मोहनी लगाएर महिषासुरमाथि बध गरेको किंवदन्ती छ । जुन महिषासुरको मूल रुप खँमेय् हो भन्ने धारणा छ । तसर्थ महिषासुर अर्थात् महिष+असुर नै खँमेय् हो भन्ने धारणा छ । महिष भन्नाले राङ्गो नै जनिन्छ । राङ्गोमा रहेको (दानवी) आसुरी प्रवृत्ति माथिको विजय विजया दशमी वा मोहनी हुन पुगेको छ । तापनि खँमेय्को वास्तविक स्वरुपबारे एकपटक इतिहासका पाना पल्टाउनुपर्छ । यसै क्रममा मल्लकालमा टिपिएको वर्षकृति नामक थ्या सफुको एक ठाउँमा नवमी विधान गर्ने क्रममा यसो टिपिएको छ । “नवमी याय ।। खण्डमेस स्याययात खण्डमेस पुजा मेस स्याय घुनङाव” भनी खँमेय्लाई स्पष्टसँग खण्डमेस भनिएको । यहाँ उल्लेख भएको खण्डमेसले दुइटा अर्थ दिन्छ । पहिलो त खण्डले विभक्त अर्थ दिन्छ । खँमेय् कस्तो छान्ने भन्ने सन्दर्भमा एउटा आधार के मानिन्छ भने खँमेय्को जिउको अगाडिको आधा भाग अगाडितर्फ र पछाडिको आधाभागको रौं पछाडितर्फ फर्केको हुन्छ । यसरी जिउमा रहेको रौं दुई खण्डमा विभाजित भएर खण्डमेस भनेको एउटा आधार छ भने अर्को अहिले जुन खँमेय्को जात्रा गछँे नवदुर्गा द्योछेबाट हुँदै आएको छ, परापूर्वकालमा यो ठाउँबाट नभई वर्तमान बालाखुनेर रहेको खचुँकबाट भएको हुनसक्छ ।
लिच्छवी राजा आनन्ददेवले साततले त्रिपुर दरबारसहित राजधानी बसाले यता उनका भाइ अमृतदेवले खण्डचोकपछि थपेको गोपालराज वंशावलीमा अपभ्रंश रुपमा खचुँक बोलिन पुग्यो । यही खण्डचोकबाट जात्रा गरिने राङ्गो नै खण्डमेस हुन पुग्यो । पछि नवदुर्गा भवानीको द्योछें वर्तमान स्थानमा बनाएपछि यो जात्रा द्योछेंबाट सुरु भएको बढी अनुमान गर्न लायकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *