डा. स्वेता नकार्मी, बाथरोग विशेषज्ञ
के तपाईंलाई जोर्नी सुन्निने, दुःख्ने र अरठ्ठ हुने समस्या छ ? यदि भएमा यो गठीया बाथ हुनसक्छ । गठीया बाथ अटोइम्युन दीर्घकालीन रोग हो । मानव शरीरमा भएको रक्तकोषिकाले आफ्नै शरीरका मिर्गौला, जोर्नी, रगतलगायतका विभिन्न अङ्गहरूलाई नष्ट गर्ने समस्या अटोइम्युन रोग हो ।
यो बच्चादेखि हरेक उमेर समूहका मानिसहरूलाई यो रोगले बढि सताउँछ ।
पुरुषको तुलनामा महिलालाई गठीया बाथ हुने खतरा तीन गुणा हुन्छ । यो महिलाहरूमा हर्मोनल परिवर्तनबाट बढी हुने कारण हो । अहिलेसम्म गठीया बाथ हुने ठोस कारण पत्ता लाग्न सकेको छैन । तर वंशाणुगत, हर्मोनल परिवर्तन र संक्रमणले खतरा बढाउन सक्छ । परिवारको कुनै सदस्यलाई गठीया बाथ भएमा अन्य सदस्यहरूलाई पनि हुने खतरा हुन्छ । तर आमाबुबाबाट छोराछोरीमा सिधैं आउँदैन र यो सरुवा रोग पनि होइन । धुम्रपानले गठीया बाथलाई बढाउँछ । त्यसैले यो रोग लागेका बिरामीले धुम्रपान गर्नुहुँदैन ।
सङ्केत र लक्षण
सुरुको अवस्थामा बिहान उठेपछि जोर्नी अरठ्ठ भएर हात मुठ्ठी पार्न गा¥हो हुन्छ । घाम लाग्न थालेपछि समस्या बिस्तारै आफै ठीक हुँदै जान्छ । कसैकसैलाई बिहानीपख ज्वरो र शरीर अरठ्ठ भएको अनुभव हुनसक्छ । तर बिस्तारै दिन छिप्पिदै गएपछि आफै सजिलो हुन्छ ।
समयमा उपचार नगरेमा हात र खुट्टाका स–साना जोर्नी सुन्निने, दुःख्ने, बिहानीपख मुठ्ठी राम्रोसँग बन्दा गर्न नसक्ने समस्या बढ्दै जान्छ र अन्तरमा जोर्नीहरू बाङ्गो भइदिन्छन् । एकपटक जोर्नी बाङ्गिसकेपछि सीधा बनाउन सकिँदैन । बाथले मेरुदण्ड, करङ, मुटु, फोक्सो र आँखालाई पनि असर गर्नसक्छ ।
डायग्नोसिस
बाथ धेरै प्रकारका हुने भएकाले गठीया बाथको उपचार बिरामीको लक्षण अनुसार गर्नुपर्छ । लक्षण अनुसार इएसआर (भ्क्च्), सिआरपी (ऋच्ए), रयुमाटोइड फ्याक्टर (च्ँ), एन्टि सिसिपिए, एन्टिबडि (ब्ऋएब्) टेस्ट गरिन्छ । एक्स–रे र जोर्नीको अल्ट्रासाउन्डबाट पनि बाथ भएनभएको पत्ता लगाउन सकिन्छ ।
बाथ दीर्घकालीन रोग भएकाले निर्मूल हुँदैन । तर औषधि सेवन गरेर नियन्त्रणमा राख्न सकिन्छ । यसबाट बाथले गर्न सक्ने थप क्षति न्यूनीकरण हुन्छ ।
बाथले विशेषगरी जोर्नीलाई आक्रमण गर्छ । रोग पहिचान गरी समयमा औषधि उपचार नगरेमा जोर्नी बाङ्गिदै जाने र जोडिने सम्भावना धेरै हुन्छ । कतिपय अवस्थामा आँखालाई असर गरी स्ल्केरोमलेसिया (आँखाको सेतो भागमा घाउ हुने), फोक्सोमा जाली पर्ने र मुटुमा पानी जम्ने समस्या हुनसक्छ ।
उपचार
रोग पहिचान भइसकेपछि सुरुको अवस्थामा सम्बन्धित डाक्टरसँग सल्लाह लिएर एन्टी ¥युमेटिक औषधि सुुरु गर्नुपर्छ । यस्ता औषधि लामो समयसम्म खानुपर्छ । यी औषधिले बाथलाई नियन्त्रण गर्छ । ओषधि खानेबित्तिकै दुःखाई कम हुँदैन । यसका लागि दुईदेखि तीन महिनासम्म पनि लाग्नसक्छ । त्यसैले सुरुको दुई महिना पेनकिलर तथा स्टेरोइट औषधि दिइन्छ । यसले छोटो समयका लागि दुखाइ कम गर्छ ।
हरेक औषधिको साइडइफेक्ट हुन्छ । औषधिको साइडइफेकट हेर्न र औषधिको मात्रा मिलाउन बिरामी नियमित रुपमा चिकित्सकको फलोअपमा बस्नुपर्छ । यसका साथै रगत, कलेजो र मिर्गौलाको कार्य परीक्षण गरिरहनुपर्छ ।
गर्भावस्थामा गठीया बाथ
कतिपयलाई बाथ भएको बेला गर्भवती हुन सकिन्छ कि सकिदैन भन्ने खुल्दुली पनि हुनसक्छ । गठीया बाथले गर्भवती हुँदा त्यति खराब गर्दैन । तर मिथोटे«क्जिर र लफ्लुनोमाइड औषधि खाइरहेको अवस्थामा गर्भवती हुन मिल्दैन । यो औषधिले पेटको बच्चालाई हानी गर्नसक्छ । त्यसकारण गर्भवती हुनुभन्दा ३ देखि ६ महिनाअगाडि नै मिथोट्रेक्जिटलाई परिवर्तन गरेर चिकित्सकको सल्लाहमा कम डोजको औषधि प्रयोग गर्नुपर्छ ।
त्यसैले बाथ भएको बेला बच्चा जन्माउने तयारी भएमा डाक्टरको सल्लाह लिनुपर्छ । गर्भावस्थामा बच्चालाई असर नपर्ने खालका हाइड्रक्सिक्लोरोकुइन र सल्फासालजिन जस्ता औषधिको प्रयोग गर्नुपर्छ । यदि बाथ बढेको अवस्थामा डाक्टरको सल्लाह लिएर लो डोजमा स्टेरोइड औषधि चलाउन मिल्छ ।
बिरामीलाई सल्लाह
बिरामीले सुरुमै लक्षण पत्ता लगाउन सक्नुपर्छ । यदि लक्षण देखिएमा हेलचक्र्याई गरेर बस्नुहुँदैन । बिरामी सचेत हुनुपर्छ र समयमै डाक्टरलाई भेटेर औषधि सेवन गर्नुपर्छ । डाक्टरको प्रेस्क्रिप्सनभन्दा बाहेक अन्य औषधि प्रयोग गर्नुहुँदैन । गठिया बाथका बिरामीले चिसोबाट बच्नुपर्छ । धुम्रपान गर्न हुँदैन र अरुले खाएको धुँवाबाट टाढा बस्नुपर्छ । तर खाना बार्नुपर्दैन ।
(डा. श्वेता नकर्मी काठमाडौंको रातोपुलस्थित नेशनल बाथरोग सेन्टरमा पूर्णकालीन समय सेवा प्रदान गरिरहनुभएको छ ।)