भर्खरै :

‘निर्वाचनको मतको आधारमा मात्र राजनीतिक दलको लोकप्रियता नापिन्न’

(नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पछिल्लो महिना काठमाडांै र मोफसलका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूसँग समसामयिक राजनीतिक अवस्था र पार्टी जीवनबारे कुराकानी गर्नुभएको थियो । काठमाडांैका सगरमाथा टेलिभिजन, माउन्टेन टेलिभिजन, पोखराको बाराही एफएम र भक्तपुरको रफत सञ्चार क्लवमा भएका पत्रकारहरूसँग भएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ–सम्पादक)
अध्यक्षज्यू, के अहिलेको तपाइँको मौनता राजनीतिबाट पलायन हो ?
– म राजनीतिमा अहिले पनि सक्रिय छु र पलायन त कुनै पनि अर्थले भन्न मिल्दैन । तर आफ्नो शारीरिक कारणले नेमकिपाको राजनैतिक गतिविधिमा मेरो व्यक्तिगत सहभागितामा साधारण कमी आएको देखिएको होला ।
संसदमा सुनिने तपाईँको नेपाली राजनीतिका प्रखर टीका–टिप्पणीहरू अहिले किन सुनिंदैन, के यही राजनीतिबाट पलायन होइन ?
– मेरो स्वास्थ्यको कारणले पहिलेको तुलनामा बाहिरी राजनैतिक गतिविधिमा कमी आउनु स्वाभाविक हो । अस्पताल र स्वास्थ्य केन्द्रहरूमा बरोबर जाने गर्छु । साथै परिवारको बिरामीको कारणले पनि म अलि घरमै व्यस्त रहेँ । यसकारण प्रचारमाध्यममा म केही महिना पुग्न सकिनँ । पत्रकार मित्रहरूले सम्झनु भएकोमा धन्यवाद छ ! तर परिस्थितिबश मेडियामा उपस्थित हुन नसकेकोमा ‘पलायन’ भन्न मिल्दैन ।
यसलाई अध्यक्षज्यूको राजनैतिक गतिविधिमा कमी आएको भन्न मिल्ला ?
– बाहिरी राजनीतिक गतिविधिमा कमी आएको सत्य हो, राजनैतिक चिन्तन र पार्टी गतिविधिमा होइन । नेमकिपा आज पनि हिजोजस्तै हिमाल, पहाड र तराईमा सक्रिय छ ।
अध्यक्षज्यूको राजनैतिक यात्रामा विराम लागेको वा थाकेको भन्न मिल्ला ?
– त्यसो भन्न पटक्कै मिल्दैन । म आज पनि पार्टी अध्यक्षकै रूपमा गोष्ठी, अन्तरक्रिया र बैठकहरूमा उपस्थित भइरहेकै छु । यसलाई थाकेको भनिंदैन बरू शारीरिकरूपमा देखिएको कमजोरी त उमेरकै कारण हो । जन्मेपछि मृत्यु निश्चित भनेजस्तै शारीरिक कमजोरी प्राकृतिक नियम हो । यो अवस्थाबाट हामी सबै एक न एकदिन गुज्रनैपर्छ ।
के जीवनसँगको निराशा भन्न मिल्ला ?
– यसलाई जीवनसँग निराशा त पटक्कै भन्न मिल्दैन । साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरू कमजोर हुँदै गएको बेलामा हामीलाई निराशाले छुने त झन् कुरै भएन ।
नेमकिपाको सङ्गठनमा ¥हास आएको देखिन्छ, यसको अर्थ के नेमकिपाको सिद्धान्त र नीति जतिसुकै प्रगतिशील भए पनि संसदीय निर्वाचनमा प्राप्त मत हेर्दा लोकप्रियता घटेको अनुभव गर्नुहुन्न ?
– संसदीय वा अरू निर्वाचनको मत सङ्ख्याको आधारमै कुनै राजनैतिक दलको लोकप्रियता नाप्नु उपयुक्त हुँदैन । पुँजीवादी दलहरूले पैसा, पद र भौतिक बल देखाएर वा अन्य झूटा आश्वासन दिएर पनि तटस्थ जनतालाई प्रभावित पार्ने गर्छन् । जात, भाषा, धर्म र क्षेत्रीय वा भौगोलिक साम्प्रदायिकता फैलाएर पनि मतदातालाई दबाबमा राखी मतदानलाई निष्पक्ष बनाउन दिंदैन र निर्वाचन आचारसंहिताविपरीत, निर्वाचन नियमावलीविपरीत पनि अनेक धाँधली र अनियमिततामार्फत निष्पक्ष र शान्तिपूर्ण मतदान गर्न नदिंदा पनि मतदानलाई सही लोकप्रियताको नापो मान्न सकिन्न ।
त्यसो त नेमकिपाले सुरूका समयभन्दा पछिल्ला समयमा कम जिल्लामा मात्रै उम्मेदवारी दिएको वा निर्वाचनलाई उपयोग नगरिएको देखियो । यसको अर्थ पनि के सङ्गठनमा ¥हास आएको होइन ?
– संसदीय निर्वाचनको २०–२५ वर्षको हाम्रो अनुभवले धेरै जिल्लामा उम्मेदवारहरू दिंदा केही मत सङ्ख्या बढे पनि राजनैतिक प्रचार र सैद्धान्तिक सङ्घर्षको निम्ति तुलनात्मक रूपले कम जिल्लामा उम्मेदवार दिएर भए पनि गतिविधिलाई प्रभावकारिता दिन खोजिएको सत्य हो । तर सङ्गठनमा ¥हास आएको भन्न मिल्दैन ।
नेमकिपाको जिल्ला–जिल्लाको गतिविधि पहिलेको भन्दा कम हुँदै गएको तराई, पहाड र हिमालमा हुने गतिविधिले देखिएको छ । यसकारण भनिन्छ, रोहितपछि नेमकिपा सुक्नेछ र भक्तपुर जिल्लाको मत परिणामले समेत यहीं कुुरो बताउँछ, होइन र ?
– पहिले नेमकिपाको तराई, पहाड र हिमालमा विरोध प्रदर्शन, जनसभा र ठूलठूला सम्मेलनहरू हुन्थ्यो । अहिले प्रदर्शन, जनसभा र बाहिरी सम्मेलनहरूभन्दा भित्री कक्षा सञ्चालन, गोष्ठी, अन्तरक्रिया र प्रवचनहरू हुने गरेका छन् । साथै भक्तपुरमा प्राप्त मत सङ्ख्याअनुसार लोकप्रियतामा कमी आएको देखाउँदैन र हाम्रो नयाँ पुस्ताका कार्यकर्ताहरू दैलेख, जुम्ला, कालीकोट, नेपालगञ्ज, कैलाली
आदि जिल्लामा सक्रिय छन् । त्यस्तै लुम्बिनी, नारायणी र अहिलेको प्रदेश नं. २ मा पनि साथीहरूको बैठक र भेटघाट तथा अन्तरक्रिया चालू छ ।
अध्यक्षज्यूको भनाइ सत्य होला, तर नेमकिपाका पुराना कार्यकर्ता र जानकारहरूको भनाइमा नयाँ कार्यकर्ताहरू जिल्ला–जिल्लामा बसेर सङ्गठन गर्दैनन्, बरू नयाँ पुस्तामा सुविधाभोगी प्रवृत्तिको विकास भएको छ । यसमा अध्यक्षज्यूको टिप्पणी ?
– समयअनुसार सङ्गठनको शैलीमा परिवर्तन हुँदै जानु स्वाभाविक छ । अहिले नयाँ पुस्ता पनि तराई, पहाड र हिमालमा आकर्षित हुँदैछ । तिनीहरूको तालिम पनि नयाँ नयाँ साधन प्रयोग गरेरै हुँदैछ । यसले सङ्गठनलाई विस्तार गर्नुभन्दा सघनतामा र गुणमा ध्यान दिन खोजिएको छ ।
जहाँसम्म नयाँ कार्यकर्ताहरूको सुविधाभोगी प्रवृत्तिको प्रश्न छ – त्यस्ता कार्यकर्ता पहिले पनि थिए, त्यस्ता अल्छी र आत्मकेन्द्रित प्रवृत्तिका कार्यकर्ताहरू, स्वार्थी वा आफ्नो चरित्र निर्माणबारे प्राथमिकता दिने क्यारिरिष्टहरू कति पार्टीको कारबाहीमा परे, कति पार्टीबाट टाढा भागे र कति पतनको बाटोमा शत्रुसँग मिल्न गए ।
पुँजीवादी समाजमा व्यक्तिगत सुख–सुविधा खोज्ने र आफूलाई सबभन्दा ठूलो ठान्ने र अरूलाई चानचुन सम्झने, मित्रमण्डलीभन्दा पार्टीलाई दोस्रो दर्जाको सम्झने निम्न पुँजीवादी विचार हरेक क्रान्तिकारी पार्टीमा हुनु स्वाभाविक छ र त्यस्ता प्रवृत्ति विस्थापित पनि हुँदै जानेछन् ।
जिल्ला जिल्लामा गएर सङ्गठन गर्ने पहिले किसान कार्यकर्ताहरू थिए र अहिले नयाँ युवाहरू छन् । नेमकिपाका साथीहरू जिल्ला–जिल्लामा नगई सङ्गठन हुने कुरै भएन । निश्चित मौसममा किसानले बाली नलगाई जसरी बाली लाग्दैन, त्यस्तै कार्यकर्ता गल्ली, गाउँ र जिल्लामा सङ्गठन गर्न नगई जनता आफै सङ्गठित हुँदैनन् जसरी किसानले नजोतेको र बीउ नछरेको खेतमा बाली होइन घाँसमात्रै उम्रने गर्छ ।
त्यस विषयलाई जानकारी राख्दै पढे–लेखेका कार्यकर्ता पार्टी कार्यकर्ताको रूपमा कर्तव्यपालन गर्दैछन् र यन्त्रवत रूपले गाउँ र जिल्लाहरूमा आफै सङ्गठन हुँदैछन् भन्ने भावना पालेका कार्यकर्ता समाज परिवर्तनमा मानिसको अगुवाइलाई नबुझ्ने यान्त्रिक भौतिकवादी हुन्, जसरी फोहर पानीमा किराको उत्पत्तिमा कसैले अगुवाइ गरेको हुँदैन ।
अध्यक्षज्यू, अन्त्यमा सुस्वास्थ्यको कामना गर्छौं, नेमकिपाको प्रकाशनको निम्ति धन्यवाद !
– धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *