भर्खरै :

रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा कहिलेबाट ?

– सुरज सिंह
यसपालि पनि दसैं मनाउन वैदेशिक रोजगारमा गएका धेरै युवाहरू विदेशबाट फर्के । तिनीहरूले विदेशका मरूभूमिदेखि लिएर बन्दरगाहहरूमा दासतुल्य भई काम गरेर दुई–चार लाख रूपैयाँ लिएर फर्केको कुरा सुनाए । फर्कंदा त्रिभुवन विमानस्थलको अध्यागमन विभागका कर्मचारी र प्रहरीहरूले घूस नदिएसम्म कानुनले छुट दिएकोसम्म केही कोसेली पनि खोसेर राखेको सुनाए । ती युवाहरूका दुःखकष्टका कुरा सुन्दा आँखा रसाए पनि उनीहरूका परिवारका खुसी र सम्पन्नता प्रदर्शन हेर्दा तिनीहरूको पीडा जहान परिवारले कति पनि अनुभूति गरेको देखिएन ।
वैदेशिक रोजगारीबाट कमाएर पठाएको पैसा अधिकांशको ऋण तिर्ने, श्रीमती र परिवारका अन्य महिलाका लागि हिरामोती जडित सुनका गरगहना बनाउने, घर नभएकाले घर बनाउने, घर भएकाले महँगा महँगा फर्निचर जोड्नेमै सीमित भएको देखिन्छ । थोरैले मात्र रेमिट्यान्सको रकम शेयर खरिद तथा गाईपालन, कुखुरापालन, घरेलु उद्योगजस्ता उत्पादनमूलक कार्यमा लगानी गरेको देखिएको छ । विदेशको आम्दानी गरगहना, फर्निचर, कम्प्युटर, फ्ल्याट टीभी आदिमा खर्च हुँदा जीवनस्तर वृद्धि भएको त देखिएको छ तर त्यसले पुनः रोजगारीको लागि विदेशै जानुपर्ने बाध्यता अन्त्य गरेको छैन । त्यसैले २–३ वर्ष विदेशबाट फर्केका युवा १–२ महिनामै पुनः विदेश जान म्यानपावर कम्पनीहरूकहाँ धाइरहेका छन् । त्यस्ता युवाहरूका लागि समृद्धि सपना देख्ने र रगत–पसिना एक गरी कमाउने तर आफैले उपभोग गर्न नपाउने अवस्था बनिरहेको छ । जबसम्म रेमिट्यान्सको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने र काम गर्ने वातावरण बनाइँदैन र लगानी गरी काम गरिंदैन युवाशक्ति विदेशिने क्रम रोकिने देखिंदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *