हृदय दाहाल
हिन्दू समाजमा जनसङ्ख्याको ठूलो भागले अझै पनि रामायण र महाभारतका पात्रलाई ईश्वरीय शक्तियुक्त मान्छ । जीवनलाई योग, माया, भक्ति र देउतामा समर्पणको मार्गबाट मात्रै सार्थक, पूर्ण र सफल बनाउन सकिने जीवनदर्शन अहिले पनि व्याप्त छ जनमानसमा । जीवनको अधिक समय पूजा–आजा, व्रत, कर्मकाण्ड आदिमा व्यर्थै सकिने गरेको छ । बिरामी हुँदा होस् वा खुसीको क्षणमा, मर्दा होस् कि जन्मोत्सवमा नै किन नहोस् पुराण, स्मृति, धार्मिक काव्यका श्लोकलाई मन्त्र मानेर दिनरात भक्तिभावमा लीन आम मानिस अहिले पनि हाम्रै वरपर छन् । अझ १६ कर्मकाण्डले त जन्मपूर्व गर्भावस्थादेखि मृत्युपर्यन्त विभिन्न संस्कार अनिवार्य गरेको छ । आजको विज्ञानले प्राकृतिक नियमका हरेक क्षेत्रमा खोज गरेर धार्मिक ग्रन्थ र घटनाको प्रमाणिकता जाँच गरिरहेको छ । सदियौंदेखि हिन्दू जनजीवनमा गहिरो जरा गाडी बसेका महाभारत र रामायणसम्बन्धी यस्तै वैज्ञानिक अनुसन्धानको खेस्रा हो “शतावतार” । यस पुस्तकका लेखक हुन् दक्षिण भारतीय वामपन्थी विद्वान एवं पत्रकार मुक्कामला नागभूषणम् ।
जति पुरानो धार्मिक जग छ, आस्तिक र नास्तिकबीचको वैचारिक द्वन्द्व पनि त्यति नै पुरानो रहेको छ । चार्वाक र वैदिक धर्मावलम्बीबीच, हिन्दू र बौद्धबीच भएका सङ्घर्ष दुवै अध्यात्मवाद र भौतिकवादबीचको सङ्घर्षका रुप थिए । आज विज्ञान र प्रविधिले धेरै उन्नति ग¥यो । तर त्यसलाई पनि आफ्नो स्वार्थअनुकूल उपयोग गर्ने समाजका ठूलाबडाहरू तन्त्रमन्त्रको प्रशंसा गर्दै जातीय विभेद फैलाउँदै छन् । जातीय उन्माद फैलाउँदै समाजको भलो चिताउनेहरूलाई दुत्कार र हमला गर्दैछन् । त्यसैले पनि पुराण, कथा र धर्मग्रन्थको प्रमाणिकतालाई ऐतिहासिक दृष्टिले तुलनात्मक जाँचबुझ गर्दै सत्यतथ्यबारे प्रकाश पार्नु लेखकको उद्देश्य देखिन्छ । रामायण र महाभारतमा वर्णन गरिएका कथाको ऐतिहासिक सत्यताको बारेमा विभिन्न वैज्ञानिक खोजकर्ता तथा विद्वानले अध्ययन गरे । भारतको उत्तर पश्चिममा बस्ने दानव र राक्षस जातिका कबिलामाथि विजय प्राप्त गरी आर्य जाति कृषि युगमा प्रवेश गरे । त्यसबेला रचिएको एक लोककथा हो रामायण र आर्यहरूले पूर्व दक्षिणका नाग जातिलाई हराउन सफल भएपछिको लोककथा हो महाभारत । त्यो समयमा समाज बल्ल फलामलाई पगाल्ने र प्रयोग गर्ने अवस्थामा थियो । ती कथामा वर्णित हस्तिनापुर, पाञ्चाल, मथुरा, कुरुक्षेत्र तथा अयोध्या नगरको उत्खनन् गर्दा पनि विशाल हतियार, हात्ती र रथ, राक्षसका हाडहरूको कुनै प्रमाण पाइएको छैन । त्यसैले पनि ती कथाहरू काल्पनिक देखिन्छन् भनी प्रस्टाएका छन् लेखकले । पुस्तकको दोस्रो लेख लेखकले यसैमा खर्चेका छन् ।
रामायणको सयौं अवतार भइसकेको लेखक बताउँछन् । उनले भानुभक्त, दुर्वासा, वाल्मीकि, अगस्त्य, भास्कर, कृतिवास, कब, तुलसीदास, मोल्ल आदिद्वारा लिखित रामायण र यसका कैयौं अनुवादमा धेरै कथा नमिल्ने बताएका छन् । त्यसैगरी जैमिनी भारत र पंपकवि भारतद्वारा लिखित महाभारत पनि भिन्दै छन् । रामायण र महाभारतका कथाहरूलाई विभिन्न लेखकले मनोमानी ढङ्ले व्याख्या गर्दा तिनको स्वरुप वास्तविकताभन्दा भिन्दै बन्न पुगेको प्रस्ट पार्दै तिनको ऐतिहासिकतामा नै शङ्का व्यक्त गर्छन् लेखक “रामायणका सैकडांै रुप” शीर्षकको अर्को लेखमा ।
“मानव विकासको क्रम” शीर्षकको लेख अन्य सबै लेखभन्दा लामो र विस्तृत छ । यसमा लेखकले भाषा, आगो, माटाका भाँडा, बलि प्रथाको प्रचलन, देवीदेउताको परिकल्पना, पशुपालनको आरम्भजस्ता धेरै विषयको चर्चा गरेका छन् । कसरी सम्पतिको विकास, श्रमविभाजन, मातृसत्ता पितृसत्तामा रुपान्तरण, नातासम्बन्धको सुरुवात, ऐन र कानुनको निर्माण भयो सविस्तार उल्लेख गरेका छन् । खेतीपातीको थालनीपछि शोषणको जग बलियो हुँदै गएको प्रमाण दिँदै लेखकले धर्म एक वर्गले अर्को वर्गलाई कजाउन प्रयोग गरेको सप्रमाण व्याख्या गरेका छन् । वास्तवमा कुनै पनि धार्मिक रचना वा विचारलाई मानव विकासको क्रमसँग जोडेर हेरेनौं भने हामी सही निष्कर्षमा नपुग्ने लेखकको ठम्याइ छ ।
कविलाको रक्षा, अन्न उत्पादनमा बढोत्तरी, शोषणका लागि अझ बलियो व्यवस्था आवश्यक भएपछि समाजमा अनेक कानुन, रीति तथा प्रथाको सुरुवात भयो । तिनलाई आफ्ना अनुकूल बनाउन पुरोहितहरूले मिहिनेत गरे । त्यस्ता घटना तथा पद्धतिलाई टिकाइराख्न अनेक कथा रचिएको हो । रामायण र महाभारतका कथा तथा अनेक पुराण यसका उदाहरण हुन् । भाववादी र भौतिकवादीको विकास सँगसँगै भएको बताउदै लेखक थप्छन्, “भौतिकवादीहरूले प्रस्तुत गरेका मानव विकासका दसवटा चरणलाई भाववादीहरूले विष्णुको दस अवतारसँग जोडेर कथाहरूको रचना गरे ।” एकपछि अर्को तन्त्र, मन्त्र र यज्ञ आदि भौतिकवादीहरूको कडा आलोचनामा परेपछि ऋषिमुनिले इन्द्र र रुद्रजस्ता अनेक जन्मकथा जोडेर काव्यको रचना गरे । यसरी अविश्वसनीय कथा सँगसँगै वीरपूजा, बहुपत्नी वा बहुपति प्रथा चलाइयो । बलियो छोरा र वंशका लागि जसरी पनि सन्तानोत्पादन गर्ने तरिकालाई वैधानिक मानियो । यसरी जन्मेका वीरलाई अनेक पुराणहरूमा देवपुत्र–पुत्रीका जन्म कथासँग जोडियो । वास्तवमा यी सबै ऐतिहासिक घटनाका अंश थिए । यसरी पुराण, रामायण, महाभारत, ओल्ड टेस्टामेन्टमा जति पनि कथा छन् ती कथाहरू सामाजिक अवस्थाका द्योतक हुन् । धर्मका ठेकेदारहरूले ती कथालाई अलौकिक बनाउन कतिपय ठाउँमा हावादारी कुरा पनि जोडेर सफेद झूट बोलेका छन् भनी लेखकले “मानव विकासको क्रम” शीर्षकको लेखमा बताएका छन् ।
कथा समाजका गुण–दोष, आशा–आकाङ्क्षा प्रतिबिम्बित गरी रचिन्छन् । कृषि युगको सुरुवाती चरणमा रामकथाको रचना भयो । यसमा जमिनलाई महत्व दिइएको छ । साथै भाइ–भाइ परस्पर मिलेर बसे सुख हुन्छ अन्यथा दासजीवन बिताउनुपर्छ भन्ने सन्देश रामायणको हो । अन्य वन्य तथा सभ्य जातिको सम्भावित खतराबाट बच्नुपर्ने त्यतिबेलाको अवस्थाको परिणाम थियो रामायण । सिन्धुघाटीको सभ्यता र आर्यजातिबीचका अनेकौं द्वन्द्वताका रामकथाको रचना भएको सिद्ध गर्ने धेरै अन्वेषकका प्रमाण पेश गरेका छन् लेखकले । द्रविड जातिको केन्द्र रहेको उक्त सभ्यता (हडप्पा र मोहोन्जोदडोको सभ्यता) लाई दानव, राक्षस र असुरको नामकरण गरी अनेक ग्रन्थ लेखिए । पछि सानो रामकथामा वाल्मीकिले रक्तसम्बन्ध, भातृवात्सल्य, त्याग पातिव्रत्य, एकपत्नीव्रतजस्ता आदर्शको शिक्षा दिने कथाहरू जोडेर रामायण तयार गरे । त्यसमा पनि अठार हजार श्लोक थपेर धर्मका पण्डितहरूले रामायणलाई आफू अनुकूल बनाए । तथापि रामायणका पात्रहरूको आफैमा बाझिने नातासम्बन्ध विभिन्न जातक कथा, चिनियाँ भाषाका जातक कथा, भुटानको रामायण, लाओसको रामायण कथा, जैन गाथा, श्रीलङ्कामा प्रचलित रामकथामा उल्लेख भएको पाइन्छ । कसैले राम–रावणलाई भातइ बताएका छन् भने कसैले सीता र रामलाई दुई भाइबहिनी । कसैले हनुमान रामको छोरा बताए भने कसैले सीता मन्दोदरीकी छोरी । यसरी पशुबलिको विरोधमा जैन र बुद्ध धर्म उठेपछि रामकथामा परिवर्तन र घूसपैठ भएको देखिन्छ । रामायणजस्ता गाथाहरू विभिन्न भाषामा विभिन्न देशमा फरक पात्रको नाममा लेखिएको पाइएको छ ।
महाभारतको कथा सुतहरूले सुनाएको कथा हो । क्षेत्रीय पिता र ब्राह्मण आमाबाट जन्मेका सन्तानलाई सुत भनिन्छ । यी कथाहरू रक्तसम्बन्धको विरोधमा लेखिएको हो । जब खेतीपाती सुरु भयो, उत्पादनमा वृद्धि भयो र अन्य जातिसँग लडाइँको कुनै ठाउँ रहेन । त्यतिबेला रक्त सम्बन्धको त्यति महत्व रहेन । मानिसले फलाम पगाल्न सिके, माटाका भाँडा बनाउन सिके, तेल पेलेर उत्पादन गर्न सिके । रथ बने, काठका खाट र पानीमा चलाउन सकिने जहाज बन्न थाले । शिल्पको विकासले मन्दिर आदि निर्माण भए । मानिसले पुराण, सूत्र, स्मृति आदि रचना गरे । समाजमा कामका आधारमा वर्ण व्यवस्थाको सुरुवात भयो । ब्राह्मणहरू वेदको पुरुष सुक्तअनुसार आफूलाई ईश्वरको मुखबाट उत्पत्ति भएको बताउँथे, देउताभन्दा पहिले उत्पत्ति भएको मान्थे । त्यस्तै क्षत्रीयहरू असुरविरुद्ध लडेको हुनाले आफूलाई ईश्वरको हातबाट उत्पत्ति भएको बताउँथे, देउतासँगसँगै उत्पत्ति भएको मान्थे । वैश्यहरूले पशुपालन र खेती छोडे र व्यापारतिर लागे । शुद्रहरू सेवामा लगाइए । विस्तारै गणतन्त्रको विकास भयो, शासकको चुनावको प्रचलन अगाडि बढ्यो । ठूलाठूला साम्राज्यको स्थापना भयो । साम्राज्यको शासन टिकाउन अनेकन अलौकिक कथा रचिए । तिनलाइ वास्तविक बनाउन अनेकन प्रथा एवं पण्डितहरूका रचनालाई प्रचार माध्यम बनाइयो । लाखांै सेना, ठूला योद्धाबीच धर्मयुद्ध भएको बताउदैं शासकहरूले गरेका क्रुर अत्याचार र शोषणलाई धर्मले छोपियो । आँखा चिम्लेर धर्मको पछि नलाग्नेहरूलाई सजाय गर्न अनेक कानुन बनाइयो । उनीहरूलाई तर्साउन लोभाउन र तर्साउन स्वर्ग र नर्क बनाइयो, निष्कासन र हत्यासम्म गरियो । धर्मले बलि प्रथाको निकै प्रचार गरेकोले उब्जनीमा कमी हुनु स्वाभाविक थियो । यसले समाजमा लोभ, इष्र्या र पापको जन्म गरायो । पछि जैन, बौद्ध धर्मको स्थापनाले पशुबलिको विरोध भयो । अनि यिनै धर्मको विरोधमा हिन्दू धर्मका विभिन्न शाखाहरू देखापरे । पुराना कथा र काव्यहरूमा अनेक कथाहरू थप्दै एकले अर्कालाई उडाउने, गिराउने काम निकै भयो । विभिन्न पुराण लेखिए, कथा र लोककथाको विकास भयो ।
धर्म निश्चित रुपले आफ्नो समयको प्रगतिशील विचार थियो । यसले शान्ति, न्याय, दया र मायाको कुरा ग¥यो । तर कालान्तरमा यसले शोषणलाई हटाउने काम गरेन बरु अनेक तरिकाले शोषणलाई झन्झन् बलियो बनायो । विकासवादीहरूका वैज्ञानिक सिद्धान्त जनतासामु नपुगून् र शोषणको दलदलमा जनता सधैं फसिरहून् भनेर विभिन्न अवतारका कथाबाट धर्मका ठेकेदारहरूले मानिसमा झगडा गराउने र भुलाउने काम गरे । “शतावतार” पढेपछि थाहा हुन्छ, लेखकले कठीन परिश्रम खर्चेर पौराणिक मिथकहरूको वैज्ञानिक अनुसन्धान गरेका छन् । वास्तवमा रामायण र महाभारतसम्बन्धी लेखहरूको यो सङ्कलन तयार गरेर उनले भौतिकवादी साहित्यमा एउटा ठूलो योगदान गरेका छन् “शतावतार” मार्फत । नेपाली अनुवादक बाबुराम भट्टराई धन्यवादका पात्र हुन् ।