भर्खरै :

मेरो सादगी जीवन

शुशिला कार्की
हुर्किंदै गर्दा मैले सिकेको सबैभन्दा ठूलो पाठ हो– सादा जीवन । मानिस असल र इमानदार बन्नुपर्छ भन्ने पाठ मैले घरबाटै सिकेकी थिएँ । मलाई कसैले रटाएर यो पाठ कण्ठ बनाएको थिएन । व्यवहारबाटै मैले यो पाठ सिकेकी थिएँ । सादा जीवन जिउन सिकाउने मेरो पहिलो गुरु हुनुहुन्थ्यो, पिताजी । पिताजीले हामीलाई सधैं सादा लवाइखवाइ र सत्य बचन सिकाउनुभयो । विराटनगरमा फेसन भित्रिइसकेको थियो तर हाम्रो घरमा फेसन गर्ने चलन थिएन । हाम्रा जम्मा चार जोर लुगा हुन्थे । दुई जोर घर बस्दा लगाउने, दुई जोर बाहिर जाँदा । कहिलकाहीं धोएका लुगा सुक्दैनथे । बिहान उठेर कलेज जानुपथ्र्यो । रातभरि फ्यान चलाएर सुकाइन्थ्यो । फ्यान चलाउँदा पनि नसुके माथिबाट अर्को कपडा राखी इस्त्री लगाइन्थ्यो । विद्युतीय आइरन त्यतिबेला आइसकेको थिएन । कोइलावाला आइरन प्रयोग गरिन्थ्यो । घरमा सबैलाई काम बाँडिएको हुन्थ्यो । काम गर्न लाज मान्नुहुन्न भन्ने त्यहींबाट सिकियो ।
सादा जीवन सिकाउने अर्को गुरु हो, बनारस हिन्दू विश्वविद्यालय । बनारस पढ्न जाँदा मैले विराटनगरबाट टन्नै स्कर्टहरू लिएर गएकी थिएँ । त्यतिबेला विराटनगरमा स्कर्ट लगाउनु सामान्य मानिन्थ्यो । हिन्दू विश्वविद्यालयको होस्टलमा बस्न थालेको साता दिनपछि वाष्णैजी भनेर हामीले बोलाउने वार्डेनले मलाई बडो पे्रमपूर्वक सम्झाउनुभयो, “छोरी, शरीरको अङ्ग देखिने लुगा बनारसमा नलगाऊ । तिम्रो देशमा यस्तो लुगा सामान्य मानिन्छ होला । यहाँ मानिसहरूले राम्रो मान्दैनन् ।” उहाँले छोरी भनेरै माया गरेर सम्झाउनुभएको थियो । त्यसको भोलिपल्टै बनारसको गुदौलीया गएर मैले ३० रुपैयाँका दरले ६ वटा सारी किनेर ल्याएँ ।
मलाई सादगी जीवनको पाठ सिकाउने अर्की गुरु थिइन्, बीएचयुकै एक बङ्गाली मित्र । उनी हामी बस्ने होस्टेलमै बस्थिन् । संस्कृतकी छात्रा थिइन् । उनले मासिक ३ सय रुपैयाँ छात्रवृत्ति पाउँथिन् । त्यसबाट मासिक १ सय रुपैयाँ खर्च गर्दैनथिन् । बाँकी पैसा बचाउँथिन् । होस्टलमा धनीमानीका छोरीहरू पनि थिए तर आर्थिक स्तर कम भएका विद्यार्थीको समूह नै बेग्लै थियो । उनीहरू खाना पनि एक ठाउँमा ल्याएर बाँडेर खाने गर्थे । एक दिन उनै बङ्गाली मित्रले दसासमेद गल्लीको बजारसम्म किनमेल गर्न जाऊँ भनिन् । मेरो पनि काम थियो, उनीसँगै गएँ । त्यो बजारबाट उनले १० रुपैयाँको एउटा मर्दाना धोती किनिन् र ५ रुपैयाँमा त्यसमा बुट्टा खिप्न लगाइन् । धोतीसँगै उनले ३ रुपैयाँको एउटा चोलोका लागि कपडा पनि किनेकी थिइन् । चार–पाँच दिनपछि उनले त्यो चोलो आफैले सिलाएर लगाई मेरो कोठामा आइन् । मान्छे काली–काली भए पनि त्यो लुगामा त्यहीं रङको टीका लगाउँदा उनी सा¥है राम्री देखिएकी थिइन् । पूरै कपडा उनले १८ रुपैयाँमा तयार पारेकी थिइन् ।
उनीसँग मेरो गहिरो मित्रता बनेको थियो । मनका सारा कुरा मसँग पोख्थिन् । उनले भनेअनुसार उनका पिता गाउँको सानो स्कूलका शिक्षक थिए । एकदमै न्यून कमाइ थियो उनको । त्यसैले ती साथीले आफ्नो छात्रवृत्तिबाट मासिक २ सय रुपैयाँ जोगाएर घर खर्चका निम्ति पठाउने गर्थिन् । उनको सरल र किफायती जीवनबाट मैले जिन्दगी कसरी जिउनुपर्छ भन्ने सिकें । सादा कपडा लगाएर र किफायती जीवन बाँचेर पनि उनी खुसी थिइन् । सुखी थिइन् । बडो मेहनतले पढ्थिन् । सुखी जीवन जिउन धेरै धनसम्पति होइन, इमानदारीपूर्वक मेहनतको कमाइ र निष्ठा भए पुग्दोरहेछ भन्ने मैले उनीबाटै सिकें ।
बनारस बसाइँकै प्रभावले नेपाल फर्किएपछि पनि मैले प्रायः सेतो सुतीको सारी लगाउँथें । विराटनगरजस्तो गर्मी ठाउँमा सुतीको कपडा शीतल पनि हुने । काठमाडौंमा भने धेरैले सुतीको सारीलाई धोती भन्दारहेछन् । विश्वविद्यालय जीवनको सादगीकै कारण मैले कहिल्यै पनि लिपस्टिक, गाजलजस्ता सृङ्गारमा ध्यान दिइनँ । चुरा पनि झट्ट नफुट्ने खालका किनेर वर्षौंसम्म लगाउन थालें ।
हाम्रो नेपाली समाज भने केही हदसम्म भड्किलो छ । केही आम्दानी गर्नेहरूले तडकभडक देखाउँछन् । आफू सम्पन्न भएको देखाउन पनि मानिसहरू तडकभडक देखाउने गर्छन् । सामान्य पोशाक लगाउने मानिसलाई साधारण सम्झेर मर्यादाको ख्याल नै नगर्ने संस्कार नै बनिसकेको छ । यस्तो कुसंस्कारको शिकार म पनि पटक–पटक बनेकी छु ।
२०३८ सालतिर म विराटनगरमा वकालत गर्दै थिएँ । त्यसै क्रममा काम परेर जिल्ला शिक्षा अधिकारीलाई भेट्न उनको कार्यालयमा गएँ । उनीसँग समय मागेरै म गएकी थिएँ तर उनका सहयोगीले मलाई जिशिअको कोठामा जानै दिएनन् । हुन त जिशिअले म आउने सूचना सहयोगीलाई दिएका रहेछन् । तर सहयोगीले मलाई अहिले खबर गर्छु भन्दै रोकिरहे । पछि जिशअ नै बाहिर जान भनी निस्किए । मलाई बाहिर कुरिरहेको देखेर छक्क पर्दै भने, “लौ हजुर, मेरो जरुरी काम थियो र पनि हजुर आउने भनेर पर्खेर बसिरहें । हजुर ढिलो आउनुभयो ।”
उनको कुरा सुनेपछि सहयोगीले नै स्पष्टीकरण दिए, “ए हजुरले भनेको वकिल साहेब उहाँ नै हो ? उहाँ त अघि नै पो आउनुभएको । के जान्नु हजुरले वकिल साहेब भन्नुभयो । मैले त उहाँलाई कोही मामुली मान्छेजस्तो देखेर पख्नुस् भनिदिएँ । लौ भूल भएछ ।”
मैले भन्नु केही थिएन । हाँसिदिएँ मात्रै । त्यस दिन मैले घरेलु कपडाको साधारण सारी लगाएर गएकी थिएँ । त्यसैले ती सहयोगीले म वकिल हो भन्नेसमेत पत्याएनन् । त्यस्तै, अर्को एउटा घटना पनि म सम्झिने गर्छु ।
एक जना बेलायती महिला थिइन् इसाबेला । ब्रिटिस प्रोजेक्टअन्तर्गत खानेपानी निर्माणमा कार्यरत थिइन् । उनीविरुद्ध एउटा गाली–बेइज्जती मुद्दा परेको रहेछ । त्यही मुद्दामा बहस गर्न मलाई धनकुटा जानु थियो । उनी धरानको फुस्रेमा बस्थिन् । गाडीमा सँगै जाने सल्लाह भएकोले म उनको बासस्थानमा गएँ । चियाखाजा भएपछि उनले मलाई गाडीमा बस्दै गर्नुस् भनेर कपडा फेर्न गइन् । म बाहिर निस्केर गाडीमा बस्न गएँ । अगाडिको सीटमा बस्न जाँदा ड्रात्र दाइ कराए, “ए दिदी तपाईं बस्ने होइन ।”
म अटेर गरेर बसिरहें । ऊ त उफ्रिँदै करायो, “त्यहाँ हाम्रा सरहरू बस्ने हो । तपाईं पछाडि बस्नोस् ।”
ऊ कराएको सुनेपछि म चुपचाप गाडीको पछिल्लो सीटमा बस्न गएँ । पछि इसाबेला आइन् । पछाडिको सीटमा म बसेको देखेर कराइन्, “रामबहादुरजी, हाम्रो वकिललाई किन पछाडि राखेको ?”
इसाबेलाको हप्की सुनेपछि रामबहादुर दाइ अत्तालिए । मसँग माफी माग्दै भने, “हजुर, थाहा भएन ? मलाई ठूलो मान्छे आउने भनिएको थियो, मैले चिनिनें ।”
रामबहादुर दाइको खासमा केही गल्ति थिएन । उनले देखे–सिकेको नै यही थियो । समाजले उनलाई सिकाएको त्यही थियो । उनले खासमा दुईवटा गलत संस्कार सिकेका थिए । पहिलो त उनले पोशाकले सजिएको ठूलो मानिस गाडीमा अगाडि बस्छन् भन्थे सिकेका थिए । मानिस त सबै समान हुन् । काम र पदमात्र फरक हुने हो । कुनै संरचनामा काम गर्दा प्रभावकारी परिणामका लागि वरियता छुट्टाइने हो । अर्को उनले राम्रो–नराम्रो छुट्टाउने आधार लवाइ–खवाइ हो भन्ने सिकेका थिए । मानिस त विचार, कर्म, इमानदारी र निष्ठाले सम्मानित हुने हो भन्ने सामाजिक संस्कार हाम्रो देशमा स्थापित भइसकेको छैन ।
विवाहपछि पनि मेरो जीवन सादगी नै रह्यो । झन्डैझन्डै एक्लो मानिससँग मेरो विवाह भएको थियो । दुर्गाजीसँग मेरो विवाह हुँदा उहाँका मातापिता हुनुहुन्नथ्यो । हाम्रो परिवार भन्नु नै हामी दुई थियौं । पछि छोरा जन्मेपछि तीन भयौं । दुर्गाजी अत्यन्त सादा जीवन रुचाउने स्वभावको हुनुहुन्छ । उहाँको त्यो स्वभाव अहिले पनि कायम नै छ । उहाँले कहिल्यै पनि तडकभडक देखाउन रुचाउनुभएन । उहाँका दुई भाइ हुनुहुन्छ । कहिलेकाहीं भेट्न आउनुहुन्थ्यो । मैले उहाँहरूमा पनि कहिल्यै तडकभडक पाइनँ । अत्यन्त इमानदार र परिश्रमी हुनुहुन्छ दुवै जना । कहिल्यै मानमनितो खोज्नुभएन ।
सादगी जीवनको अर्थ सादा पोशाक र सरल स्वभावमात्र होइन, मितव्ययिता पनि हो । मानिसहरूले जसरी हुन्छ, सकेसम्म धनसम्पत्ति थुपार्न खोज्छन् । आफ्नो मेहनतले इमानपूर्वक कमाएको सम्पत्ति जोड्नु आफैमा गलत होइन तर सम्पत्ति थुपार्नकै लागि जे पनि गर्ने प्रवृत्ति भ्रष्टाचारको मूल कारण हो । मेरो मनमा भने कहिल्यै पनि सम्पत्ति जोड्ने, धन थुपार्ने भन्ने आएन । मलाई जीवन धान्न मेरो कमाइले प्रशस्त पुग्थ्यो । हो, महँगो जीवनशैली अपनाएको भए मलाई पनि पैसाको अभाव पथ्र्याे होला । तर मैले कहिल्यै पनि त्यस्तो जीवन रोजिनँ ।
विवाह भएपछि कहिले धरान, कहिले विराटनगर गएँ । पछि अञ्चल अदालतको ठाउँमा पुनरावेदन अदालत गठन भएपछि विराटनगरमा बसियो । धरानमा रहेको मेरो ल फर्म पनि विराटनगरमा सारियो । मैले वकालतको आर्जनबाट धरानको वार्ड नम्बर १६ मा बनाएको चारकोठे पक्की घर बेचँे । त्यो घर बेच्दा प्राप्त रकमबाट मोरङको कटहरीमा १० कठ्ठा जग्गा किन्यौं । त्यो जग्गामध्ये अब मसँग ५ कठ्ठा र केही धुरमात्र बाँकी छ । १४ धुर जग्गा त बाटोले काट्यो । डेढ कठ्ठा जग्गा बेचेर मधुमारामा घर बनाएका थियौं । त्यो पनि अहिले बेचिसकेका छौं । बाँकी तीन कठ्ठा जग्गा बेचेर काठमाडौं धापासीमा घडेरी किन्यौं । २०६० मा मेरो आर्जनबाट जम्मा गरेको रकमले पेप्सी–काँडाघारीमा ५ आना २ दाम क्षेत्रफल भएको किनेकी थिएँ । २०७२ मा त्यो घडेरी बेचेर आएको ८० लाख रुपैयाँ लगानी गरी अहिले बसिरहेको घर बनायौं ।
यी सबै घर–घडेरी मैले आफ्नै आर्जनबाट जोडेकी हुँ । कसैकसैलाई न्याय क्षेत्रमा काम गर्दैमा यत्ति आम्दानी होला र भन्ने लाग्न सक्छ । हाम्रो साधारण र मितव्ययी जीवनबाट यो सम्भव भएको हो । हामीले घर बाहिर होटलमा गएर निकै कममात्र खाएका छौं । दुर्गाजीले पनि अति मीठो पकाउनुहुन्छ । उहाँले जेलमा बस्दा खाना बनाउन सिक्नुभएको रहेछ । स्वादिष्ट परिकार बनाउनमा दुर्गाजी माहिर हुनुहुन्छ ।
दुर्गाजीको मितव्ययिता पनि हाम्रो सरल जीवनको एउटा महत्वपूर्ण पाटो हो । पाइ–पाइको पनि हिसाब राख्ने बानी छ, उहाँको । त्यसैले हामीले कहिल्यै पनि फजुल खर्च गरेनौं । लुगाफाटो पनि सस्तो नै लगायौं । जोगवनीसम्म पुगेर २÷३ सयको सारी किनेर ल्याउँथँे मैले ।
मैले सुरुदेखि नै जति कमाएँ पनि नेपाल बैङ्क लिमिटेडको विराटनगर शाखामा जम्मा गर्थें । पछि एसबीआई बैङ्कमा राख्न थालें । जग्गा किन्दा पनि चिनेजानेका आफन्तसँग किनेकाले एकैपटक तिर्नु परेन । न्यायाधीश भएपछि त मैले जग्गा किन्ने भन्दा पनि बेच्ने काम गरें । धापासीको जग्गा किन्दा नपुग्ने भएकोले दुर्गाजीको नाममा विराटनगर, कटहरीमा रहेको तीन कठ्ठा जग्गासमेत बेचिएको थियो ।
मैले मितव्ययिताको पाठ मध्यम वर्गीय मारवाडी परिवारबाट पनि सिकें । विराटनगरका मध्यम वर्गीय मारवाडी परिवार मेरा सेवाग्राही हुने गर्दथे । बाहिरबाट हेर्दा उनीहरू धनी देखिन्छन् । निकै सुखसयल, मोजमस्तीमा बसेका होलान् जस्तो लाग्छ । तर घरभित्र मारवाडी महिलाहरू निकै मेहनत गर्दछन् । सबै परिकार, मिठाइ आदि उनीहरू आफैले पकाउने गर्छन् । बडो जतन गरेर प्रयोग गर्छन् । म जाँदा प्रायः मारवाडी महिलाले सिन्थेटिक सारी लगाएर बसेका हुन्थे । मैले किन यस्तो चिप्लो सारी लगाएको भनेर सोध्ने गथे । उनीहरू भन्थे, “यो छिटो फाट्दैन, धुन सजिलो हुन्छ र देख्दा निकै महँगोजस्तो पनि देखिन्छ ।”
बजारमा किनमेल गर्दा पनि मारवाडी महिलाले निकै मोलतोल गर्थे । हाटबजारमै किनमेल गर्थे । सानो परिवार हुनेले थोरै तरकारी लैजान्थे । उनीहरूको जीवनबाट मैले मितव्ययी हुनु कति फाइदाजनक हुन्छ भन्ने सिकें ।
सादगी जीवन जिउँदा मैले कहिल्यै पनि आफूलाई कमजोर ठानिनँ । न त समाजमा मेरो इज्जत नै कम भयो । इज्जत र मानसम्मान भन्ने लुगाफाटो, ठूलो घर र चिल्लो गाडीले दिने होइन रहेछ । त्यो त आफ्नो काम, भूमिका र इमानले दिंदो रहेछ । मेरो अनुभवमा साधारण लुगा, स्वस्थ जीवनशैली र सन्तुलित भोजनले जीवनलाई सुखी बनाउँछ । रोगव्याधी पनि लाग्दैन । डाक्टरकोमा गइरहनु पनि पर्दैन । बचत गर्न सके जीवन सुखद हुन्छ । अनावश्यक खर्च गर्दैमा, वैभव देखाउँदैमा मान्छे ठूलो हुँदैन । विचार । कर्मले मान्छेको स्थान निर्धारण गर्छ भन्ने कुरामा म विश्वस्त छु ।
(पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको आत्मसंस्मरणात्मक पुस्तक ‘न्याय’ मा समावेश प्रस्तुत संस्मरण प्रकाशकको सहमतिमा साभार गरिएको छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *