दमास्कस, २७ अक्टोबर । सिरिया युद्धको अन्त्य गर्न दिगो राजनीतिक समाधानको लागि टर्कीमा हुने चारपक्षीय शिखर सम्मेलन महत्वपूर्ण कदम हुन सक्ने विश्लेषकहरूले बताएका छन् ।
सिरियाको अवस्थाबारे छलफल गर्न टर्कीको इस्तानबुलमा हुने चारपक्षीय सम्मेलनमा टर्की, रुस, फ्रान्स र जर्मनीका नेताहरू भेला हुनेछन् ।
रुस र टर्कीबीचको सहमतिमा उत्तरी सिरियामा बनेको गैरसैनिक क्षेत्र शिखर सम्मेलनको प्रमुख छलफलको विषय हुनेछ ।
सिरिया मामिलाका लागि संरा सङ्घका लागि विशेष प्रतिनिधि स्टेफेन डी मिस्टुरा पनि सो शिखर सम्मेलनमा सहभागी हुनेछन् । उनले सिरियामा युद्धोत्तर संविधान बनाउन एउटा संवैधानिक समिति बनाउने विषयमा बोल्ने अपेक्षा गरिएको छ ।
सात वर्षभन्दा लामो समयसम्म सिरियामा चालु युद्ध अन्त्य गरी त्यहाँको राजनीतिक समस्याको दिगो समाधान सम्मेलनमा खोजिने अपेक्षा गरिएको छ ।
सम्मेलनमा जर्मनी र फ्रान्स पनि सहभागी हुने भएकाले पनि सो सम्मेलनप्रति केही विश्लेषकहरू ज्यादा आशावादी देखिन्छन् । दुवै जर्मनी र फ्रान्स सिरियाका राष्ट्रपति बसार अल असादका कडा आलोचक हुन् ।
सिरियाको अवस्था अस्थीर रहे त्यहाँका विद्रोही समूह युरोपेली देशमा पस्नेबारेमा युरोपेली देशहरूको विशेष चिन्ता रहेको छ ।
सिरियाको राजनीतिक विश्लेषक तथा पूर्व सांसद शरिफ शेहादेहले इस्तानबुलमा हुने चारपक्षीय बैठकले सिरिया सड्ढट समाधानको लागि मार्गचित्र बनाउने आशा व्यक्त गरेका छन् ।