भर्खरै :

क्युवामाथिको अमेरिकी नाकाबन्दीबारे २७ औं पटक प्रस्तावमा छलफल, क्युवाप्रति ऐक्यबद्धताको वर्षा

संरा सङ्घ, १ नोभेम्बर । समाजवादी देश क्युवामाथिको संरा अमेरिका नेतृत्वको मोर्चाको झण्डै ६ दसक लामो नाकाबन्दीको सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको महासभाको बैठकमा बिहीबारबाट २७ औं पटक छलफल भएको छ ।
यसअघिका छलफलमा जस्तै यो पटकको छलफलमा पनि बढीमा दुई देशबाहेक सम्पूर्ण सदस्यले क्युवामाथिको नाकाबन्दीको विरोधमा मतदान गर्ने लगभग निश्चित भएको राजनीतिक विश्लेषकहरू बताउँछन् । पछिल्लो २६ औं पटकको प्रस्तावमाथिको मतदानमा संरा अमेरिका र इजरायलले मात्र क्युवामाथिको नाकाबन्दीलाई निरन्तरता दिनुपर्ने पक्षमा मतदान गरेका थिए । अरू सम्पूर्ण देशले क्युवामाथिको नाकाबन्दीको विरोधमा मतदान गरेका थिए । तथापि संरा अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेरै क्युवामाथिको नाकाबन्दीलाई निरन्तरता दिएको थियो ।
बिहीबार राष्ट्र सङ्घीय महासभा बैठकमा क्युवामाथिको नाकाबन्दीको विरोधमा मत राख्दै चिनियाँ प्रतिनिधि मा चाओसुले संरा अमेरिकाले क्युवामाथिको नाकाबन्दी हटाउनुपर्ने बताउनुभयो ।
“सबै देशले आपसी समझदारी र सम्पूर्ण जनताको विकास हुने प्रक्रिया अवलम्बन गर्नुपर्छ ।”, सुरक्षा परिषद्मा चीनका स्थायी प्रतिनिधि माले भन्नुभयो ।
उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा कुनै समस्या भए अन्तर्राष्ट्रिय समुदाय मिलेर समाधान गर्नुपर्ने भन्दै क्युवामाथिको एकपक्षीय नाकाबन्दी फिर्ता गर्नुपर्ने धारणा राख्नुभयो ।
नाकाबन्दीका कारण क्युवाले सन् २०१७ को अप्रिलदेखि यो वर्षको मार्च महिनासम्ममा ४ अर्ब ३० करोड अमेरिकी डलर गुमाएको राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छ ।
नाकाबन्दीको विरोधमा ल्याटिन अमेरिकी तथा क्यारिबियाली देशहरूको समुदाय (सेलाक) को तर्फबाट एल साल्भाडोरका प्रतिनिधिले बोल्नुभएको थियो ।
त्यस्तै असंलग्न आन्दोलनको तर्फबाट भेनेजुयलाका प्रतिनिधिले क्युवामाथिको नाकाबन्दीको भत्र्सना गर्दै तत्काल फिर्ता गर्न माग गर्नुभयो ।
ग्रुप ७७ प्लस चीन सङ्गठनको तर्फबाट इजिप्टका प्रतिनिधिले नाकाबन्दीलाई निरन्तरता दिने प्रस्तावको विरोध गर्नुभयो ।
अफ्रिकी समूहको तर्फबाट मोरोक्काका प्रतिनिधिले क्युवाको समर्थन गर्नुभएको थियो ।
बैठकमा सिङ्गापुर, बहामास, भियतनाम, जमैका, जक्षिण अफ्रिका, बोलिभिया, अल्जेरिया, निकरागुआलगायतका प्रतिनिधिले अन्यायपूर्ण नाकाबन्दी अविलम्ब हटाउनुपर्ने धारणा राख्नुभएको थियो ।
महासभा बैठकमा २७ औं पटकको प्रस्तावमा छलफल चल्दै गर्दा नवनिर्वाचित क्युवाली राष्ट्रपति मागुएल डायज–कानल बा¥ह दिनको विदेश भ्रमणमा जानुभएको छ । बुधबारबाट सुरू भ्रमणअन्तर्गत उहाँ रुस, प्रजग कोरिया, चीन, भियतनाम र लाओस पुग्नुहुनेछ । संरा अमेरिकी साम्राज्यवादविरोधी ती देशहरूको समाजवादी देशका नेताको भ्रमणलाई विश्वले अर्थपूर्ण मानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *