भर्खरै :

जीवन पाएको कसिमला पाँय् खेल

भक्तपुर, १४ कार्तिक । झण्डै लोप भइसकेको भक्तपुरको मौलिक कसिमला पाँय् खेलको संरक्षण हुने भएको छ । भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा उक्त खेल समावेश गरी विद्यालयस्तरमा प्रशिक्षण दिई विद्यार्थीबीच प्रतिस्पर्धा भएपछि उक्त खेलको संरक्षण भएको छ । ज्येष्ठ नागरिक र वयस्कले मात्र खेल्न जानेको उक्त खेल विद्यालयका शिक्षक शिक्षिकामार्फत नगरका विद्यालयका विद्यार्थीलाई सिकाइएपछि सो खेल खेल्ने नयाँ पुस्ताका विद्यार्थीको सङ्ख्या बढेको छ ।
भक्तपुर नगरपालिकाले कार्तिक ११ बाट सुरू गरेको नगरव्यापी अन्तरविद्यालय खेलकुद प्रतियोगितामा विभिन्न खेलसँगै कसिमला पाय् खेल पनि समावेश गरिएको थियो ।
खेलको महत्व र मौलिकतालाई अझ प्रचार गर्न भक्तपुर दरबार क्षेत्रमा आयोजित प्रतियोगिताको उद्घाटन गर्न भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति स्वयं पुग्नुभएको थियो । उहाँले लोपोन्मुख खेलले पुनः जीवन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
सबै खेलाडीहरू कक्षा ६ का छात्र–छात्राहरूमात्र थिए । प्रतियोगितामा नगरका विभिन्न ३१ विद्यालयका ४७ जना छात्र र ३८ छात्राले सहभागिता जनाएका थिए । छोटो समयमा सिकेर पनि ८५ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । विद्यालयका विद्यार्थीका लागि मात्र नभई अन्य धेरै विद्यार्थी र युवाको निम्ति कसिमला पाय् खेल उत्सुकताको खेल बनेको थियो । खेलमा सहभागी विद्यार्थीहरूले निकै मनोरञ्जनात्मक वातावरणमा प्रतिस्धर्पा गरेका थिए ।
छात्रतर्फ सहभागी सबै खेलाडीलाई उछिनेर ज्ञानविजय आधारभूत विद्यालयका विद्यार्थी मनिष तोलाङ्गे पहिलो भएका थिए । दोस्रो स्थान जेनिस स्कुलका रोजल शिल्पकार, तेस्रो स्थान हिमालयन ग्लोरीका युनिष देशेमरू र चौथौ ख्वप्रिङका नोरिफ प्रजापति भएका थिए ।
त्यस्तै छात्रातर्फ हिमालयन ग्लोरीकी कृषा नागा पहिलो, बालबिकासकी आयुषा जती दोस्रो, नवीन आधारभूत विद्यालयकी करूणा जिवी तेस्रो र इमेज स्कुलकी सोफिना लागे चौथो भइन् ।
अन्य विभिन्न विदेशी खेलको प्रचार बढ्दै गएसँगै स्थानीय र पुराना खेल हराउँदै गएको अवस्थामा विद्यालय तहबाटै स्थानीय मौलिक खेलको संरक्षण गर्ने भक्तपुर नपाको प्रयास सकारात्मक भएको स्थानीय बुद्धिजीवी र शिक्षकहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *