भर्खरै :

चाड–पर्व बुझेर मनाऔँ !

–हरि श्रेष्ठ, काठमाडौं
विजया दशमीको शुभ–कामना आदानप्रदानमा लाखौं कार्डहरू खर्चिन्छन् र पत्रपत्रिकामा विज्ञापनको छेलोखेलो हुन्छ । जाँड–रक्सी, तास–जुवा र मन्त्रालयदेखि स्थानीय तहका कार्यालयहरूमा भ्रष्टाचारका ‘एक टोकरी’ का भागवण्डाको हिसाबसमेत कर्मचारी, व्यापारी, ठेकेदार र शक्ति केन्द्र वा शक्ति पीठहरूमा छलफल चालू रहन्छ । दसैं बिदा र १५ दिनमा गरिने फजुल खर्चलाई मात्रै व्यवस्थित गर्न पाए प्रम ओलीले ‘समृद्धि’को गीत गाउनै पर्दैन, आफै एक एक पाइला गरेर देशको समृद्धिको बाटो लाग्नेछ । एक महिनाको भन्सारको भ्रष्टाचारको रकमले शिक्षा निःशुल्क र अनिवार्य गर्न सकिन्छ भने अर्को एक महिनाको भ्रष्टाचारको रकमले स्वास्थ्य सेवा निःशुल्क गर्न सकिन्छ, हिसाब गरेर हेरौं ।
दुर्गाको महिमा भजन, पूजा र झिलिमिलीले गर्छन् तर दुर्गा शक्तिकी देवी हुन् अर्थात् राज्य शक्तिको केन्द्र हो, राज्य शक्ति राजनैतिक उद्देश्यसँग सम्बन्धित छ र त्यसको निम्ति सबै महिलाहरू आ–आफ्नो वर्गको हितमा उठ्नु आवश्यक छ भन्ने कुरा सबैको मनमा नगएको देखापर्छ । हो, २० प्रतिशत माथिल्ला वर्गका महिलाहरू शैक्षिक, सामाजिक, आर्थिक र राजनैतिक रूपले सक्षम छन् । ती महिलाहरू राष्ट्रपतिदेखि माथिल्ला कर्मचारीहरू, बैड्ढ उद्योगधन्दा, शिक्षालय र सेना–प्रहरी र शासक परिवारमा छन् । तर ८० प्रतिशत महिलाहरू हरेक क्षेत्रमा पछाडि छन्, यसकारण कामदार वर्ग र निम्न पुँजीपति वर्गका महिलाहरू घुमाइफिराइ शिक्षा क्षेत्र र राजनैतिक क्षेत्रमा अग्रसर नभएसम्म भगवतीको पुजाको वास्तविक जीवनमा सार्थकता देखिने छ ।
दसैंका दुर्गा र शक्ति पीठहरूमा घण्टौं लाम लाग्छन् । हाम्रा महिलाहरू भने निर्वाचनमा मत खसाल्न घण्टौ लाममा बस्छन् । पहिलो पटकको लाम धार्मिक हो, मनभित्रको व्यक्तिगत इच्छा–आकाङ्क्षासँग सम्बन्धित छ भने दोस्रो पटकको लाम देखिने गरी दलका उम्मेदवारहरूको हार–जीत, सरकार निर्माणसँग र देशको नीति निर्माणसँग सम्बन्धित हुन्छ । यसकारण दोस्रो पटकको लाममा घण्टौ बसेजस्तै महिलाहरू टोल, सडक र सभामा घण्टौं छलफल, नारा–जुलुस र सङ्घर्षमा सामेल नभएसम्म समाजको ठूलो परिवर्तनको आशा गर्नुहुन्न ।
वर्तमान संसदमा उपस्थित महिलाहरू अधिकांश पुँजीवादी दलका प्रतिनिधिहरूको रूपमा उपस्थित छन् भने तिनीहरूले समर्थनमा उठाएका हातहरूले पुँजीपति वर्गकै सेवा गर्छ र पुँजीपति वर्गको सेवाले गरिब र कामदार वर्गको अहित निश्चित छ । अब नेपाली महिलाहरूका भगवती पनि दुई वर्गमा विभाजित हुनेछन् – कामदार वर्गका भगवती र शोषक वा पुँजीवादी वर्गका भगवती ।
हिजोका नेपाली संस्कृति वा धार्मिक पर्वहरूलाई पनि बुझेर मनाउँदा शान्ति र सुुखको अनुभव हुनेछ । नेवारहरूको पुरानो र फुटेका भाँडा–कुँडा फाल्ने दिन छ्यालापुन्ही, सिटी नखा, (इनार, पोखरी आदि पानीको स्रोत सफा गर्ने दिन) घर सफा गर्ने, छाना मर्मतको दिन आदिबारे जान्ने बुझ्ने र काम गरेपछि मात्रै भोज खाने गर्दा नेपाल र नेपाली जनताकै हित हुने थियो । बरोबर घरको चुकुल फेर्ने र घर मर्मत गर्ने दिन बिर्सेर भोजमात्रै खाने गरेको हुँदा धेरै घरहरू भत्केको जानकारहरू बताउँछन् । यसकारण भोजमात्रै खाने होइन – त्यस नखा वा चाडपर्वले निश्चित गरेको काम गर्नु पनि फलदायी हुनेछ । त्यस्तै भगवतीको अर्थ महिलाहरू वा छोरी र बुहारीहरूलाई राजनीतिमा अगाडि सार्नुपर्ने दृष्टिकोण राखेमा देशको आधा जनसङ्ख्याले देशको राजनैतिक व्यवस्थालाई आमूल परिवर्तनको दिशामा लानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *