रियो डे जेनेरियो, १२ कार्तिक । ब्राजिलको राष्ट्रपतिमा जायर बोल्सोनारो निर्वाचित भएका छन् । आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा बोल्सोनारोले ५५ दशमलव १३ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
विगतमा सैनिक अधिकृत रहिसकेका र उग्र–दक्षिणपन्थी भनेर चिनिएका ६३ वर्षीय बोल्सोनारोका विपक्षी वर्कर्स पार्टीका नेता फर्नान्डो हडाडले ४४ दशमलव ८७ प्रतिशत मत प्राप्त गरेका छन् ।
बोल्सोनारोले आगामी सन् २०१९ को जनवरी १ बाट राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।
चुनावमा विजयी भएपश्चात फेसबुकबाट प्रत्यक्ष सम्बोधन गरेका बोल्सोनारोले सबै मिलेर ब्राजिलको भविष्य बदल्ने प्रतिबद्धता व्यक्त गरे । गत सेप्टेम्बर ६ मा चुनावी सभामा सहभागी हुँदा बोल्सोनारोमाथि पेटमा छुरा प्रहार गरेपछि उनले फेसबुकबाटै चुनावी प्रचार गरेका थिए ।
सम्बोधनका क्रममा उनले ब्राजिलमा आफूले बाइबल र संविधानलाई सिरोपर गरेर सत्ता सञ्चालन गर्ने बताए । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिफोन गरी बोल्सोनारोलाई बधाई दिएको जनाएको छ । दुवै नेताले आमजनताको जीवनस्तरमा सुधार ल्याउन मिलेर कार्य गर्नेमा बलियो प्रतिबद्धता गरेका छन्, ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डर्सले बताइन् ।
दक्षिण अमेरिकामा ट्रम्पका उत्तराधिकारीका रुपमा लिइने बोल्सोनारोले ट्रम्पका नीतिको खुलेर प्रशंसा गर्ने गर्छन् ।
अर्कोतर्फ, विपक्षमा पुगेको सत्तारुढ बामपन्थी वर्कर्स पार्टीले प्रतिरोध गर्ने जनाएको छ । चुनावमा पराजित भएलगत्तै हडाडले ४ करोड ५० लाख जनताको स्वतन्त्रताको रक्षाका लागि सङ्घर्ष गर्ने बताए । साओ पाउलोमा वर्कर्स पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै हडाडले नवनिर्वाचित राष्ट्रपति बोल्सोनारोलाई “फासीवादी” भनेका थिए । नवनिर्वाचित राष्ट्रपतिका बाजे जर्मनी फासीवादी नेता हिटलरका सिपाही थिए ।
महिला, समलिङ्गी र काला जातिमाथि नकारात्मक टिप्पणी गर्न रुचाउने बोल्सोनारोले वामपन्थी विचारधाराका फर्नान्डो हडाडलाई पराजित गर्न सक्ने मत सर्वेक्षणले देखाएका थिए । भ्रष्टाचार, कुशासन र हत्याहिंसाका कारण दक्षिण अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलका आमजनतामा चरम नैराश्यता छ ।
वर्कर्स पार्टीका उम्मेद्वार हडाडलाई हाल जेलमा रहेका पूर्वराष्ट्रपति लुइस इनासियो लुला दा. सिल्भाको समर्थन थियो । लुला सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति हुनुहुन्थ्यो ।
बोल्सोनारो सन् १९६४ देखि १९८५ को अवधिका सैनिक सरकारलाई मुक्तकण्ठले प्रशंसा गर्ने गर्छन् । विगतका सैनिक सरकारले गरेका सबै कार्यको बोल्सेनारोले स्वागत पनि गरेका छन् ।
बोल्सोनारोले विगतका सैनिक सत्ताले बामपन्थी विद्रोही र उनीहरूका समर्थकलाई हत्या गर्नुको साटो यातना मात्र दिएको बताउने गरेका थिए ।
ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा १४ करोड ७० लाख मतदाता रहेका थिए ।