भर्खरै :

‘मजदुर’ दैनिक परिवारलाई धन्यवाद !

–अमन दर्शनधारी
दसैंमा सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरू बन्द हुन्छन् । तर ‘मजदुर’ दैनिक बन्द भएन । दसंैजस्तो चाडको बेला पनि पत्रिका बन्द नगरी निरन्तर प्रकाशन भइरहनु स्वागतयोग्य छ । चाडबाड र भोजभतेरमा व्यस्त हुने नेवार समुदायका सञ्चारकर्मीहरूले वर्षैभरि पत्रिका निकाल्नु आश्चर्यको विषय बनेको छ । नेपालमा दुई हजारभन्दा बढी दैनिक, साप्ताहिक पत्रिका प्रकाशन भइरहेका छन् । एक दुई वटा पत्रिकाबाहेक अरु सबै पत्रिका विशेषगरी दसैं र तिहारमा बन्द हुन्छ । तर मजदुर दैनिकमा आबद्ध सञ्चारकर्मी र पत्रिकासित संलग्न अन्य मित्रहरूले आफ्नो घरखेत, चाडबाड र भोजभतेर नभनी पत्रिका निरन्तर प्रकाशन गरिरहेका छन् ।
दसैंमा अधिकांश मानिसहरू चाडबाड मनाउन, भोजभतेर गर्न, साथीभाइसँग डुल्न, खेल्न व्यस्त हुन्छन् । शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट टीकाटाला लाउने, परिवारका सदस्यहरू भेटघाट गरेर सुख दुःख बाँड्ने यही बेला हुन्छ । कति राजनीतिज्ञ, नेता, साहित्यकारहरू देश विदेशका पुस्तक पढ्छन्, नयाँ नयाँ पुस्तक पढेर ज्ञानार्जन गर्छन् । नेताहरू कार्यकर्ताको भेटघाटमा पुग्छन्, राजनीतिक प्रशिक्षण दिन्छन् र सुसूचित पार्छन् । साहित्य गोष्ठी र अन्तरक्रियात्मक कार्यक्रममा व्यस्त हुन्छन् । सचेत युवाहरू सामाजिक गतिविधि गर्छन् । कति नेता र मन्त्रीहरू शुभकामना आदानप्रदान गर्न चियापान कार्यक्रम राख्छन्, नेताहरू नै टीकाटालामा व्यस्त हुन्छन् ।
कति मानिसहरू जुवा तासमा व्यस्त हुन्छन् । रातिरातिसम्म जुवा तास खेलेर जीवन बिताउँछन् । कति युवाहरू गाजा, चरेस, भाङ खाएर रातिराति हिंड्छन् र हो–हल्ला गर्छन् । कति समय कटाउन डुल्छन् त कति मनोरञ्जन गर्छन् । यसरी घरधन्दा तथा अन्य काममा व्यस्त हुने बेला पनि मजदुर दैनिक प्रकाशन गरेर देशकै लागि उदाहरणीय काम मजदुर दैनिक परिवारले गरेको छ । मजदुर प्रकाशनमा आबद्ध मित्रहरू, लेख रचना दिने लेखक, समालोचक, ग्राहक, पाठक तथा विज्ञापनदाताहरू धन्यवादका पात्रहरू हुन् । ‘मजदुर’ दैनिकले दसैंमा पनि निरन्तरता दिएर विभिन्न राजनीतिक, दार्शनिक, साहित्य लेख छापेर जनतालाई सुसूचित पार्ने काम गरेको छ । कुनै पनि पत्रिका प्रकाशन नभएको बेला उदाहरणीय काम गरेर देश विदेशका समाचार, गतिविधि, घटना र विचार प्रवाह गरेर पाठक तथा ग्राहकहरूलाई खुराक दिने काम मजदुर दैनिकले गरेको छ ।
त्यसो त कति दसंैमा पनि पत्रिका चलाउने कस्ता पत्रकार भनी गुनासो गर्छन् । कतिले चाड मनाउन छोडेर, भोजभतेर खाएर घुम्ने, रम्ने र आराम तथा मनोरञ्जन गर्ने बेलामा पनि पत्रिका निकाल्ने भनी धिक्कार्छन् । मजदुर दैनिकमा आबद्ध सञ्चारकर्मी तथा सहयोगीहरूको लागि दसैं नै छैन ? कमसेकम दसैं र तिहार दुई चार दिन त फुर्सत मिलाउनुपथ्र्याे नि भनी घोचपेच गर्छन् ।
हुन पनि घर परिवारका सदस्यहरू अरु सबैलाई फुर्सत छ, तिमीलाई कहिल्यै फुर्सत किन हुँदैन भनी प्रश्न गर्छन् । २०७२ वैशाख १२ र १३ गते भूकम्प गएको कारण वैशाख १३ र १४ गते दुई दिनबाहेक मजदुर दैनिक पत्रिका चलेको मैले सुनेको छु । भूकम्पको बेला ठूलो धनजनको क्षति भएको थियो । सुन्दर भक्तपुर नगर माटोको डङ्गुरजस्तो भएको थियो । नगरको पुरानो बस्ती सुनसान थियो । जताततै बाटो बन्द थियो । असङ्ख्य नगरवासी भूकम्पले पुरेका थिए, मरेका थिए । ठूलो धनसम्पति क्षति भएको थियो । जताततै रुवावासी चलेको थियो ।
साँझ भएपछि नगरभित्र पस्न मान्छे डराउँथे । अन्धकार थियो । जहाँतहीं कुकुरै कुकुर थियो । चोरको बिगबिगी थियो । बेलुका पखदेखि जाँडरक्सी खाएर युवाहरू सडक सडकमा होहल्ला गरी हिंड्थे, कतिलाई कुटपिट गरेको सुनियो । कहाँ बसौं, के खाऔं भइरहेको स्थितिमा पनि पत्रिकाले निरन्तरता पाउनु सामान्य काम होइन । परिवारका सदस्यहरूको विचल्ली, भय, रिस छोडेर पत्रिका निकाल्नेतर्फ समय दिनु राम्रै काम हो । पत्रकार र अन्य सहयोगी मित्रहरूको त्यस काम प्रशंसनीय छ, अनुकरणीय छ । यहाँहरूको सो कार्यको अवश्य मूल्याड्ढन हुनेछ, मूल्याड्ढन गर्नुपर्छ । यसकारण फेरि एकचोटि मेरो धन्यवाद छ । यहाँहरूप्रति मेरो नतमस्तक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *