भर्खरै :

तराईमा सराए नाच

नीरु गौतम
कपिलवस्तु, ७ कार्तिक । पहाडी जिल्लाबाट लोप हुने खतरामा रहेको सराए नाच रुपन्देही र कपिलवस्तुमा पनि प्रदर्शन गरिएको छ । गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादसैंको अवसरमा नाचिने सराए नाच लोप हुने खतरा रहेको भन्दै ती जिल्लाबाट बसाइँ सरेर तराई झरेकाहरूले प्रदर्शन गरेका हुन् ।
पाल्पाली फौजले अङ्गे्रजलाई परास्त गरेको स्थान जीतगढीमा आइतबार स्थानीयवासीले खुँडा, तरवार, खुकुरीसहितका हतियार प्रदर्शन गर्दै सराए नाच नाचे । यस्तै कार्यक्रम पूर्णिमाको दिन बुटवलको देवीनगरमा आयोजना हुनेछ । कपिलवस्तुका जीतपुर, पाँचथरलगायत स्थानमा समेत स्थानीयवासीले सराए नाच देखाएका छन् । यस्तो नाचमा गुल्मी, अर्घाखाँची र पाल्पाबाट आएका हजारौं सर्वसाधारण सहभागी थिए ।
के हो सराए
यस क्षेत्रमा सराएको अर्थ चुचुरोमाथिको समथर भाग भन्ने बुझिन्छ । चुचुरामाथि कोतमा शक्तिपीठ या मन्दिर हुने र ऐतिहासिक हतियारको भण्डारण पनि कोतको मन्दिरमा हुने भएकोले कोत नजीकैको समथर भागमा हतियारसहित नाच्ने परम्परा भएकोले यसलाई सराए भनिएको संस्कृतिविद् राजेन्द्रकुमार आचार्यको भनाइ छ ।
सराए शब्दलाई बृहत् नेपाली शब्दकोषमा यात्री बस्न वा विश्राम गर्न बनाइएको सत्तल, पाटी वा विशेष घर भनिएको छ । साथै विशेष पर्वका दिन मन्दिरभित्रका खुँडा, तरवार, खड्ग आदि हतियार हातमा लिएर गुल्मी, अर्घाखाँचीतिर बाजाको तालमा नाचिने एक प्रकारको जात्रा भन्ने उल्लेख छ ।
ऐतिहासिक महत्व
भुरेटाकुरे राजाको पालादेखि नै यो नाच प्रदर्शन हुँदै आएको मान्यता छ । त्यसबेलाका राजाले रामले रावणलगायत राक्षस बध गरी मानव जातिलाई मुक्ति दिलाएको खुसीयालीमा विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म सराए नाच्ने परम्परा चलाएको बताइन्छ । अर्को मान्यतानुसार ५६५ वर्षअघि दानवीय स्वभाव भएका जाट राजालाई मारेको सम्झनामा सो नाच नाच्ने परम्परा थालिएको किंवदन्ती छ । ती राजाले चाहेका बेला स्थानीयवासीले बालबालिकाको बलि दिनुपर्ने प्रचलनका कारण आक्रान्त भएकाले उनकै भारदार र श्रीमतीकै योजनामा डल्ले भन्ने स्थानमा मारिएको खुसीयालीमा यो नाच नाच्ने प्रचलन चलेको बताइन्छ ।
यो नाच १५ औं शताब्दीदेखि सुरु भएको विश्वास गरिएको इतिहासका अध्येता अर्घाखाँचीका कुलप्रसाद आचार्यले बताउनुभयो । युद्ध जित्न सहयोग पु¥याएका हतियारको सम्मानमा ‘वाख्खै’ शब्द उच्चारण गर्दै यो नाच नाचिन्छ । ‘वाख्खै’ शब्दको अर्थ ‘त्यसलाई नछाड’ भन्ने हुन्छ । हातमा खुकुरी, खुँडा, तरवार, ढाल र लठ्ठी हातमा लिएर दमाहा, नरसिंहा, ट्याम्को, सनही र झ्यालीको तालसँगै सराए नाच नाचिन्छ ।
आइतबार बुटवलको जीतगढीमा आयोजित नाचमा सराए नाच आयोजक समितिका संयोजक जङ्गबहादुर श्रीसले यो नाच कोत वा मन्दिर नजीकैको समथर भूभागमा मात्र नाच्ने गरिएकाले जीतगढीमा पनि दुर्गा मन्दिरको आँगनमा आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार गुल्मीका धुर्कोट र चोएगा, अर्घाखाँचीका अर्घाभगवती र भण्डारथुम, पाल्पाको भैरवस्थानलगायत ठाउँमा यो नाच विशेष किसिमले हजारौंं जनताको उपस्थितिमा नाचिन्छ ।
अर्घाखाँचीको अर्घामा कोजाग्रत पूर्णिमाको अवसरमा नाचिने यो नाच हेर्न जिल्लाका अन्य भूभागबाट दुई दिन पैदल हिंडेरै बास बस्न आउने प्रचलनसमेत थियो । अहिले ती स्थानमा यो जात्रा प्रदर्शन हुने गरे पनि पहिलाको तुलनामा सर्वसाधारणको सहभागिता भने कम हुने गरेको छ ।
तरवार, खुँडालगायत हतियारसहित पञ्चैबाजाको तालमा नाचिने यो नाचमा देवीका प्रतीकका रुपमा लिइने आलमलाई लिएर नाच्ने प्रचलन छ । शक्तिपीठका अगाडि आलम स्थापना गरिएको स्थानमा पुजारीको हातबाट टीका लगाएर हतियार पूजा गरी नाच्ने गरिन्छ । गोल घेरामा सराए नाचेपछि हतियार नचाउने कौशल प्रदर्शन गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *