कोलोम्बो, २८ अक्टोबर । श्रीलङ्कामा शुक्रबार राष्ट्रपति मोथ्रिपाला शिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमेसिंगेलाई पदबाट बर्खास्त गरी पूर्वप्रधानमन्त्री महिन्दा रापाक्षेलाई ‘नयाँ प्रधानमन्त्री’ पदमा मनोनयन गरेका छन् ।
सम्पूर्ण देशलाई नै चकित बनाउने राष्ट्रपतिको सो कदमले श्रीलङ्कालाई राजनीतिक सङ्कटतिर धकेलेको छ । नयाँ प्रधानमन्त्री महिन्दा राजापाक्षेले आफ्नो पार्टी युनाइटेड पिपुल्स फ्रिडम एलाइन्स (युपीएफए) र राष्ट्रपतिको पार्टी श्रीलङ्का पोदुजाना पेरेमुना (एसएलपीपी)को संयुक्त मन्त्रीमण्डल बनाउने तयारी थालेका छन् । उनलाई सपथ ग्रहण पनि भइसकेको छ ।

रनिल विक्रमासिंगे

राष्ट्रपति शिरिसेनाले संविधानको धारा ४२(२) बमोजिम विक्रमासिंगेलाई पदच्युत गरी नयाँ प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयअनुसार २२५ जना सांसद रहेको संसदमा प्रधानमन्त्री विक्रमासिंगेले बहुमत गुमाएका छन् । राष्ट्रपतिको युपीएफएले विक्रमासिंगेको सरकारलाई दिंदैआएको समर्थन फिर्ता गरे पछि उनी अल्पमतमा परेका हुन् । प्रधानमन्त्री विक्रमासिंगेले भने राष्ट्रपतिको उक्त कदमलाई असंवैधानिक भन्दै आफू नै प्रधानमन्त्री भएको बताएका छन् ।

महिन्दा राजापाक्षे

उनले आफूलाई अविश्वासको प्रस्तावमार्फत मात्र पदच्युत गर्नसक्ने उनको भनाइ छ । उनले आफूसँग संसदको बहुमत भएको बताउँदै आएका छन् ।
विक्रमासिंगेले सभामुख कारु जयसुरुयालाई तत्काल संसदको बैठक बोलाउन माग गरेका छन् ।
शनिबार बिहान सभामुखले यस्तो अवस्थामा कस्तो कदम चाल्नुपर्ला भनी कानुनी सल्लाहकारहरूको बैठक बोलाएका छन् । राष्ट्रपतिलाई विक्रमासिंगेले पठाएको पत्रमा आफू नै देशको प्रधानमन्त्री भएको दाबी गरेका छन् । राजनीतिक विश्लेषकहरूका अनुसार हालैका केही महिनादेखि राष्ट्रपति र प्रधानमन्त्रीबीच विभिन्न विषयमा विवाद हुँदै आएको थियो । गएको अप्रिलमा प्रतिपक्षले संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव विफल भएदेखि राष्ट्रपति र प्रधानमन्त्रीबीच विमति हुँदै आएको थियो ।
राष्ट्रपति शिरिसेना र पूर्व रक्षासचिव गोताबाया राजापाक्षेलाई आएको हत्याको धम्कीबारे विक्रमासिंगे र उनको सरकार गम्भीर नभएकोबारे राष्ट्रपतिको असन्तोष बढ्दै गएको थियो ।
दुई साताअघिको मन्त्रीमण्डल बैठकमा शिरिसेनाले सो धम्कीबारेमा किन गम्भीरता नअपनाइएको विषयमा प्रश्न गरेका थिए ।
श्रीलङ्काली संसदमा बहुमत ल्याउन कम्तीमा ११३ सीटको आवश्यकता पर्दछ ।
‘‘हामीसँगै १२० सांसद छन् । विक्रमासिंगेको पार्टीका पनि केही सांसदहरूले महिन्दा राजापाक्षेको पक्षमा आएका छन् । यदि विक्रमासिंगेको पार्टीलाई राष्ट्रपतिको कदम असंवैधानिक भए जस्तो लागे महिन्दाको विरोधमा अविश्वासको प्रस्ताव ल्याउन हामी उनीहरूलाई चुनौती दिन्छौं ।’’,महिन्दा राजापाक्षे पक्षधर सांसद उलय गाम्मानपिलाले भने ।

संसद निलम्बन
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कटकाबीच शनिबार संसद् निलम्बन गर्नुभएको छ ।
प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रीपरिषद् विघटन भोलिपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गर्नुभएको हो ।
संसद्का उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद् निलम्बन गर्नुभएको पुष्टि गरेका छन् ।
शुक्रबार बेलुका अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संसद्को आपतकालीन बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपतिले संसद् नै निलम्बन गरिदिनुभएको हो ।
संसद्मा आगामी आर्थिक वर्षका लागि आउँदो नोभेम्बर ५ तारिखका दिन वार्षिक बजेट पेश गर्ने कार्यक्रम रहेको थियो । बजेट पेश गर्न पनि नमिल्नेगरी संसद निलम्बन भएकाले श्रीलङ्कामा अबआर्थिक सङ्कटसमेत आउन देखिएको छ ।
राष्ट्रपति सिरिसेनाको सत्तारुढ दलले नै मौजुदा गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि उहाँले प्रधानमन्त्री परिवर्तन गर्नुभएको हो । सिरिसेनाको पार्टी र निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघको पार्टीले सत्ता गठबन्धन गरेका थिए ।
गएको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति सिरिसेनासँग राजापाक्षेले प्रतिस्पर्धा गर्नुभएको थियो । आफ्ना विरोधी र प्रतिस्पर्धीलाई नै आफ्नै सरकारको प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरिसेनाले चकित बनाउनुभएको छ ।
आर्थिक नीति र दैनिक प्रशासनको विषयलाई लिएर राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री विक्रमासिंघेबीच लामो समयदेखि विवाद हँुदै आएकोमा राष्ट्रपतिले प्रधानमन्त्री परिवर्तन गर्नुभएको हो । विक्रमासिंघेको यूनाइटेड नेशनल पार्टी २०१५ देखि गठबन्धन सरकारको नेतृत्वमा थियो ।