भर्खरै :

तलेजु भवानीको सेतो घोडा जात्रा

ओम धौभडेल
भक्तपुर नगरमा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म विजया दशमी अर्थात् मोहनीको अवधिमा यहाँ नला सनेगु, कुछि भ्वय्, स्याक्वट्याक्व, ताँ पूजा, पायो जात्रा, निकुथु जात्रा, खँमेय् जात्राजस्ता थुप्रै जात्रा संस्कृति मनाउने चलन छ । यसैबीच प्रत्येक वर्ष आश्विन शुक्ल दशमीको मध्यरातमा तलेजु भवानीको पायो जात्राको क्रममा सेतो घोडाको जात्रा हुन्छ । सेतो घोडालाई तलेजु भवानीको बाहनको रुपमा लिइन्छ । तलेजु भवानी विराजमान मूलचोकको उत्तर–पूर्वी कुनामा उक्त सेतो घोडा राख्ने तबेला छ । सो तबेलामा तलेजु भवानीको वाहन सेतो घोडा कहिल्यै खाली गर्नु हुँदैन भन्ने अर्को मान्यता छ । तलेजु भवानी, दुमाजु देवी, वांकुली देवी आदि देवीहरू समीप बस्न पाउनु उक्त घोडाको ठूलो अहोभाग्य हो । अझ वर्षको एकपटक तलेजु भवानीको बाहनको रुपमा तलेजु भवानीको जात्रा हुने मार्गमा उक्त घोडाको जात्रा हुने परम्परा छ ।
प्रत्येक वर्षको विजया दशमीको मध्यरातमा ज्योतिषीले चन्द्रमाको गतिअनुसार थाः न्ह्यायेगु (माथि सवारी हुने) वा क्वः न्ह्यायेगु (तल सवारी) हुने निर्णय पहिले नै भएअनुसार तलेजु भवानीको जात्रा अगाडि सेतो घोडाको जात्रा हुन्छ । जात्रा पूर्व तबेलामा भेंडा बली दिई गोप्य पूजा गरिन्छ । त्यसपछि घोडालाई चन्द्रमाको गतिअनुसार कुन भेगबाट जात्रा हुने हो सोअनुसार थने (माथिल्लो भेग) मा सुनको ढोकाबाट पूर्वतर्फको बाटो अर्थात् ५५ झ्याले दरवार, बालाखु, चोछें, भोलाछें, थालाछें, तचपाल भीमसेन मन्दिर पछाडि हुँदै इनाचो, गोल्मढी, सुकुलढोका, क्वाछें, टौमढी भएर गःहिटीस्थित स्वबुगं भैरव पु¥याइन्छ । सेतो घोडालाई तचपालभन्दा पूर्वतिर लाने गर्दैन । यो चलनबारे एक भनाई छ । भक्तपुर नगरको पूर्वतर्फ विराजमान ब्रह्मायणी देवीको वाहन पनि सेतो घोडा नै हो । त्यही भएर भक्तपुरको पायो जात्राको क्रममा सदैव तलेजु भवानीको सेतो घोडा ब्रह्मायणी देवीले आफ्नो बाहनको रुपमा लैजाला भनी तचपालबाटै तलतिर फर्काउने गरेको हो भन्ने किवंदन्ती छ । यदि क्वने (तल्लो भेग) मा गएमा सुनको ढोकाबाट पश्चिमतर्फको खौमा, इटाछें, वंशगोपाल, नासमना, बोलाछें हुँदै गःहिटीस्थित स्वबुंग भैरव दर्शनपश्चात तलेजु फिर्ता हुने गर्दछ । यसक्रममा तलेजुको सुनको ढोका अगाडि सेतो घोडा तीन पटक ओहोरदोहोर गराइन्छ । जसलाई भक्तपुरको घोडाजात्रा पनि भन्ने चलन छ । पहिलो जात्राको क्रममा घोडालाई भव्यरुपमा सिङ्गारिने गथ्र्यो । घोडाको टाउको, हात–खुट्टामा सुनका गरगहनाले सजाएको हुन्थ्यो । तर केही समय अगाडिदेखि पायो जात्राको क्रममा घोडालाई जता पायो उतै लग्ने र भीडको कारणले घोडालाई सुनको गरगहना लगाउने गरेको छैन । ती सबै गरगहना तलेजुभित्र सुरक्षित राखिएको छ । अचेल घोडालाई जथाभावी गर्न नपाओस् भनी सैनिक पहरामा घोडाको जात्रा हुने गरेको छ । तलेजुभित्रको सेतो घोडा वर्षको ३६४ दिन तलेजु परिसरमै सीमित रहने गर्दछ । घोडाले वर्षको एक दिन भक्तपुर नगरको आधा चक्कर लगाउने गर्दछ । त्यही भएर तलेजु भवानीको वाहनको रुपमा सेतो घोडा बस्ने तबेला मूलचोक समीप बनेको छ । उक्त सेतो घोडालाई दिनहुँ खानाको व्यवस्था गर्न, स्याहारसुसार गर्न, विशेषगरी पायो न्ह्याकेगु जात्राको क्रममा नगर परिक्रमा गराई पुनः तलेजुभित्र तबेलामा सुरक्षित राख्न घोडाको सुसारेको व्यवस्था छ । पहिला पहिला त एउटा घोडाको लागि ३२ जनासम्म रकमीको व्यवस्था रहेबाट घोडाप्रति राज्यको दृष्टिकोण बुभ्mन सकिन्छ । घोडाको लागि १५ रोपनीभन्दा बढी जग्गाको व्यवस्था गरिएको थियो । तर ती रकमीहरूबीच जग्गाको आम्दानीको विषयमा झैंझगडा भएपछि सो कार्य गर्न ८ जनाको मात्र व्यवस्था भयो । तर अहिले ५ जनाले गर्दै आएका छन् । उनीहरूको काम तलेजु भवानीको सेतो घोडालाई दैनिक आलोपालो गरी स्याहार–सुसार गरी तबेलालाई सफा सुग्घर राख्ने, गुठी कार्यालयले उपलब्ध गराएको पराल, पिठो खुवाउने र टहल सेवा गर्ने, पायो न्ह्याकेगु जात्रामा घोडा जात्रा गर्ने, जात्रापश्चात् घोडालाई सगुन दिई तबेलामा राख्ने हो । कथंकदाचित घोडाको मृत्यु भएमा तुरुन्त अर्को घोडाको लागि पहल गर्ने काम उनीहरूको हो । तलेजु भवानीको वाहन रहने सो तबेला खाली राख्नुहुँदैन भन्ने मान्यता छ ।
तत्कालीन नेपालमण्डलको राजधानी भक्तपुरमा नेपाल संवत् ४४३ पौषशुक्ल नवमी शनिबारको दिन तलेजु भवानीको आगमन भएको इतिहास छ । तलेजु भवानीको पायो न्ह्याकेगु अनि सेतो घोडाको जात्रा सोही समयदेखि निरन्तर चल्दैआएको जात्रा हो । विशेषगरी लिच्छवी एवं मल्लकालमा सामरिक दृष्टिकोणले समेत घोडाको ठूलो महत्व भएको सन्र्दभमा अझ तलेजु भवानीको वाहन सेतो घोडा भएको हुँदा तत्कालीन राजा तथा शासकहरूले घोडाको विषयमा अलि बढी नै चासो राखेको भेटिन्छ । धार्मिक एवं पौराणिक ग्रन्थहरूमा समेत रथको अग्रभागमा फूर्तिका साथ रहने घोडाको विषयमा नहकुललाई त ज्ञाता मानिन्छ । त्यसै भएर पाण्डुपुत्र नहकुलले घोडाको सम्बन्धमा थुप्रै ग्रन्थहरू बनाएका मानिन्छ । त्यस्तै घोडाको विषयमा जानकार अर्का व्यक्तित्व जयदत्त हुन् । मल्लकालमा यहाँ घोडाको बारे जति पनि ग्रन्थहरू लेख्ने वा सार्ने काम भए, यी दुई ज्ञाताहरूकै भरमा भएको देखिन्छ । राष्ट्रिय अभिलेखालयमा भेटिएको ‘अश्वचिकित्सम्’ नामको तीनवटा ग्रन्थहरूका रचयिता उनै नहकुल हुन् । यी तीनवटै ग्रन्थहरूमा घोडालाई लाग्ने विभिन्न रोगहरू तथा त्यसको निदानदेखि घोडाको लक्षण र घोडचढीजस्ता विषय समावेश छन् । यी तीनवटा ग्रन्थहरूमध्ये दुई वटा क्रमशः ने.सं.७९९ र ने.सं.८१३ मा लेखिएका वा सारिएका थिए भने अर्को एउटाको मिति लेखिएको छैन । जसमा ने.सं. ७९९ श्रीपञ्चमीको दिन लेख्न सिध्याएको ग्रन्थमा हेमन्त मल्लको नाम उल्लेख छ । यहाँ देखिएका हेमन्त मल्ल कान्तिपुर, भक्तपुर, ललितपुर वा अरू कुनै ठाउँको हो, अध्ययनको विषय छ । ने.सं. ८०७ फागुण शुक्ल नवमीको दिन लेख्न सिध्याएको ‘अश्ववैधकम्’ नामको ग्रन्थको अन्त्यमा उनै हेमन्त मल्लको नाम छ । यो घोडाकै विषयमा जयदत्तले रचना गरेको कृति हो । यसबाट हेमन्त मल्ल घोडासम्बन्धी रुचि राख्ने व्यक्ति हो भनी बुझ्न सकिन्छ । उनले ने.सं.८१४ मा आध्यात्म रामायण लेखेबाट उनी एक विद्वान रहेको पुष्टि हुन्छ । त्यस्तै राष्ट्रिय अभिलेखालयमा जयदत्तले रचना गरेको ‘अश्ववैधकम्’ नामको ८ वटा ग्रन्थहरू भेटिएका छन् । उपत्यकाका तीन राज्यहरूमा जयदत्तको कृतिबाट भक्तपुर राज्य बढी प्रभावित रहेको देखिन्छ । यसमा ने.सं. ७१३ मा भक्तपुरका राजा जर्गज्योति मल्लको पालामा ‘अश्ववैद्यकम्’ ग्रन्थ सार्ने काम भयो । जुन काम जमन्तराजदेवले गरेको स्पष्ट उल्लेख छ । उनको परिचय पाउन सकिएको छैन । यही ग्रन्थ पुनः ने.सं. ८०८ मा राजा जितामित्र मल्लको समयमा सार्ने काम भयो । जतिबेला यहाँ भागिराम कायस्थ प्रमान (प्रधानमन्त्री) थिए । त्यस्तै अर्को एक ‘अश्ववैधकम् सटिकम्’ नामको ग्रन्थको नेपालभाषाको टीका ने.सं.७३८ मा जगज्र्याेति मल्लकै समयको कृति हो । जसमा घोडाको शरीरको लक्षण तथा चिकित्सा दुवै पक्ष समेटिएको छ । सो ग्रन्थका मूल रचनाकार उनै जयदत्त हुन् । त्यस्तै राष्ट्रिय अभिलेखालयमा घोडासम्बन्धी लेखिएका ४ वटा अश्वशास्त्र रहेका छन् । यसमा ने.सं.८१० कार्तिक शुदि नवमीको मितिमा राजा जितामित्र मल्लको समयको एउटा अश्वशास्त्र रहेको छ । यो समयमा भक्तपुरमा भागिराम प्रधानाङ्ग रहेको पनि उल्लेख छ । घोडाको विषयमा लेखिएको अर्को एक ग्रन्थ ‘अश्वायुर्वेद’ हो । जसका ग्रन्थकार दुर्लभसुतगण शर्मा हुन् । यो ग्रन्थमा घोडालाई लाग्ने विभिन्न रोगहरूको आयुर्वेदिक औषधिको विषयमा लेखिएको छ । यो ग्रन्थ ने.सं. ८५० मार्गशिर कृष्ण दशमीको दिन भक्तपुरका राजा रणजित मल्लको समयमा लेखिएको हो, जतिबेला यहाँ यज्ञनारायण दैवज्ञ प्रधानाङ्ग रहेको उल्लेख छ । यसबाट यो ग्रन्थ भक्तपुरमै रचना भएको स्पष्ट छ । यसबाहेक घोडाका विभिन्न विषयमा नहकुल चिकित्सम्, वाहनसार, शालीहोत्रम्, शालीहोत्र टिप्पणी, शालीहोत्र सारसङ्ग्रह, शालीहोत्र संहि
ता, सारसङ्ग्रहजस्ता थुप्रै ग्रन्थहरू देख्न सकिन्छ । यी विभिन्न घोडासम्बन्धी ग्रन्थहरूको अध्ययनबाट भक्तपुरका शासकहरूले घोडाप्रति विशेष ध्यान दिएको पाइन्छ । यसमा जज्र्याेति मल्लको नाम विशेषरुपमा आउँछ । सम्भवतः तलेजु भवानीको पायो जात्रामा सरिक हुने परम्परालाई दिगो राख्ने उद्देश्यले घोडाको आयु बढाउन यस्ता ग्रन्थहरू लेख्न–लेखाउन प्रेरित गरेको हुनुपर्छ । त्यस्तै जितामित्र मल्ल, भूपतीन्द्र मल्ल, रणजित मल्लको समयमा घोडासम्बन्धी प्रशस्त ग्रन्थहरू पाउनुबाट तलेजु भवानीको जात्रामा घोडाले ठूलै महत्व पाएको पुष्टि हुन्छ ।
यस्तो महत्वपूर्ण जात्राको विषयमा अझ बढी प्रचारप्रसार गरी जात्रालाई अझ व्यवस्थित गर्नु आजको आवश्यकता हो । जात्रामा हुलमुल गर्न नदिन र घोडालाई जता पायो, उतै लान नदिन सके यो जात्राले ठूलो महत्व पाउनेमा द्विविधा छैन । मल्लकालमा जस्तै घोडालाई सुनका गरगहनाहरूले सिङ्गारपटार गरी भव्य रुपमा घोडा जात्रा सम्पन्न गर्नु आवश्यक छ । जात्रा हामी मनाउने तर जात्राको सुरक्षाको नाममा सेनाको पहरामा जात्रा हँुदै आउनु लाजमर्दो विषय हो । यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *