भर्खरै :

“संरा अमेरिकाले प्रभुत्वको सोच त्याग्नु राम्रो”

लण्डन, २० अक्टोबर । बेलायतका लागि चीनका राजदूत ल्यु स्याओमिङले संरा अमेरिकाको आन्तरिक मामिला र मध्यावधि चुनावमा चीनको हस्तक्षेपको कुरा गर्नु मूर्खतापूर्ण र सामान्य बुझात्न्दा विपरीत भएको बताएका छन् । उनले हालै संरा अमेरिकी सरकारले चिनियाँ उत्पादनमाथि थोपरेको करलाई जायज प्रमाणित गर्ने मनसायले त्यस्तो कुतर्क गर्नु ठीक नभएको बताएका छन् ।
बेलायतबाट प्रकाशित हुने द डेली टेलिग्राफ नामको पत्रिकामा राजदूत ल्युको नाममा प्रकाशित लेखमा उनले त्यस्तो विचार व्यक्त गरेका हुन् ।
चीनका वरिष्ठ कूटनीतिज्ञमा गनिने ल्युले चीनको आजको विकास कुनै देशको निगाहा नभई चिनियाँ जनताको लामो समयको कडा सङ्घर्षको परिणाम भएको बताएका छन् ।
‘शान्ति, सहकार्य र कडा परिश्रममा चिनियाँ जोड’ शीर्षक लेखमा भनिएको छ, “यसको जस कसैलाई जाँदैन । चिनियाँ जनता नै यसका भागीदार हुन् । … आफ्नो जीवन सुधारमा अहिलेको बाटो सही हो वा होइन भन्ने कुराको निर्णय चिनियाँ जनताले नै मात्र गर्नसक्दछन् ।”
“पश्चिमा शक्ति राजनीतिको परम्परागत सिद्धान्त भनेको ‘बलियो देशले प्रभुत्व जमाउने हो’ र त्यही आधारमा संरा अमेरिकाले चीन संरा अमेरिकी नेतृत्वलाई चुनौती दिन र फेर्न चाहन्छ भनी सोच्ने गरिएको छ । त्यही कारण पछिल्लो व्यापार तनाव हुन गएको हो ।” ल्युले भनेका छन् ।
“तर यो सोचाइ चीनको विकाससम्बन्धी मनसायको गलत बुझाइमात्र हो । किनभने चीनले शान्तिपूर्ण विकासको बाटो अँगाल्दै आएको छ । त्यो बाटोमा स्थापित शक्ति देशहरू कहिल्यै हिंडेका छैनन् ।” ल्युको विचार छ ।
उनले संरा अमेरिकाले कब्जा गर्ने, विस्तारवादी, प्रभुत्ववादी र हस्तक्षेपको राजनीति त्याग्ने समय आइसकेको छ र चीनको सबैको हित हुने सहकार्यको नीति अँगाल्ने समय आइसकेकोमा जोड दिएका छन् ।
चीन र संरा अमेरिकाबीचको पछिल्लो तनावमा चीनले बाध्य भएर संरा अमेरिकाले लिएको कदमको प्रतिकारमा कदममात्र चालेको राजदूत ल्युले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *