भर्खरै :

तःमुंज्या सामाजिक जागरणको दियो हो

नरेश खत्री
‘जनता बाँचे, भाषा बाँच्छ’ भन्ने मूल विचार बोकी आजभन्दा ३८ वर्षअघि भक्तपुरका विभिन्न टोल, चोकमा निरन्तर हुँदै आएको नेपालभाषा साहित्य तःमुंज्याको यो गौरवशाली सम्मेलन यो वर्ष यातुगणेशस्थाननेर गर्न पाउनु गौरवको कुरा हो । यातुगणेशस्थान नयाँ बस्ती हो । यहाँ भक्तपुर नगरका विभिन्न टोल र चोकका दाजुभाइ दिदीबहिनीहरूमात्र नभई विभिन्न जिल्ला र भक्तपुरकै विभिन्न क्षेत्रका दाजुभाइ दिदीबहिनी पनि बस्दै आएका छन् । आज यही नयाँ बस्तीमा तःमुंज्याजस्तो लामो इतिहास बोकेको साहित्यिक, वैचारिक र भाषिक दबुको आयोजना गर्ने अवसर प्राप्त हुनु सबै दाजुभाइ दिदीबहिनीको लागि खुसीको कुरा हो ।
नेपालभाषा साहित्य तःमुंज्याको यो दबुको विषयमा धेरै लामो चर्चा गरिरहन आवश्यक नहोला । ३८ वर्षदेखि जनताको साहित्य विकास गर्न तःमुंज्या गर्दै आएको योगदान हामी सबैलाई जानकारी भएको विषय हो । जनताको साहित्य अघि बढाउन जनता स्वयंले साहित्य लेख्नुपर्दछ, ती साहित्य वाचन गर्न जनता स्वयंले मञ्च बनाउनु पर्दछ र जनताको भावना त्यही मञ्चमा प्रस्तुत गरिनुपर्दछ भन्ने विचारका साथ तःमुंज्याको मञ्च स्थापना भएको हो । तःमुंज्याको जग वर्गसङ्घर्षको इतिहास हो, तःमुंज्याको दबु राज्यले जनताका भाषामाथि गर्दै आएको भेदभाव र सांस्कृतिक अवमूल्यनको विरोधमा उठेको आवाज हो । देशमा जब जब कुनै पनि प्रकारको राजनीतिक र वैचारिक सङ्गट आइपर्दछ, तब तःमुंज्याको दबु अझ बढी भव्य हुने गर्दछ अनि देशले भोगिरहेको समस्याको सही समाधान देखाउने काम गर्दछ, गर्दै आइरहेको छ ।
त्यसबाहेक तःमुंज्याको दबु सामाजिक जागरणको दियो पनि हो । समाजमा बाँकी बचेका विकृति र विसङ्गगति अन्त्य गर्न तःमुंज्या लागिपरेको छ ।
तःमुंज्याले बोकेको विचारको मसाललाई समयले हिजोभन्दा आज सत्य प्रमाणित गरिरहेको छ, अनि आजभन्दा भोलि सत्य प्रमाणित गर्दै जानेछ । ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने भनाइ आज दिनप्रतिदिन सत्य प्रमाणित हुँदै गइरहेको छ । आज सत्तामा गएका शासक दलहरूले पाइला पाइला गर्दै हाम्रो भाषा, कला, संस्कृति र सभ्यता समाप्त पार्ने प्रयास गरिरहेका छन् । विकास र समृद्धिको गुलियो चाट्न दिएर हामीलाई हाम्रै परिचय नभएका मानिस बनाउने जालझेल बुनिंदै गरेको हामीले महसुस गरिरहेका छौं । यस्तो अवस्थामा नेपालभाषा आन्दोलनलाई मात्र भाषिक आन्दोलनमा सीमित बनाए हामी सही निष्कर्षमा पुगेका हुने छैनौं । हामीले शासक वर्ग र सत्तासीन राजनीतिक दलका बदनियतपूर्ण जालझेलविरुद्ध आन्दोलनलाई अघि बढाउन जरुरी छ ।
यो वर्षको नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक कार्यक्रममा हामी विश्व सर्वहारा वर्गका गुरू कार्लमाक्र्स सम्झिरहेका छौं । सन् १८१८ मे ५ को दिन जर्मनीको त्रियर भन्ने सहरमा जन्मेका किसान–मजदुर अनि सर्वहाराका गुरू कार्ल माक्र्सको यो वर्ष दुई सयौं जन्म दिन हो । संसारका सबै किसान, मजदुर र सर्वहारा जनताले यो वर्ष विविध कार्यक्रम आयोजना गरी माक्र्सको सम्झना गरिरहेका छन् । यही शिलशिलामा आफ्नो स्थापनाकालबाट किसान–मजदुरको मञ्च बन्दै आएको तःमुंज्याको यो दबुमा हामी पनि माक्र्स सम्झिरहेका छौं । माक्र्सको विचार र माक्र्सवादी सिद्धान्त नै मानव मुक्तिको बाटो हो । माक्र्सले भन्नुभएको जस्तै एक दिन यो संसार वर्गविहीन, मानिसले मानिसलाई शोषण गर्न नपाउने, राज्यसत्ता नभएको समाज बन्नेछ । यो विज्ञान पनि हो । पुँजीवादी व्यवस्थाले मानिस मानिसबीच जतिसुकै अग्लो होचो बनाए पनि त्यही असमानताले पुँजीवादी बन्दोबस्तको नाश गर्नेछ । किसान, मजदुर, प्रगतिशील, बुद्धिजीवी र देशभक्तहरूको जनताको प्रजातन्त्रसँगै देशमा समाजवादी बन्दोबस्त स्थापना हुनेछ । तःमुंज्याको दबु यही समाजवादी आन्दोलनको शिलशिला हो ।
आज हाम्रो देशमा मात्र होइन, अरू धेरै देशमा माक्र्स र माक्र्सवादीको मुकुन्दो लगाएर माक्र्सका विचार र माक्र्सवादलाई नै अवमूल्यन गर्ने प्रयास भइरहेका छन् । माक्र्सको नाममा सत्ताको सौदाबाजी गर्ने संशोधनवादी र अवसरवादीहरूबाट माक्र्सवादी विचारमाथि सबभन्दा बढी खतरा भएको हामी देख्दैछौं । आज सरकारको नेतृत्व गरिरहेका राजनीतिक दल नै माक्र्सको मुकुन्दो लगाएर किसान–मजदुरलाई नयाँ सिक्रीले बाँध्ने बाटोमा अघि बढिरहेको हामीले बुझ्न जरुरी छ ।
संसारको समाजवादी आन्दोलनलाई कमजोर बनाउने काम साम्राज्यवादबाट भइरहेको छ । संसारलाई आफ्नो पाइतालामुनि राखी जुँगामा ताउ लगाउने काम साम्राज्यवादी देशहरूले गरिरहेको आज मात्र होइन । आज संयुक्त राज्य अमेरिकी साम्राज्यवाद र पश्चिमा साम्राज्यवाद आफूले खनेको खाल्डोमा आफैं खसेका छन् । साम्राज्यवाद पक्कै पनि कमजोर बनेको हो, तर उसले आफ्नो साम्राज्यवादी चरित्र बदलेको छैन । साम्राज्यवादी देशले संसारमा युद्ध र अशान्तिको फिलिङ्गो छर्ने काम त्यागेको छैन । त्यसकारण आजको सन्दर्भमा साम्राज्यवादको विरोध समाजवादी आन्दोलनको शिलशिला हो ।
नेपालभाषा साहित्य तःमुंज्या हामी सबैको साझा दबु हो । हामीले रगत–पसिना गरेर बनाएको यो दबुमा हाम्रै तस्वीर प्रतिबिम्बित हुनुपर्दछ । हाम्रै दुःख, समस्या र आन्दोलनलाई बाटो देखाउने काम यो सम्मेलनबाट हुनुपर्दछ । हाम्रो लक्ष्य पनि यही नै हो । रोटी एकोहोरो पाक्दैन, एक हातले ताली बज्दैन भनेजस्तै तःमुंज्या एक दुई जनाको प्रयासमा मात्र सफल हुन सक्दैन । हामी सबैको प्रयास र मिहिनेतबाट नै तःमुंज्या सफल हुन सक्दछ ।
(कात्र्तिक ४ र ५ गते भएको ३८ औं नेपालभाषा साहित्य तंःमुज्याको पहिलो दिन आयोजक समितिका संयोजक नरेश खत्रीले दिनुभएको स्वागत मन्तव्यको नेपाली अनुवाद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *